दार्शनिक सिद्धान्त : अध्यात्मवाद र भौतिकवाद – Janadesh Daily | ePaper

दार्शनिक सिद्धान्त : अध्यात्मवाद र भौतिकवाद


विषय प्रवेशः कुनै पनि वस्तुलाई हेर्ने, बुझ्ने र जाँच्ने भनेको विश्वदृष्टिकोणले हो । यसमा हामीले हजारौ/लाखौ बर्ष पहिले देखि अर्थात मानिस चेतनशिल भए देखि अहिले सम्म संसारमा दुई विश्व दृष्टिकोण रहेका छन् । विश्व भनेको संसार हो । दृष्टि भनेको घटना क्रमलाई इन्द्रीय मार्फत अनुभव गर्ने कुरा हो र कोण भनेको त्यहि वस्तु वा घटनालाई विश्लेषण गर्ने मानविय विश्लेषण हो, जसलाई हामीले विश्व दृष्टिकोण अर्थात संसारलाई हेर्ने तरिका भनेर बुझ्न सकिन्छ । त्यहि विश्वदृष्टिकोणलाई हामीले दार्शनिक सिद्धान्त भन्ने गर्दछौ । समाजमा दार्शनिक सिद्धान्त दुई प्रकारका छन् । ति हुन, अध्यात्मवाद–आदर्शवाद र भौतिकवाद । माक्र्सवादी कम्युनिष्ट दर्शन भौतिकवाद हो भने माक्र्सवाद विरोधी कम्युनिष्ट विरोधीहरुको दर्शन अध्यात्ममावादी–आदर्शवादी वा भाववादी दर्शन हो ।

यी दुई दर्शन वा सिद्धान्तको आफ्नै मान्यताहरु छन् । वस्तु र घटनाक्रमलाई बुझ्ने मामिलामै पहिलो झडप पर्छ । बस्तु निर्माण वा घटना घट्नुको पछाडि भौतिकवादी दर्शन वा सिद्धान्तले कारण खोज्छ भने अध्यात्मवाद–आदर्शवाद वा भाववादी दर्शन वा सिद्धान्तले बस्तु त्यसमा कारण होईन कर्ता खोज्छ । ब्रमहण्डको उत्पत्ति कसरी भयो ? सौर्य मण्डल कसरी बन्यो र पृथ्वीको उत्पत्ति हुनको कारण के हो ? पृथ्वीमा एककोषीय जीवको जन्म र विकास कसरी भयो ? आदिम मानिस विकासका विभिन्न चरण पार गरेर आजको पूँजीवादी युग सम्म कसरी आयो ? मानिसद्धारा गरिने हरेक हरकता वा गतिविधी कसरी निरुपित हुन्छन् ? यी र यस्तै प्रश्नको उत्तर खोज्ने क्रममा दर्शनको विकास भएको हो । त्यो दुई भागमा विभाजन – अध्यात्मवाद र भौतिकवादका रुपमा हुन गयो ।

बस्तु, घटना वा विषय एउटै हुने र त्यसलाई हेर्ने, बुझ्ने, जाँच्ने र बदल्ने वा विश्लेण फरक हुने भएकोले हामीले त्यसलाई दुई विश्वदृष्टिकोण वा दुई सिद्धान्त भनिएको हो । अध्यात्मवाद र भौतिकवाद फरक अथवा ठिक विपरित विश्वदृष्टिकोण वा दार्शनिक सिद्धान्त हुन । सर्वहारावर्गको सिद्धान्त भौतिकवाद हो ।

१) अध्यात्मवादी,आदर्शवादी-भाववादी दार्शनिक सिद्धान्त
काल्पनिक संसारमा रमाउनु नै आदर्शवाद हो । चेतना इश्वर, आत्मा, परमात्मा अलौकिक शक्तिलाई जीवन र जगतको (ब्रह्माण्ड) पहिलो कारण बताउने । ब्रह्माण्डलाई अज्ञेय मान्ने दृष्टिकोण आदर्शवाद हो । आत्मा चेतनालाई पहिलो दर्जामा राख्ने हुनाले र संसारलाई आदर्शको रुपमा बुझ्ने हुनाले यस दर्शनको नाम आदर्शवाद रहन गयो ।

यसले जीवन र जगत निर्माण हुनुको कारण नभई कर्ता भएको निश्कर्ष निकाल्छ र जीवन र जगतको निर्माण कर्ता खोज्दै जाँदा काल्पनिक ईश्वरमा गएर टुंगिन्छ । यस दर्शनले जीवन र जगत ईश्वरले रचना गरेको मान्दछ । पदार्थ चेतनाद्वारा निर्मित वस्तु वा उपज हो । जीवन र जगतका हरेक वस्तुहरु एक अर्कामा सम्वन्धित नभई अलग थलग छन् । जीवन र जगत अबोधगम्य छ । यो दैवको लिला हो । बस्तुहरु उत्पत्ति र विलुप्त हुन्छन् । हरेक वस्तु वा घटनाहरु अपरिवर्तशिल वा सास्वतः वा नित्य रहने तर्क दिन्छ ।

आदर्शवादका रुपहरु

(क) बस्तुगत आदर्शवाद : यसले विश्व मष्तिस्क, विश्व आत्म सम्पूर्ण परिघटनाको आधार हो भन्दछ । सम्पूर्ण संसारलाई चलाउने मष्तिस्क छ । विश्व आत्मा हो त्यसैले चल्दछ भनि जिकिर गर्दछ । वस्तुगत आदर्शवादले जस्तो भएको छ त्यस्तै ठिकै छ भन्दै अन्धभक्ती तिर जान्छ ।

(ख) आत्मगत आदर्शवाद : यसले वस्तुहरु संवेदनाका उपजहरु हुन । मानिसको संवेदना र आत्मा नै प्रधान हो । आत्मगत आदर्शवादले परम आत्मालाई सत्य ठान्दछ । मेरो मन भित्र जे छ, मेरो आत्माले जे देख्छ, मेरा संवेदनाहरुमा जे कुरा आउछन् त्यो नै सत्य हो भन्दै मनोगतबादमा जान्छ ।

२) भौतिकवादी दार्शनिक सिद्धान्त
वस्तु पदार्थ वा प्रकृतिलाई सम्पूर्ण ब्रह्माण्डको पहिलो बताउने विचार, चेतना वा मानिसको मन भन्दा बस्तु वा जगतको स्वतन्त्र अस्तित्व स्किार गरेर बस्तु जगतलाई जान्न बुझ्न सकिने कुराको ठोकुवा गर्ने विश्व दृष्टिकोण भौतिकवाद हो ।

यसले जीवन र जगत कुन कुन कारणहरले गर्दा निर्माण भएको हो भनि कारण खोज्ने हुदा यो कारणतावादी दर्शन वा सिद्धान्त पनि भनिन्छ । यो अध्यात्मवादी दर्शन वा सिद्धान्तले जस्तो जीवन र जगत निर्माण गर्ने अलौकिक वा काल्पनिक शक्तिलाई खोज्दैन । यसले बरु के कारणले गर्दा जीवन र जगत बनेको हो भनि कारण पत्ता लगाउँछ । जीवन र जगत कुन पदार्थले बनेको हो भनि अध्ययन गर्दछ । भौतिक पदार्थ वा वस्तुले चेतनाको जन्म वा निर्माण गर्दछ । चेतना भौतिक पदार्थको गतिको सर्बोच्च रुप हो । प्रकृतिका वस्तुहरु अलग थलग होईन बरु एक अर्कासंग अन्तरसम्बिन्धित छन् । ईश्वरले मानिस वा प्रकृतिको रचना गरेको नभई वर्गिय समाजको उत्पत्ति संगै मानिसले ईश्वरको कल्पना गरेको हो र शोसित वर्गलाई भ्रममा पार्न प्रयोग गरिएको हो । जीवन र जगत बोधगम्यछ । त्यसका लागि वैज्ञानिक खोज अनुसन्धानको खाँचो छ । हरेक वस्तु वा घटनाहरु गतिशिल र परिवर्तनशिल छन् भन्ने मान्दछ ।

भौतिकवादका तिन चरणहरु
(क)स्वतःस्फुर्त भौतिकवादको चरण : यसको समयावधी इ.पू. सातौ देखि प्रथम सम्म हो । यसले दास प्रथात्मक समाजको प्रतिनिधित्व गर्छ र यो दास समाजको प्रजातान्त्रिक पक्ष हो । यो दर्शनको प्रतिनिधि चिनिया नास्तीकहरु फान जाङ जु, सेन्जु, भारतीय चार्वाक दार्शनिक, बृहस्पती, प्राचिन ग्रिक दार्शनिक (हेरेकलाइटस डेमोक्राइटस) आदि हुन ।

(ख) यान्त्रिक भौतिकवाद : यसको समयावधि इ. वि.१७ शताब्दि देखी १८ औं शताब्दि सम्म रहेको छ । यसको प्रतिनिधि शिशु पूँजीवाद हो ।
यान्त्रिक भौतिकवादका आर्शनिक तथा प्रतिनिधिहरु एपिक्यूरस, न्युटन र ड्कार्तो हुन । एपिक्युरसले भौतिक जगत प्रमाणुले बनेका र जो खालि अन्तरिक्षमा घुमिरहन्छ । सुर्य देवता होइन, परमाणुहरको संग्रह हो । उसको गति र वास्तविक कार्य प्रणालीको आवश्यकता छैन । यो सब दुनिया हृदयको एक पम्प जस्तो हो, जसरी मुटुले शीर हुदै शरीरका सबै भागमा रक्त सञ्चार गर्दछ । पृथ्वीको गति पनि त्यस्तै हुन्छ भन्ने निश्कर्ष निकाले । न्युटनले सारा जगत मेशीन जस्तै स्थिर छ भन्ने निश्कर्ष निकाले । डेकार्तोले मानिसलाई छाडेर अन्य सम्पूर्ण जीवहरु हाड मासुले बनेका हिडडुल गर्ने यन्त्र मात्र भएको बताए ।

यान्त्रिक भौतिकवादका विशेषताहरु

यसले एउटा यन्त्र विन्यास गर्दा छुट्टा छुट्टै हिस्सा हुन्छ र जो आपसमा संयुक्त हुन्छ, उसलाई गतिशिल बनाउन एक चालक शक्तिको आवश्यकता पर्दछ । एकपटम गतिशिल भयो भने उसले पारशपरिक क्रिया गर्दछ ।
भौतिक जगत भन्दा बाहिर सँधै एउटा सर्बोच्च सत्ता हुन जरुरी छ , जसले जगतलाई गतिवान बनाउछ भन्दै यान्त्रिक भौतिकवादले दैवी शक्तिको बकालत गर्दछ ।

यान्त्रिक भौतिकवादले सर्बत्र परिबर्तन देख्छ तर सधै घटनाहरु यन्त्रको जस्तै पारस्परिक क्रियाको एउटै पद्धतिद्वारा सिमित राख्ने प्रयास गर्दछ र परिवर्तन एकै प्रकारको साश्वतः क्रियाको पुनराबृत्ति सनातन चक्र मात्र देख्द छ ।

यान्त्रिक भौतिकवादले सामाजिक विकासको स्पष्ट गर्दैन र मानिसका सामाजिक गतिविधिलाई पनि प्रस्ट गर्दैन ।
यान्त्रिक भौतिकवाद सामन्ती युगको अन्तमा देखा परेको हो । यसले पदार्थलाई गतिशिल त मान्यो । तर, त्यसलाई यान्त्रिक रुपले लियो । यसले संघर्षशिल एवं परिवर्तनशिल चरित्रलाई ठम्याउन सकेन र यो अधिभुतवादको शिकार भयो ।

यान्त्रिक भौतिकवादको निश्कर्ष :
यान्त्रिक भौतिकवादले संसार परिवर्तनशिल छ भन्ने कुरा स्विकार गर्दछ । तर, दुनियामा रहेका बस्तुहरुको विकासमा असमानता र विशिष्टता देख्दैन । घडि भन्ने एउटा यन्त्र छ । त्यसको सुई घुमे झै समान परिवर्तन ,समान गतिको माग गर्दछ । यसले अमेरिका र नेपाल, डोल्पा र दाङ, काठमाण्डौं र कालिकोट बुझ्न एउटै सुत्र र अनुभव लगाउछ । सिद्वान्त एवं अनुभवहरु एउटै ठाउँमा राखेर खिचडी बनाउँछ र आखिरी यन्त्र र समाज कुनै अदृश्य शक्तिबाट चल्दछन् भन्ने निश्कर्षमा पुग्छ ।

३) द्वन्द्वात्मक तथा ऐतिहाँसिक भौतिकवाद : यसको समयावधि १९ र २० औं शताब्दी हो । किशोर पूँजीवादका मजदुर वर्ग र मिहिनेतकर जनताले यसको प्रतिनिधित्व गरेका हुन । यो दर्शन वा सिद्धान्तका प्रतिनिधीहरु कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स, लेनिन स्टालिन र माओ हुन । हेगेलको द्वन्द्ववादलाई भौतिक जगतमा लागु गरेर फायरबाखको भौतिकवादलाई जीवन र जगत तथा मानव समाजको इतिहाँसमा लागु गरेर तथा ऐतिहाँसिक तथा द्वन्द्वात्मक भौतिकवादको १९ औ र २० औं शताब्दीमा हुदै २१ औं शताब्दीको विकास सम्म आउँदा विश्व सर्वहारा वर्गको वैज्ञानिक विश्वदृष्टिकोणका रुपमा ऐतिहाँसिक तथा द्वन्द्वात्मक भौतिकवादको विकास भयो ।

Source:https://aazad.com.np/?p=1324

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्