कहाँ पुग्यो सन्दीपविरुद्धको अनुसन्धानः के के भेटियो प्रमाण, कहिले आउँछन् सन्दीप स्वदेश – Janadesh Daily | ePaper

कहाँ पुग्यो सन्दीपविरुद्धको अनुसन्धानः के के भेटियो प्रमाण, कहिले आउँछन् सन्दीप स्वदेश


जनादेश वाच।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोप लागेपछि प्रहरीले तीन वटा बलिया प्रमाण संकलन गरेको छ। घटना अनुसन्धानकै चरणमा रहेको र आरोपित पनि पक्राउ परिनसकेको कारण थप विषय उल्लेख गर्न नमिल्ने प्रहरी उच्च अधिकारीहरू बताउँछन्। आरोप लगाउने किशोरीको मेडिकल रिर्पोटमा ‘कन्या जाली च्यातिएको’ उल्लेख रहेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन् । प्रहरीमा जाहेरी दिएलगतै २१ भदौमा गरिएको मेडिकल रिर्पोटमा ‘कन्या जाली च्यातिएको’ उल्लेख रहेको ती अधिकारीले बताएका छन्।

जबरजस्ती करणीको अभियोग लागेका सन्दीप भने नेपाल बाहिरै छन्। तर, उनी स्वदेश नआए पनि प्रहरीले प्रमाण जुटाइरहेको छ। सन्दीपविरुद्ध तीन वटा प्रमाण बलिया रहेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । उनी भन्छन् ‘‘अभियोग लागेका व्यक्ति पक्राउ नपरे पनि उनी विरुद्ध केही प्रमाण जुटिसकेको छ। उजुरीकर्ताको उमेर १७ वर्ष ७ महिना रहेको देखिएको छ। यसकारण उनी नाबालिग रहेको पुष्टि हुन्छ । उजुरीपछि प्रहरीले गरेको स्वास्थ्य परीक्षणमा उनको कन्या जाली च्यातिएको स्वास्थ्य प्रतिवेदन आएको छ। साथै होटलमा गएको र फर्किएको सीसीटीभी फुटेज पनि छ।’’

के छ कानूनमा व्यवस्था ?
नेपालको कानूनले नाबालिगसँग शारीरिक सम्बन्ध राख्ने पुरुषलाई कडा सजायको व्यवस्था गरेको छ। मुलुकी अपराध संहिता २०७४ अनुसार १८ वर्षभन्दा कम उमेरको बालिका र किशोरीसँग सहमतिमै भएको यौन सम्बन्ध पनि जबरजस्ती करणी मानिन्छ। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ मा करणी भएको मानिने अवस्था र सजाय सम्बन्धी व्यवस्था छ। उक्त दफाको उपदफा २ मा भनिएको छ, ‘‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने छ।’’ यस्तै, १६ वर्ष वा १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेर भएकालाई करणी भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ। यस्तै पीडकबाट पीडितलाई पीडकबाट ‘मनासिब’ क्षतिपूर्ति भराउनुपर्ने व्यवस्था पनि छ। यदि सन्दीपविरुद्ध लागेको अभियोग पुष्टि भएमा उनले माथि उल्लेखित सजाय भोग्नुपर्ने अवस्था आउन सक्नेछ।

कहिले स्वदेश फर्केलान् सन्दीप ?
नेपाली टोलीको नेतृत्व गर्दै लामिछाने केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेका थिए। त्यसको अघिल्लो रात लामिछानेले आफूमाथि जबरजस्ती करणी गरेको जाहेरी किशोरीको आरोप छ। क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न गएका उनले केही दिनमै नेपाल फर्किने बताएका थिए। आफू निर्दोष रहेको भन्दै सन्दीपले सीपीएलबाट बिदा भएर केही दिनमा नेपाल फर्किने निर्णय गरेको बताएका थिए। तर, सोमबारसम्म उनी स्वदेश फर्किएका छैनन्।

जिल्ला अदालत काठमाडौंबाट गत विहिबार पक्राउ पूर्जि लिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका सबै नाकामा पक्राउ आदेश पठाएको छ । अध्यागमन विभागले सन्दीपलाई कालोसूचीमा राखिसकेको छ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले क्यान अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप नेपाल आउन जमैकाबाट हिँडिसकेको जानकारी पाएको बताए । ‘आजभोलि उनीसँग कुरा भएको छैन, तर उताबाट हिँडिसकेको भन्ने जानकारी पाएको छु’, चन्दले भने । उनले आफू भर्खरै दुबइबाट फर्किएकाले थप जानकारी लिन नभ्याएको उल्लेख गरे ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्