सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम जसले सुधार गरे प्रचण्ड-जनार्दनको सम्बन्ध – Janadesh Daily | ePaper

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम जसले सुधार गरे प्रचण्ड-जनार्दनको सम्बन्ध


जनादेश वाच।
गत असोज ३ गते सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले सामुदायिक अस्पताल तथा प्रावाधिक शिक्षालय र प्रशासनिक भवन उद्घाटन गर्ने कार्यक्रम थियो। त्यसका लागि माओवादीबाटै निर्वाचित गाउँपालिका अध्यक्ष असिम राईले माओवादी अध्यक्ष प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र प्रदेश १ का आर्थिक मामिलामन्त्री ईन्द्र आङ्बो लगायतलाई निम्त्याउने योजना बनाए।

सबैजना कार्यक्रममा आउन तयार भएपनि प्रचण्डले शर्मासँग ‘स्टेज सेयर’ नगर्ने संकेत गरे। किनकी एउटै स्टेज सेयर गर्दा प्रचण्ड र शर्माबीच केही समयअघिसम्म मनमुटाव सतहमा आएको थियो। भदौ २३ गते अखिल क्रान्तिकारीले रिभोलुसनरी फोर्स घोषणा गर्ने कार्यक्रममा शर्माले प्रचण्डविरुद्ध ‘फायर’ खोलेका थिए। मञ्‍चबाटै प्रचण्डले आफूलाई थमाएको पद अस्वीकार गरेको संकेत गर्दै आयोजकले ‘उपमहासचिव जनार्दन शर्मा’ भनेर बोल्न आमन्त्रण गरे पनि उनले आफू उपमहासचिवको हैसियतभन्दा संगठन विभाग प्रमुखको हैसियतमा बोल्न आएको उल्लेख गरेका थिए।

‘नीति र नेतृत्व सही ढंगले अगाडि बढ्नुपर्छ भन्‍ने पनि मेरो माग हो। अध्यक्ष कमरेड यहीँ हुनुहुन्छ। उहाँको सबैभन्दा कडा आलोचक मै हुँ। सबैभन्दा बेसी संरक्षक वा रक्षा गर्ने पनि मै हुँ। अध्यक्ष कमरेडले यो विषयको जवाफ यहीँ उभिएर दिनुहोला,’ जनार्दनले प्रचण्डसामु सार्वजनिक रूपमा स्पष्टीकरण माग गरेका थिए। नेतृत्वले गलत गरे आलोचना गर्न कार्यकर्तालाई निर्देशन दिँदै उनले प्रचण्डको चाकडी गर्नेहरूले कुरा बिगारिरहेको अप्रत्यक्ष आरोप पनि लगाइदिएका थिए। ‘म त प्रचण्ड कमरेडको आलोचक हुँ, आलोचना गर्छु। तपाईंहरुले पनि आफ्ना नेताले कमजोरी गरे भने आलोचना गर्नुहोला,’ जनार्दनको भाषणमा भनिएको थियो,’ आलोचनाले मात्र नेतृत्वको रक्षा हुन्छ, चाकडीले रक्षा हुँदैन।’

प्रचण्डले त्यतिबेला जनार्दनलाई रक्षा गरी हुर्काएको भन्दै आफ्नो आलोचना गरेर सबै समस्या समाधान नहुने संकेत गरेका थिए। यस्तै स-साना विषयमा आफूलाई नमुच्छन उनको आग्रह थियो। ‘जनार्दनको रक्षा गर्ने र विकास गर्ने कुरामा पनि मेरो भूमिका छ। म त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ। संविधानसभाको पनि नेतृत्व गरेँ,’ शर्मालाई जवाफ दिँदै प्रचण्डले भनेका थिए, ’अब मेरो इच्छा भनेको राम्रो उत्तराधिकारी तयार हुन्। र, हाम्रो क्रान्तिकारी परम्परालाई अगाडि बढाउन उदारताका साथ ठूलो छाती लिएर अगाडि बढुन्।’

यो पृष्ठभूमिमा प्रचण्ड र शर्माले स्टेज सेयर गर्न नमान्‍ने संकेत गरेपछि माओवादीबाटै निर्वाचित गाउँपालिका अध्यक्ष असिम राईलाई चित्त बुझेन। त्यसपछि उनले गाउँपालिका अध्यक्षबाटै राजीनामा दिने भन्दै घुर्काए। ‘तपाईंहरु एकैठाउँ बस्न नचाहने हो भने म पनि अध्यक्ष पदबाट राजीनामा दिन्छु भनेँ। राजीनामा पत्र नै बोकेर गएपछि मात्र उहाँहरु केही लचक हुनुभयो। नत्र त दुईजना सँगै एउटै कार्यक्रममा सहभागी हुन पनि तयार हुनुभएको थिएन,’ राईले सुनाए। उक्त गाउँपालिकामा माओवादीको राम्रो मत रहेको र आफूले राजीनामा दिँदा कार्यकर्ता भड्किन सक्ने डरले प्रचण्ड र शर्मा कार्यक्रममा आउन तयार भएको उनले बताए। यसरी जबरजस्ती स्टेज सेयर गर्न तयार भएका प्रचण्ड र शर्माले अन्त्यमा एकअर्काको तारिफ गरेर बिदा भए।

गाउँपालिकाको भाषणमा जनार्दन प्रचण्डप्रति एकाएक नरम देखिए। संविधान दिवसको शुभकामना दिँदै उनले यसको श्रेय प्रचण्डलाई दिनुपर्ने दाबी गरे। ‘आज हामी जुन संविधानको कुरा गरिरहेका छौँ। जुन जनताको अधिकारको चर्चा गरिरहेका छौँ। त्यसका पछाडि पृष्ठभूमिमा के भन्‍न चाहन्छु भने, निरंकुशतन्त्रको जुन डरलाग्दो दमन थियो। सामन्तवादले जनतामाथि थिचोमिचो गरिरहेको थियो,’ कसैले फाल्न नसकेको निरंकुशतन्त्र प्रचण्डकै कारण फालिएको दाबी गर्दै शर्माले भने, ‘त्यो सामन्तवादलाई फाल्नका लागि इतिहासका कालखण्डमा थुप्रै संघर्षहरु भए, तैपनि अन्त्य भएको थिएन। तर एकजना त्यस्तो युवा नेपाली जनताले पायो। र उसले सामन्तवादविरुद्ध विद्रोहको झण्डा उठाउने निर्णय गर्‍यो। ती युवा अध्यक्ष कमरेड प्रचण्ड हुनुहुन्थ्यो।’

शर्मा यतिमै रोकिएनन्। छोटो समय भाषण गरेका उनले प्रचण्डकै कारण आफूजस्ता युवाहरुको परिवर्तनको पक्षमा उत्रिएको भन्दै गुण गए। आफूहरु प्रचण्डको पछि लाग्‍ने अवस्था नआएको भए आम जनताको बलिदानीपूर्ण संघर्षमा साथ दिने अवसर पनि नपाउने उनको भनाइ थियो। तारिफ गर्दै शर्माले स्टेजबाटै स्यालुट समेत गर्न भ्याए। ‘त्यसकारण म उहाँलाई यो अवसरमा स्यालुट गर्न चाहन्छु। उहाँको विचारको जो आह्वान गर्नुभयो, त्यसको कारणले आज हामीले अधिकार प्राप्त गरेका छौँ,’ उनले भने।

प्रचण्डकै अगाडि उभिएर भाषण गरेका उनले देशले प्रचण्ड पाउनु अहोभाग्य र गौरवको कुरा रहेको बताए। ‘यसरी पहिलो गणतन्त्रको प्रधानमन्त्री भएर राष्ट्रिय विकास र समृद्धिको पहिलो सुरुवात गर्ने पनि अध्यक्ष कमरेड नै हुनुहुन्छ। स्थानीय स्तरको तमाम विकासको लागि उज्यालो नेपाल बनाउने अभियानको घोषणा पनि अध्यक्ष कमरेड प्रचण्डले गर्नुभएको थियो,’ उनले तारिफ गर्दै भने, ‘समाजवादको आधार तयार गर्ने एउटा वैचारिक मार्ग निर्देशकको रुपमा अध्यक्ष प्रचण्ड हुनुहुन्छ। नेपाली जनताले अध्यक्ष कमरेडलाई पाएका छन्, यो हाम्रो गौरवको कुरा हो। आजको संविधान दिवसको सन्दर्भमा हामीले चर्चा गर्न आवश्यक छ।

यसरी शर्माले तारिफ गरेपछि प्रचण्ड पनि उत्साहित भए। शर्मापछि बोलेका प्रचण्डमा तत्काल काठमाडौं फर्कनुको हतारो थियो। त्यसैले छोटो समय भाषण गरेका उनले सोलुखुम्बुले विश्वलाई समाजवाद सिकाउनुपर्ने बताए। नेपालको इतिहासमा एउटै व्यक्तिलाई क्रान्ति, शान्ति र संविधानको नेतृत्व गर्ने र कार्यान्वयन गर्ने, पहिचानको अधिकार स्थापित गर्ने, समावेशी समानुपातिक बनाउने सौभाग्य कमै प्राप्त हुने उनले बताए। जनार्दनकै लयमा उनले भने, ‘तपाईंहरूले क्रान्ति गर्ने जिम्मेवारी दिनुभयो। अर्कोतिर शान्ति सम्झौता गरेर शान्तिमा रुपान्तरण गर्ने जिम्मेवारी दिनुभयो। अब पुन: एकपटक समृद्धिको नेतृत्व गर्ने अवसर दिनुहोस्।’

जे होस् सोलु भ्रमणले २ नेताको सम्बन्ध सुधारिएको संकेत गरेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्