टुकुचा खोला मिचाहाहरु काठमाडौँ महानगरपालिकाले डोजर लगाएको भन्दै अदालत गुहार्दै – Janadesh Daily | ePaper

टुकुचा खोला मिचाहाहरु काठमाडौँ महानगरपालिकाले डोजर लगाएको भन्दै अदालत गुहार्दै


काठमाडौँ । टुकुचा खोला मिचाहाहरु काठमाडौँ महानगरपालिकाले डोजर लगाएको भन्दै  अदालत गुहार्न थालेका छन् ।

सम्पूर्ण कर बुझाएको, रीतपूर्वक खरिद गरेको र नक्सा पास भएको जमिनमा महानगरले डोजर चलाएको भन्दै थप २२ जना उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन् । उक्त विषयमा बुधबार छलफल भए पनि फैसला भएको छैन ।

यसअघि जे–नेक्स इन्भेस्टमेन्ट प्रालि, प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्स प्रालि र स्थानीय उत्तरमान लामाले महानगरको कदमविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । अदालतले असोज २ मा महानगरको नाममा अन्तरिम आदेश जारी गर्दै निवेदकको संरचनामा क्षति नगर्न निर्देशन दिनुका साथै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

उच्च अदालतले बुधबार महानगरपालिका र निवेदक दुवै पक्षको बहसपछि टुकुचासम्बन्धी फाइल माग गरेको छ । मेयर बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहका अनुसार नक्सा पास गर्दा इजजातपत्र केका आधारमा दिएको भन्ने सम्बन्धमा पनि महानगरसँग अदालतले लिखित जवाफ माग गरेको छ ।

अतिक्रमण भएको भन्दै केही दिनदेखि काठमाडौँ महानगरपालिकाले टुकुचा खोज्ने अभियान सुरु गरेको छ । सहरी विकास मन्त्रालयले ३ वर्षअघि बनाएको टुकुचाको डीपीआर योजनाअन्तर्गत महानगरले टुकुचा छोपिएको क्षेत्रमा डोजर लगाइरहेको छ ।

वर्षौँदेखि बसोबास गर्दै आएका हात्तीसार क्षेत्रका केही स्थानीय र व्यवसायीले भने महानगरले गैर कानुनी रूपमा संरचनाहरू भत्काएको भन्दै विरोध गरिरहेका छन् । अभियान सुरु गरेको भोलिपल्टै उच्च अदालत पाटनमा महानगरको कदमविरुद्ध रिट परेको थियो । महानगरपालिकाका कानुनी विभागका प्रमुख वसन्त आचार्यले पनि मुद्दा परेको बताए ।

नक्सा पास गरेको घर महानगरले जबरजस्ती भत्काउन खोजेको भन्दै लक्ष्मी बैङ्कले पनि आपत्ति जनाएको छ । बैङ्कले पनि अदालत जाने तयारी गरेको छ । टुकुचा खोला मिचेर लक्ष्मी बैङ्कले घर बनाएको भन्ने कुरा सत्य नभएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बताए ।

उनका अनुसार हाल बैङ्कको केन्द्रीय कार्यालय रहेको हात्तीसारस्थित भवनअगाडिको (मुख्य सडकसँग जोडिएको) जग्गा साबिकको हाइसेफ फाइनान्स लिमिटेडले ०५७ सालमा खरिद गरेको हो । पछि उक्त फाइनान्स लक्ष्मी बैङ्कसँग मर्जर भएपछि त्यो जग्गा पनि बैङ्कको स्वामित्वमा आएको हो ।

पछिल्तिर (टुकुचा खोलातिरको) जग्गा ०६४ सालमा बैङ्कले दुई जना व्यक्तिहरूसँग छुट्टाछुट्टै खरिद गरेको हो । जसअनुसार एउटा कित्ता १५ आना र अर्को कित्ता १६ आनाको छ । अहिले विवाद भएको यही दुई वटा कित्तामा हो । उनले भने, ‘हाल विवाद भएको जग्गाको लालपुर्जा, नापीको ट्रेसलगायत सबै कागजात हामीसँग छ, त्यसमा कहीँ, कतै खोला देखिँदैन । अब कानुनी उपचारमा जान्छौँ । कानुनले जे भन्छ, त्यही हुन्छ ।’ यद्यपि कानुनी उपचारमा जानेबारे बुधवारसम्म बैङ्क सञ्चालक समितिमा निर्णय भई नसकेको उनले बताए ।

अदालतले उक्त कार्यलाई तत्काल रोक लगाउन भने पनि महानगरले आफ्नो अभियान जारी राखेको छ । महानगरले मुद्दा दायर गर्ने व्यक्ति संस्थाले अदालतबाट स्टे अर्डर ल्याएपछि डोजर चलाउने गरेको छैन । अन्यको हकमा डोजर लगाइरहेको छ । नगर प्रहरीको टोलीले बुधबार पनि टुकुचा खोज्ने क्रममा हात्तीसारस्थित सिद्धार्थ बैङ्क दक्षिण क्षेत्रको प्वाइन्टमा २० फिट खनेको छ । २० फिट खन्दा पनि टुकुचा नभेटिएपछि टोली फर्किएको थियो ।

‘सिद्धार्थ बैङ्कको दक्षिणतर्फको प्वाइन्ट खन्न गाह्रो भयो, २० फिट खनिँदा पनि टुकुचा भेटिएन, ड्रिल मेसिन नभएपछि खन्ने काम रोकिएको छ,’ नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले कान्तिपुरसँग भने । उनले स्थानीय जनप्रतिनिधिको अगुवाइमै भत्काउने गरिएको जानकारी दिए । नगर प्रहरी प्रमुख पाण्डे संरचना भत्काउने क्रममा स्थानीयवासी र अन्य कसैले चुइँक्क नबोल्ने तर अदालतमा मुद्दा दायर गर्ने गरेको बताए ।

महानगरपालिले भदौ पहिलो सातादेखि सुरु गरेको अनधिकृत संरचनामा डोजर चलाउने अभियान जारी छ । अनधिकृत संरचना हटाउन भनेर ३५ दिने सूचना निकाले पनि सम्बन्धित घरधनीले अटेर गरेपछि डोजर लगेर भत्काइरहेको हो । त्यस्ता संरचना भत्काउनुअघि महानगरको टोलीले एक पटक सूचना दिने गरेको छ ।

महानगरमा आउने सूचना, जनप्रतिनिधिबाट प्राप्त जानकारी, नगर प्रहरीको सूचना र आउने उजुरीहरूका आधारमा अनधिकृत संरचना पहिचान गर्ने गरिएको छ । ती संरचनाको वस्तुस्थिति बुझ्न र त्यसलाई भेरिफाइ गरेपछि नगर प्रहरीले माइकिङ गर्ने पाण्डेले बताए । माइकिङ गरेको भोलिपल्टदेखि जुनसुकै समयमा ती संरचना महानगरले भत्काउँदै आएको छ । पाण्डे भन्छन्, ‘हाम्रो यसअघिको ३५ दिने सार्वजनिक सूचना नै संरचना भत्काउन काफी छ तर पनि हामी एक पटकचाहिँ माइकिङ गरेर हटाउन भन्दै आएका छौँ ।’

अभियान सुरु भएयता महानगरले वडा नम्बर ५, २४, २५ र २७ मा बनाइएका ओभरल्याप हटाएको छ । १६ नम्बर वडामा ७ वटा टहरा र १ वटा भर्‍याङ, भोटाहिटी पीपलबोटमुनि रहेका दुई वटा टहरा हटाइएको नगर प्रहरी निरीक्षक धर्म भण्डारीले जानकारी दिए ।

यस्तै, माछापोखरी नापतौलअगाडि र महादेव खोला किनारमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका स्थायी र अस्थायी गरी ४३ वटा टहरा महानगरले हटाएको छ । वनस्थली ढुंगेधारा क्षेत्रको सार्वजनिक जग्गामा निर्माण गरिएको टहरा पनि हटाएर खाली गराइएको उनले बताए ।

नगर प्रहरीले वसुन्धरा चोकबाट सिर्जनशील मार्गसम्म करिब ९ सय मिटर जीएलडी बाटो खोल्ने कार्यमा करिब सय घरको कम्पाउन्डसमेत भत्काएको छ । ती कम्पाउन्ड सार्वजनिक जग्गाभित्र निर्माण गरिएका थिए । यस्तै, वडा नम्बर १० मा सडक खोल्ने क्रममा वडाध्यक्षको रोहबरमा ४ वटा घर भत्काइएको नगर प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्