चुनावको मुखमा एमाले प्रवेशको पहिलो सर्तः ओलीको भक्तिगान, ‘ऊर्जावान राजनेता’ भन्नु अनिवार्य – Janadesh Daily | ePaper

चुनावको मुखमा एमाले प्रवेशको पहिलो सर्तः ओलीको भक्तिगान, ‘ऊर्जावान राजनेता’ भन्नु अनिवार्य


जनादेश वाच।

निर्वाचन आयोगले केही समयअघि सार्वजनिक गरेको तथ्याङ्कअनुसार स्थानीय तहमा पहिलो स्थानमा नेपाली कांग्रेस देखिएको छ। त्यसको पछाडि दोस्रो स्थानमा रहेको एमालेले १ लाख ४४ हजार ५ सय ९१ मत मात्र कम ल्याएको देखिन्छ। आयोगले वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा लोकप्रिय मत निकालेको थियो। आयोगको विवरणअनुसार एमालेले ३८ लाख ११ हजार ७ सय २ मत प्राप्त गर्दा कांग्रेसले ३९ लाख ५६ हजार १ सय ९३ मत प्राप्त गरेको थियो। गएको संसदीय निर्वाचनमा समानुपातिकतर्फ एमाले पहिलो नम्बरमा थियो। उसले कांग्रेभन्दा ४५ हजार मत धेरै ल्याएको थियो। त्यसरी हेर्दा गएको संसदीय निर्वाचनको तुलनामा कांग्रेसले एमालेभन्दा करिब दुई लाख मत बढाएको छ।

आफूविरुद्ध बलियो गठबन्धन कायम रहेको अवस्थामा पनि एमालेको चुनाव लक्षित नीति सार्वजनिक गरिएको छ- एक जनाले २ भोट वृद्धि गर्ने, ५ भोटको रक्षा गर्ने। बहुमत ल्याएर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो पटक प्रधानमन्त्री बनाउने। अरू पार्टीका नेता कार्यकर्तालाई सकेसम्म आफ्नो पार्टीमा तान्ने एमालेको रणनीति स्थानीय तह निर्वाचनदेखिनै जारी छ। पार्टी विभाजन भएको र स्थानीय तहमा कमजोर नतिजा ल्याएको तथ्यलाई एमालेले स्वीकारेको छैन। बरु फेरि प्रधानमन्त्री बन्ने ओलीको आकाङ्क्षालाई पूरा गराउन एमालेले देशव्यापी पार्टी प्रवेशको लहर नै चलाइरहेको छ।

तर चुनावको मुखमा एमाले प्रवेशका लागि पहिलो सर्त ओलीको भक्तिगान र ‘ऊर्जावान राजनेता’ भन्नु अनिवार्य रहेको देखिन्छ। एमाले प्रवेश लहरमा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल र काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ पनि सामेल भए। ओलीले पार्टी कार्यालय च्यासलमा खनाल र मियाँलाई बिहीबार स्वागत गरे।

 चुनावको मुखमा पार्टी अदलबदल गर्नु नयाँ होइन। त्यो क्रम अरू पार्टीमा पनि जारी छ। तर, चुनाव जित्न सक्नेलाई पार्टीमै भित्र्याउने नीति एमालेले स्थानीय तहमै प्रयोग गरेको थियो। काठमाडौँ महानगरमा स्वतन्त्र तर्फबाट मेयरको उम्मेदवारी घोषणा गरेकी सुनिता डंगोललाई एमालेले पार्टीमा भित्र्याएर उपप्रमुखको उम्मेदवार बनायो। हाल उनी काठमाडौँ महानगरकी उपप्रमुख छिन्।

राजनीतिक पृष्ठभूमिभन्दा फरक क्षेत्रबाट आएकालाई पनि एमालेले चुनावको मुखमा पार्टीमा भित्र्याइरहेको छ। आफ्नो पार्टीलाई चुनावमा जिताउने उद्देश्यसहित पार्टी प्रवेश गराउनु स्वाभाविक पनि हो। तर, यसरी प्रवेश गर्नेहरू पार्टीको नीति सिद्धान्तलाई मानेर चुनावमा होमिनेभन्दा व्यक्तिगत स्वार्थका आधारमा पार्टी प्रवेश गरिरहेका छन्। पार्टी नेतृत्वको प्रशंसा गरे मात्रै चुनावी स्वार्थ पूरा हुने देखिएपछि उनीहरू खुट्टा ढोग्न समेत तयार भएको देखिन्छ। चुनावमा टिकट पाइने अपेक्षाका साथ एमालेमा प्रवेश गर्नेहरूको पहिलो काम भने अध्यक्ष ओलीको प्रशंसा गर्नु हो। बिहीबार एमाले प्रवेश गरेका खनालले ओलीको प्रशंसा मात्रै गरेनन् अझ अघि बढेर ओलीलाई राजनेताको संज्ञा दिए।

‘मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड जत्तिको राजनेता अर्को कोही भेट्टाइनँ। म उहाँका कुराबाट लालायित हुन्थेँ,’ खनालको भनाइ थियो। ‘बा’ भनेको भनेर पार्टीभित्रको ओलीइतर पक्ष र पार्टीबाहिर ओलीको आलोचना हुने गरेको छ। ओलीको देवत्वकरण गरेको भनेर आलोचना हुने गरेको भए पनि बिहीबार ओलीलाई खनालले राजनेता भनेर प्रशंसा नै प्रशंसा गरे। ओलीको प्रशंसा गरेका खनालले आफ्नो अपेक्षा सार्वजनिक गर्न पनि पछि परेनन्।

खनालले ओलीको शीतल छहारी पाउने अपेक्षा पनि व्यक्त गरे थिए,पार्टी प्रवेश कार्यक्रममा। तर, ओलीले भने खनाल स्वार्थका लागि एमालेमा प्रवेश नगरेको दाबी गरेका छन्। ‘उहाँ केही अवसर पाइन्छ कि भनेर अवसरको खोजीमा आउनुभएको होइन,’ ओलीको भनाइ थियो। हुन त एमालेसँगको खनालको ‘कनेक्सन’ नयाँ होइन। ओली प्रधानमन्त्री हुँदा एमालेका नेताहरूका साथ सांसद अपहरणमा संलग्न भएको खनाललाई आरोप लागेको थियो। तर, बिहीबारभन्दा अघि खनाल एमालेमा औपचारिक रूपमा खुलेका थिएनन्।

करिश्मा इनर्जीले ताज्जुब
एमालेमा प्रवेश गर्नेहरू कतिसम्म गर्न थालेका छन् भने प्रवेश कार्यक्रममा ओलीलाई मख्ख पार्न गुणगान बाहेकलाई भाषणमा स्थान नै दिँदैनन। नायिका करिष्मा मानन्धर स्थानीय तह निर्वाचनको मुखमा एमालेमा प्रवेश गरेकी थिइन। २०७८ चैत ८ गते एमाले प्रवेश गरेकी मानन्धरले पार्टी प्रवेश कार्यक्रममा ओलीको ‘इनर्जी’ देखेर प्रभावित भएको बताइन। ‘इनर्जी देखेर ताज्जुबै भएको छु। ६ महिनाको अन्तरालमा मैले उहाँलाई २ पटक भेटेँ। म उहाँको कुरा सुनेर कहिले थाक्दिनँ। यति उत्साहजनक प्रेरणादायी कुरा उहाँले गर्नुहुन्छ। म मात्रै होइन अर्को पार्टीको मान्छेले पनि उहाँको गुणगान गाएकै हुन्छ,’ मानन्धरले भनिन्।

उनी स्थानीय तह निर्वाचनका बेलामा मेयरको उम्मेदवार बन्ने चर्चा एमाले वृत्तमा हुने गरेको थियो। मानन्धरले पनि पार्टीले जिम्मेवारी दिए पछि नहट्ने बताएकी थिइन। तर, उनलाई एमालेले उम्मेदवार भने बनाएन। स्थानीय तहको निर्वाचनका बेलामा विभिन्न ठाउँका चुनावी सभामा अध्यक्ष ओलीसँगै देखिएकी मानन्धर चुनावपछि भने त्यति चर्चामा छैनन्। प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा उनी उम्मेदवार हुन्छन् या हुन्नन् भन्ने तय भएको छैन। एमाले प्रवेश गर्नुअघि मानन्धर नयाँ शक्ति पार्टीमा लागेकी थिइन। २०७४ को चुनावमा नयाँ शक्ति पराजित भएसँगै उनी निष्क्रिय भइन।

खुट्टा ढोगेर पार्टी प्रवेश, ओली विश्वविख्यात नेता!
एमालेमा प्रवेश गर्नेहरूको गतिविधि एक नासको छैन। नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भए यता सो पार्टीमा सक्रिय रहेका तथा युट्युबमा अन्तर्वार्ता दिएर ‘भाइरल’ बनेका पूण्य गौतम पनि स्थानीय तह निर्वाचन अघि एमालेमा प्रवेश गरे। गौतम ओलीको खुट्टा ढोगेर एमालेमा प्रवेश गरेका थिए। ओलीलाई विश्वविख्यात नेता भएको भन्दै गुणगान गाएका गौतमले पृथ्वीनारायण शाहसँग ओलीको तुलना गरेका थिए। ‘जसले कालापानी लिपुलेक समेटिएको नक्सा जारी गरेर पृथ्वीनारायण शाहको जस्तो योगदान दिनुभएको छ,’ गौतमले ओलीको प्रशंसाका लागि भनेका थिए।

एमालेमा प्रवेश गर्नेहरूले एमालेको नीति तथा कार्यक्रमलाई मन पराएरभन्दा पनि अध्यक्ष ओलीबाट प्रभावित भएर पार्टी प्रवेश गर्ने गरेको बताउँछन्। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि एमालेमा लागेका पूर्वमाओवादीका नेताहरूले पनि त्यतिबेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गर्दै ओलीबाट प्रभावित भएको प्रस्टीकरण दिएका थिए।

एमालेका नेता आफ्नो पार्टीप्रति आकर्षण बढेर पार्टी प्रवेशको लहर चलिरहेको दाबी गरिरहेका छन्। तर, अरू पार्टी र राजनीतिभन्दा भिन्न पृष्ठभूमिबाट एमाले प्रवेशको लहर चल्नको पार्टी प्रतिको आकर्षणभन्दा चुनावी स्वार्थ हो। एमालेबाट उम्मेदवार बन्न सकिने अपेक्षासहित पार्टी प्रवेश गर्नेहरूको संख्या बढ्दो छ। आफ्नो पार्टीले चुनावमा टिकट नदिने पक्का भएपछि पार्टी परित्याग गर्ने र एमाले प्रवेश गर्नेहरू अधिकांश छन् प्रवेश गर्नेहरूमा।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्