सूर्यवहादुरको सम्झनाः प्रचण्ड र बाबुरामले फेरि सम्झिए जनयुद्ध गर्दादेखि १२ बुँदे गर्दासम्मको क्षण – Janadesh Daily | ePaper

सूर्यवहादुरको सम्झनाः प्रचण्ड र बाबुरामले फेरि सम्झिए जनयुद्ध गर्दादेखि १२ बुँदे गर्दासम्मको क्षण


जनादेश वाच।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा ‘मेरा नौ दशक सूर्यबहादुर थापा पाँच व्यवस्था पाँच राजा पाँचपटक प्रधानमन्त्री’ बिहीबार विमोचन गरिएको छ। काठमाडौंमा सूर्यबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्त रूपमा ग्रन्थ विमोचन गरेका हुन्।

विमोचन समारोहमा प्रधानमन्त्री देउवासँगै चार पूर्वप्रधानमन्त्रीले सम्बोधन गरेका थिए। पुस्तकका बारेमा बोल्न डाकिएका पूर्वप्रधानमन्त्रीमध्ये डा. भट्टराईले मात्र पुस्तक पढेको बताए। अन्य पूर्वप्रधानमन्त्रीहरूले भने केही पृष्ठ पढेको र बाँकी अब पढ्ने बताएका थिए।

समारोहमा सूर्यबहादुरबारे प्रचण्ड र बाबुरामले के भने?

पुष्पकमल दाहाल ‘प्रचण्ड’ :

मानिसको जीवनमा सबैको आआफ्नो स्वत्व हुन्छ नै। केही मानिसको भूमिका सरदरभन्दा माथि रहेको हुन्छ। यस्ता मानिसप्रति समाजको बढी चासो र जिज्ञासा हुन्छ। आत्मवृत्तान्तमार्फत उहाँले नेपाली समाजलाई राम्रो गुण लगाउनुभएको छ। मानिसले धैर्य छोड्नु हुँदैन भन्ने उहाँको आत्मविश्वास मननीय छ। जीवन कसरी बाँच्नुपर्छ भन्ने अनुभवको निचोड उहाँले निकै राम्रोसँग प्रस्तुत गर्नुभएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न उहाँको प्रभावकारी भूमिका रह्यो। पञ्चायती व्यवस्थाको मस्यौदाकार हुँदा र निरंकुश व्यवस्थाभित्र भोग्नुपरेका आयाम निकै रोचक छन्। उहाँले प्रचण्डसँग सहमति नगरी देशको राजनीतिमा केही हुँदैन है भन्नुहुन्थ्यो। पछिल्लो चरणमा त उहाँ मेरो अभिभावकका रूपमा प्रस्तुत भएको पाएँ। पुस्तकमा रहेका केही कुरा तथ्यसंगत छैनन् भन्ने अनुभूत भएको छ। हामी युद्धमा हुँदा पनि यस्तै थियौँ। अहिले पनि मानवता, लोकतन्त्र र सामाजिक न्यायप्रति उस्तै निष्ठा हुन्थ्यो। मानवता र लोकतन्त्रप्रति निष्ठा थिएन भने शान्ति सम्झौता सम्भव हुँदैनथ्यो।

‘अहिले पनि माओवादी उस्तै छ कि भन्ने भ्रम छ । अहिले हामी शान्ति प्रक्रियामा सहभागी छौं । हामी उस्तै छौ भन्ने विभ्रम त्यागौं । युद्धले शान्ति ल्याएको छ नेपालमा । युद्धले शान्ति संबिधान लोकतन्त्र ल्याएको हो । माओवादी तपाईँको भवना र शान्तिको चाहनासंग एकाकार छ भन्ने विश्वाश दिलाउन चाहन्छु’ प्रचण्डले भने । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई सम्झिँदै प्रचण्डले थापाले पछिल्लो समय हरेक राजनीतिक विषयमा प्रचण्डसँग छलफल गर्नुपर्ने धारणा व्यक्त गर्ने गरेको बताए । ‘हरेक राजनीतिक संवाद र सहमति प्रचण्डसँग कुरा नगरी हुँदैन है भन्नु हुन्थ्यो । उहाँ अभिभावक जस्तो भूमिकामा हुनुहुन्थ्यो । पछिल्लो चरणमा उहाँ अभिभावक बनेर प्रस्तुत हुनुभयो’ उनले भने ।

डा. बाबुराम भट्टराई : सूर्यबहादुर थापा र हामी नदीका दुई किनारामा उभिएका मान्छे हौँ। उहाँ आजीवन राजतन्त्रका लागि सक्रिय हुनुभयो। पुरानै विचारले समाज र राजनीतिक व्यवस्था क्रमशः परिवर्तन गर्दै जान्छ भन्ने मान्यतामा उहाँ सक्रिय हुनुभयो। हामी क्रान्तिकारीहरूले पुरानो प्रणालीका संरचना नभत्काएसम्म नयाँ बन्न सक्दैन भनेर लाग्यौँ। पुरानै सामाजिक व्यवस्थाको क्रमिक सुधारले पनि समाज परिवर्तन गर्न सकिन्छ भन्ने उहाँका धारणा थिए। यद्यपि बाटा फरक भए पनि हाम्रो लक्ष्य एउटै थियो। पुस्तक राणाकालदेखि पञ्चायत र गणतन्त्रसम्मको सुन्दर अभिलेख बन्न पुगेको छ। उहाँले इमानदारीपूर्वक आफ्ना कुरा राख्नुभएको छ। त्यसबाट धेरै कुरा सिक्न सकिन्छ। इतिहासका जिज्ञासुका लागि लाभदायी पुस्तक हो। तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाल प्रकरणमा पनि उहाँको भूमिका रहेछ। संवाद र सहमति कसरी गर्ने भन्ने विषयमा मेरा गुरुजस्तै मानेँ।

बाबुराम भट्टराईले तत्कालिन माओवादी पार्टीले नेपाली सेनालाई कब्जा गर्न नखोजेको पनि बताए। थापाको आत्मकथा लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले तत्कालीन माओवादी पार्टीको नेतृत्वको सरकारले प्रधानसेनापतिलाई कारबाही गरेर सेना कब्जा गर्न नखोजेको प्रष्ट्याएका छन्।

माओवादी नेतृत्वको पहिलो सरकारले तत्कालिन प्रधानसेनापति रुकमाङ्गद कटुवाललाई कारबाहीको पत्र दिएको थियो। तर, तत्कालीन राष्ट्रपति रामवरण यादवले त्यसलाई उल्ट्याइदिएपछि माओवादी सरकार छाड्न बाध्य भएको थियो। त्यतिखेर राष्ट्रपतिले सेनापतिलाई थमौती दिएर असंवैधानिक कदम चालेको र असंवैधानिक कदमको सुरुवात नै त्यहीँदेखि भएको उनको भनाइ छ।

‘त्यतिबेला हामीलाई के आरोप लगाइयो भने माओवादीले सेना नै कब्जा गर्न खोजेका थिए। वास्तवमा दुई वटा सेनाको ठिक ढंगले समायोजन गरेर सेनाको लोकतान्त्रिकरण गर्दै राजाप्रति निष्ठावान भएको जुन सेना छ, त्यो अब जनताप्रति निष्ठावान हुनुपर्छ भन्ने मात्रै हाम्रो प्रयत्न थियो,’ भट्टराईले भने, ‘तर जुन एउटा भाष्य निर्माण गरिएको छ, माओवादीले त्यो सेना नै कब्जा गर्न खोजेको थियो त्यही कारणले गर्दा मन्त्रिपरिषद्ले गरेको निर्णयलाई पनि असंवैधानिक तरिकाले रोकियो। पछिल्लो समय अहिले राष्ट्रपतिको असंवैधानिक कदम आएको छ। तर असंवैधानिक कदमको सुरुवात त्यतिबेलै भएको थियो।’ उनले तत्कालीन विद्रोही माओवादी र सत्तारुढ दलहरुका बीचमा भएको १२ बुँदे समझदारीमा दिल्लीले हस्तक्षेप नगरेको पनि बताए। १२ बुँदे समझदारीको सुरुवात नेपाली राजनीतिक दलहरुले नै गरेको उनको भनाइ थियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्