अवकाश पाइसकेकालाई उत्तरार्धमा ६ वटा भ्रष्टाचार मुद्दा – Janadesh Daily | ePaper

अवकाश पाइसकेकालाई उत्तरार्धमा ६ वटा भ्रष्टाचार मुद्दा


जनादेश, काठमाण्डौं ।  सार्वजनिक सेवामा लामो समय गुजारेर अवकाश पाइसकेकालाई जीवनको उत्तरार्धमा भ्रष्टाचार मुद्दा खेप्नु व्यक्तिगत र सामाजिक प्रतिष्ठा सबै हिसाबमा सकसपूर्ण हुन्छ । तर, एक जना कर्मचारी अवकाश जीवनमा ६ वटा मुद्दा झेलिरहेका छन् । उनी हुन्, निजामती सेवामा ३० वर्ष बिताएका मदनकुमार गुप्ता । उनै गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । यो उनीविरुद्धको छैटौँ मुद्दा हो । ०७६ देखि उनी लगातार मुद्दा खेपिरहेका छन् ।

अति गरेपछि खति हुन्छ भनिन्छ । सरकारी सेवामा छँदा अनियमितताको उग्रता प्रदर्शन गरेका उनको थाप्लोमा अहिले पाँच वटा मुद्दाको भारी छ । उनी आफैँ पुर्पक्षका लागि हिरासतमा छन् । खरिदारबाट सरकारी सेवा प्रवेश गरेका गुप्ताले २९ वर्षको जागिरे अवधिमा अनियमितता गरेरै करिब १५ करोड बराबरको सम्पत्ति थुपारे । औसत परिवार चलाउन पनि मुस्किल हुने नासुको पदमा रहेरै उनले त्यति ठुलो परिमाणमा सम्पत्ति जोरजाम गरे । १० मंसिर ०७६ मा अख्तियारले उनीविरुद्ध गैर कानुनी सम्पत्ति आर्जनमा मुद्दा दायर गरेको थियो । सम्पत्ति विवरण केलाउँदा देखिएको १४ करोड ८१ लाखको अवैध आयलाई बिगो कायम गरेर अख्तियारले अदालतमा मुद्दा दायर गरेको थियो । ०७५र७६ को साउनदेखि १२ फागुनसम्म सिमरा मालपोतमा रहँदा मात्रै उनले राजस्वबापतको साढे चार करोड हिनामिना गरेको अख्तियारको दाबी छ ।

भ्रष्टाचार गरेर आर्जित सम्पत्तिबाट उनले परिवारका सदस्यका नाममा चार करोड आठ लाखको घर र ९० लाखको जग्गा किने, व्यवसायमा ७१ लाख लगानी गरे, २७ लाखको गाडी किने । छोराको विवाहमा ६१ लाख खर्च गरेका उनले ४३ लाख सापटी दिएको अख्तियारको दाबी छ । आफू र परिवारका सदस्यबाहेकका नाममा समेत घरजग्गा, सवारीसाधन खरिद, व्यवसायमा लगानी तथा बैङ्क मौज्दात राखे । अख्तियारले दायर गरेको मुद्दा विवरणबाट मालपोत बढी भ्रष्टाचार हुने अड्डामा पर्छ । एउटा मालपोतबाट अर्कोमा चक्कर लगाउँदै उनले करिब तीन दशक जागिर खाए । सरकारी कोषमा जम्मा गर्नुपर्ने मालपोत राजस्वमा व्यापक हिनामिना गरेर उनले खल्ती भरेका थिए ।

गुप्ताविरुद्ध अख्तियारले यसअघि ०७६ जेठ १ मा दुई वटा, ३ जेठमा एउटा, २ र ८ मंसिरमा एक–एक वटा मुद्दा दायर गरेको थियो । उनीविरुद्ध आयोगले कागजपत्र हिनामिना, राजस्व खाइमासेको र गैर कानुनी सम्पत्ति आर्जनलगायत अभियोगमा मुद्दा चलाएको छ । शुक्रबार भने अख्तियारले १२ लाख ३७ हजार ९ सय ६२ रुपैयाँ सेवाग्राहीबाट सङ्कलित मालपोत राजस्व हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको छ । राजस्व रकम सरकारी कोषमा दाखिला नगरी हिनामिना गरेको भन्दै अख्तियारले त्यही रकमलाई बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्