चिनियाँ राष्ट्रपति सी नजरबन्दमा परेकै हुन? कहाँ गएका थिए यत्रो दिन, किन गरियो सयौँ उडान रद्ध – Janadesh Daily | ePaper

चिनियाँ राष्ट्रपति सी नजरबन्दमा परेकै हुन? कहाँ गएका थिए यत्रो दिन, किन गरियो सयौँ उडान रद्ध


जनादेश अन्तर्राष्ट्रिय वाच।
चीनमा गतसाता ‘सैन्य कु’ भएको हल्ला चल्यो । राष्ट्रपति सी चिनफिङ नजरबन्दमा रहेको अफवाह सोसल मिडियामा फैलियो । सामाजिक सञ्जालकै पोस्टहरूमा राष्ट्रपति सीको हत्या भएकोसम्म दाबी गरियो । संसारकै शक्तिशालीमध्ये चीनका राष्ट्रपतिबारे आएको ‘र्‍युमर’लाई कतिपयले पत्याए । कतिले विश्वास गर्न सकेनन् । केही अन्तर्राष्ट्रिय मिडियाले त यससम्बन्धी रिपोर्टहरू नै बनाए । खासमा यस्ताे अफवाहलाई चिनियाँ अध्यात्मिक आन्दोलन फालुन गोंग समर्थित मिडिया नेटवर्कले बढावा दिएकाे बताइन्छ ।

ट्वीट सबैभन्दा पहिले चीनबाट भागेर अमेरिका पुगेका पत्रकार झाओ लान्जियन (Zhao Lanjian) ले गरेका थिए ।चीनमा कुनै ठूलो घटना हुन लागेको दाबी उनकाे थियाे । तर सी र ‘कु’ बारे उनले केही उल्लेख गरेका थिएनन् । उनले चीनमा ठूलो संख्यामा उडानहरू रद्द गरिएको लेखेका थिए । यही बेला सोसल मिडियामा एउटा भिडियो भाइरल भयो, जहाँ सेनाका गाडीहरू सडकमा लस्करै कुदिरहेका देखिए । भ्रम फैलाउनेहरूले यसलाई चिनियाँ सेना बेइजिङतिर अघि बढेको रूपमा अर्थ्याए ।

गत साता नै भ्रष्टाचारको आरोपमा चीनका वरिष्ठ सुरक्षा अधिकारीहरूको एक समूहलाई जेल हालिएकाे थियाे । चीनकाे एक अदालतले सार्वजनिक सुरक्षाका पूर्वउपमन्त्री सुन लिजुन, पूर्वन्यायमन्त्री फू झेङहुआ र संघाई चोङकिङ र शाङ्क्सीका पूर्व प्रहरी प्रमुखलाई भ्रष्टाचारको आरोपमा जेल पठाएकाे थियाे । फू र प्रहरी प्रमुखमाथि राजनीतिक गुटको हिस्सा भएको र सीप्रति निष्ठाहीन भएको आरोप थियो । याे घटनालाई पनि सीकाे कथित नजरबन्दसँग जाेडेर हेरिएकाे थियाे ।

यसैगरी राष्ट्रिय रक्षा एवं सैन्य सुधार संगोष्ठीमा सीकाे अनुपस्थितिबाट कुको अफवाहलाई थप हावा मिल्यो । नेपालमा समेत यो अफवाहलाई धेरैले हावा दिएका थिए । एकातिर यस्ताे हल्ला, अर्कातिर मध्य एसियाकाे भ्रमण गरी १६ सेप्टेम्बरमा फर्केका राष्ट्रपति सी सार्वजनिक मञ्चमा नदेखिनुले धेरै मान्छेमा संशय बढायो ।

एक सातापछि अनेकौँ शंका र हल्ला गलत सावित भएकाे छ । नजरबन्दमा परेका भनिएका राष्ट्रपति सी सार्वजनिक कार्यक्रममा देखिएका छन् । योसँगै सावित भएको छ, न राष्ट्रपति सी जेलमा छन्, न त चीनमा पिपुल्स लिबरेसन आर्मीले ‘कु’ नै गरेको छ । अफवाहलाई विराम दिन बेइजिङस्थित जर्मन अखबार डेल स्पीगलका रिपोर्टर जर्ज फाहरियनले तियानमेन स्क्वायर र शहरका अन्य प्रमुख स्थानको फोटो पोस्ट गरे, जहाँ कुनै सैन्य उथलपुथलकाे छनक देखिँदैन थियाे ।

कहाँ थिए त राष्ट्रपति सी ?
द प्रिन्टकाे समाचारअनुसार, उज्बेकिस्तानमा भएकाे संघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनबाट फर्केका राष्ट्रपति सी एक साताभन्दा बढी समयसम्म सार्वजनिक कार्यक्रममा नदेखिएकाे झुटाे हाेइन । तर उनी कुनै नजरबन्दमा थिएनन् । बरू काेभिड-१९ लाई लिएर देशमा लागू नियम मानेर उनी क्यारेन्टिनमा बसेका थिए । काेराेना महामारी सुरु भएदेखि नै उनी सार्वजनिक कार्यक्रममा कमै देखिने गरेका छन् । चीनमा कोरोनासँग जोडिएका नियम कडाइका साथ लागू हुन्छ । यस्तोमा राष्ट्रपति सी यस्तो नियम मिच्दैनन् । त्यसैले उनले केहीदिन कसैलाई भेट दिएनन् । बाहिरी कार्यक्रममा पनि निस्केनन् ।

चीनमा उडान रद्द गरिएको हो तर..
सीलाई नजरबन्द गरिएको भ्रममा हावा भर्न चीनका कतिपय क्षेत्रमा भारी संख्यामा उडानहरू रद्द गरिएको दाबी गरिएको थियो । चीनमा उडान रद्द गरिएको सत्य हो । तर यसको कारण कथित ‘कु’सँग नभएर कोभिडसँग जोडिएको छ । द प्रिन्टका अनुसार, चीनका केही क्षेत्रमा कोभिडका कारण उडानहरू रद्द गरिएका थिए ।

किन फैलाइयाे यस्ताे हल्ला ?
चिनियाँ राष्ट्रपति सीबारे यस्ताे हल्ला किन फैलाइयाे, प्रस्ट भइसकेकाे छैन । तर, कतिपय मिडियाको रिपोर्टअनुसार १ अक्टुबरमा चीनको राष्ट्रिय दिवसभन्दा अगाडि ‘कु’को षड्यन्त्र रचिएको थियो । सी चिनफिङले लगातार तेस्रोपल्ट सत्ता सम्हाल्न लाग्नुलाई नै ‘कु’ हल्लाकाे कारण मानिएको थियो । द गार्जियनको रिपोर्टअनुसार, चिनियाँ कम्युनिस्ट पार्टीकाे १६ अक्टुबरमा हुने २०औँ राष्ट्रिय कांग्रेसले सीलाई तेस्रोपल्ट नेतृत्व सुम्पिन सक्छ । यसैको छेकोमा सीबारे अफवाह फैलाइएको हो ।

सन् २०१२ मा सी पार्टीको महासचिव भएका थिए । मार्च २०१३ मा हुन इनको ठाउँ लिँदै उनी चीनकाे सातौँ राष्ट्रपति बने । हुन इनले पनि १० वर्षसम्म राष्ट्रपतिको पदभार सम्हालेका थिए । उनीभन्दा अगाडि जियाङ जेमिन पनि दस वर्ष राष्ट्रपति बनेका थिए । बेइजिङमा एक सातासम्म चल्ने सम्मेलनपछि चीनका राष्ट्रपति सी संस्थापक नेता माओत्से तुङपछि देशको सबैभन्दा शक्तिशाली नेता बन्ने अनुमान गरिएको छ । अधिवेशनमा सीलाई आगामी पाँच वर्ष वा त्योभन्दा बढी समय देशको नेतृत्व दिन विधान संशोधन गर्ने तयारी गरिएको चिनियाँ मिडियाले लेखेका छन् । सम्मेलनले सीलाई ‘ग्रेट लिडर’को उपाधि दिन सक्छ । पछिल्लोपल्ट यो उपाधि माओलाई दिइएको थियो । माओले चीनमा २५ वर्षसम्म शासन गरेका थिए ।

जुन १५ सन् १९५३ मा राजधानी पेइचिङनजिकैको एक गाउँमा जन्मेका थिए सी । उनका पिता सी झोङयुन कम्युनिस्ट नेता थिए, जसले माओत्से तुङको साथमा गुरिल्ला युद्धसमेत लडेका थिए । सन् २००२ मा ८८ वर्षको उमेरमा बित्नुअघि नै उनका छोरा सीले पार्टीमा बलियाे स्थान बनाइसकेका थिए । उनै सी अब चीनमा माओत्से तुङपछिका शक्तिशाली नेत हुन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्