युक्रेन युद्धको अन्तिम उद्देश्य प्राप्तितिर पुटिनः युक्रेनका थप चार क्षेत्र रुसमा गाभिँदै – Janadesh Daily | ePaper

युक्रेन युद्धको अन्तिम उद्देश्य प्राप्तितिर पुटिनः युक्रेनका थप चार क्षेत्र रुसमा गाभिँदै


जनादेश वाच।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार (आज) युक्रेनका थप चार क्षेत्रलाई औपचारिक रूपमा रुसमा विलय बनाउने घोषणा गरेका छन्। रुसले कब्जा गर्दै आएका ती क्षेत्रलाई औपचारिक रूपमा आफ्नाे भूगाेलमा गाभ्ने निर्णय गरेको हो। पश्चिमा राष्ट्रहरूले रुसको कदमको निन्दा गरेपछि शुक्रबार नै हस्ताक्षर समारोहको आयोजना गरी ती क्षेत्रलाई आफ्नो ‘टेरिटोरी’ को रूपमा घोषणा गर्ने निर्णय गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

रुसले युक्रेनका पूर्वी लुहान्स्क र डोनेट्स्क र दक्षिणका जापोरिज्जिया र खेरसान क्षेत्रमा जनमतसंग्रह गरेको गरेर विलय गराउन लागेकाे रुसले दाबी गरेको छ। ‘शुक्रबार ग्रान्ड क्रेमलिन प्यालेसको सेन्ट जर्ज हलमा नयाँ क्षेत्रहरूलाई रूसमा समावेश गर्ने सम्बन्धमा हस्ताक्षर समारोह आयोजना गरिनेछ,’ प्रवक्ता दिमित्री पेस्कोभले भने।

रुसी राष्ट्रपति पुटिनले शुक्रबार क्रेमलिनमा सम्बोधन गर्ने कार्यक्रम छ। जसका लागि मस्कोको रेड स्क्वायरमा पहिले नै एउटा मञ्च स्थापना गरिएको छ, बिलबोर्डहरूले चार क्षेत्रहरूलाई रूसको हिस्साको रूपमा घोषणा गरेको बिबिसीले जनाएको छ।

पूर्वबाट दुई रुसी समर्थित पृथकतावादी नेताहरूले पनि भाग लिने अपेक्षा गरिएको छ। रुसी राष्ट्रपतिले आफ्नो ७०औँ जन्मदिनको तीन दिनअघि अक्टोबर ४ मा संसद्को माथिल्लो सदनलाई समेत यस विषयमा छुट्टै सम्बोधन गर्ने कार्यक्रम छ। रुसको पछिल्लो कमदको अन्तर्राष्ट्रिय समुदायले कडा शब्दमा विरोध गर्दै उक्त जनमतसंग्रहलाई अस्वीकार गरेका छन्। उनीहरूले रुसमाथि लगाउँदै आएको प्रतिबन्ध थप कडा पार्दै लैजाने संकेत गरेका छन्।

पूर्वी युक्रेनका दोनत्स्क र लुहान्स्क तथा दक्षिणी क्षेत्रका जापोरिझझिया तथा खेर्सोनमा पाँचदिन लगाएर उक्त मतदान सम्पन्न गराइएको हो । हस्ताक्षर कार्यक्रमको दौरान पुटिनले क्रेमलिनमा ‘विशेष तथा महत्वपूर्ण भाषण’ दिने कार्यक्रम पनि रहेको छ । यसअघि नै रेडस्क्वायरमा ठूलो मन्च बनाएर ती चार क्षेत्र रुसको स्वामित्वमा आइसकेको सूचना विलवोर्डमार्फत प्रदर्शन गर्ने काम सुरु भइसकेको छ । सन् २०१४ मा पनि रुसले युक्रेनको क्राइमियामा यसरी नै जनमतसंग्रह गराएर त्यसलाई आफ्नो भूभागमा गाभेको थियो । यसैगरी यी चार क्षेत्रमा अवैध चुनाव गराइएको भन्दै युरोपेली संघले रुसमाथि नाकाबन्दी लगाउने प्रतिबद्धता जनाइसकेको छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्