समानुपातिक सूची सच्चाउन एक दिन बाँकी, असोज २६ मा चुनाव चिन्ह प्रदान गरिने – Janadesh Daily | ePaper

समानुपातिक सूची सच्चाउन एक दिन बाँकी, असोज २६ मा चुनाव चिन्ह प्रदान गरिने


जनादेश, काठमाण्डौं । निर्वाचन आयोगले असोज २६ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने भएको छ।

आयोगले असोज २३ गतेदेखि २६ गतेसम्म मनोनयन दर्ता गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न दिने कार्यक्रम तय गरेको छ। आयोगले म्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा असोज २३ गतेदेखि २६ गतेसम्म उम्मेदवारको मनोनयन दर्ता सञ्चालन हुने र मनोनयन दर्ता असोज २३ गते र उम्मेदवारलाई निर्वाचन चिह्न असोज २६ गते प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार हुनका लागि मनोनयन दर्ताको मितिसम्म २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिकले मात्रै उम्मेदवारी दिन सक्ने जनाएको छ। यस्तै उम्मेदवार हुन इच्छुक व्यक्ति कुनै संघीय कानुनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने पनि जनाएको छ।

मनोनयन पत्र दर्ताका लागि उम्मेदवार आफैं उपस्थित हुनुपर्ने वा निजका प्रतिनिधि, प्रस्तावक वा समर्थकले निर्वाचन अधिकृत समक्ष दर्ता गर्नुपर्ने छ। सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम भएका व्यक्ति उम्मेदवारको प्रस्तावक वा समर्थक हुन पाउने आयोगले व्यवस्था गरेको छ। त्यस्तै उम्मेदवार आफैं अरु कुनै उम्मेदवारको प्रस्ताव वा समर्थक बन्न नहुने आयोगले जनाएको छ। आयोगले मनोनयन पत्र दर्ता गर्दा प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार धरौटी जम्मा गर्नुपर्ने पनि बताएको छ। आयोगका अनुसार महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट दिइने छ।

यसैबीच, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि दलहरुले संशोधित सूची बुझाउन अब एक दिन बाँकी छ। आयोगले यही असोज १६ गतेभित्र संशोधित सूची बुझाउन सम्बन्धित दललाई आग्रह पनि गरिसकेको छ।

आयोगले बन्दसूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि असोज ४ गतेदेखि ९ गतेसम्म सूची पेस गर्न राजनीतिक दलहरुलाई आग्रह गरेको थियो। आयोगको आग्रहमोजिम ती दलले असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्नुपर्नेछ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्