दशैं र कमिजको बाहुला – Janadesh Daily | ePaper

दशैं र कमिजको बाहुला


No description available.
लिलाबहादुर क्षेत्री,

स्वच्छ मौसम, वर्षा नभएको, हिलो–धूलो नभएको, नदीनालाहरु विस्तारै तर्नसकिने, स्वच्छ नदीको नीलो पानी, बाढी–पहिरोको न्यूनता, मखमली र सयपत्री फूल ढकमक्क फुलेको देखिने, कन्चन नीलो आकाश आदिले मेरो हातका औंलाहरु १५/२० दिन अंघीदेखि नै दशैंको दिन गन्न व्यस्त हुन्थे।घटस्थापनाको दिन कोटमा उपवास वस्ने र बली काट्ने दुइ भाग्यमानी वयस्क को होलान्? जेठो रांगोको बली चढाउने भाग्यमानी को होला ? अहिलेको दशैंमा बाजा घाजा सहित रमाइलो गर्दै कुन बाटो खन्न जाने होला ? दशैंमा नयां लुगा बाबा आमाले किनिदिनु होला कि नाईं ? किनीदिए पनि सुजी दाईले नवमीको दिन कोट जांदा लगाउन मिल्ने गरी सिलाइदिने हुन् कि नाई ? दशैंमा हाम्रो घरमा चामलको जोहो मिल्ला कि नमिल्ला? १/२ छाक भए पनि मासु खान पाइने हो कि नाईं? दशैंमा अरुले जुल्पी (जलेबी) खांदा मैले हेरेको हेरै गर्नुपर्ने पो हो कि? म संग चानचुन खर्च गर्ने पैसा कसरी जुटाउने होला, मामाले कति पैसा देलान, त्यो पैसाले मलाई पुग्ला कि नपुग्ला? आदि कुराहरु मनमा खेलिरह्का हुन्थे।

पटांगिनीमा नवामीको दिन देवता छोप्न पाए त हुन्थ्यो, कुनै सुरतले मान्छेहरुको हुलमा घुसपैठ गरेर भए पनि जेठो रांगो काटेको हेर्न पाए नि हुन्थ्यो, सप्तमी र टिकाको दिन छत्र देवता कोटमा लैजांदा र ल्याउंदा मिल्ने साथीसंग आवत जावत गर्न पाए हुन्थ्यो।फूलपाती भित्रयाउंदा र सेलाउंदा सहभागीता जनाउन पाए हुन्थ्यो।एकादशी देखि कोजाग्रत पूर्णीमा सम्म सबै ठाउंमा खेलिने सरायं नाच हेर्न र खेल्न पाए हुन्थ्यो। पूर्णीमाको दिन गाइने दाइले खेलेको तुरी र पट्टा नजिकैबाट हेर्न र सुन्न पाए हुन्थ्यो आदि अनगिन्ती तरंगहरुले भरिपूर्ण मनमा ठेस कुन चीजले लगाइदिने हो पत्तै हुन्नथ्यो।

नभन्दै दशैं आयो, बाबा परदेश भएकोले नयां लुगा किनिदिन आमासंग अनुरोध गरियो। आमाले नकिनिदिएमा फाटेको कमिज र जांगेमा मेला हेर्न जान नसकिने आफ्नो हालत थियो।आमाको बैंक खाता भने पनि पैसा राख्ने सेफ़ भने पनि चोलाको गोजीमा चोलीको तुनाले बांधेर राखेको काहिंला सुजीले सात प्रकारका सात रंगका टाला गांसी सिलाएको सुर्कने थैली हुन्थ्यो। त्यहि थैली नै हाम्रो घरको नगद मौज्दात हुन्थ्यो।तर त्यो साल थैलीमा मौज्दातका नाममा दुलो परेका २/४ पैसा देखि बाहेक केहि थिएन।
वाध्यताले पहिलेको उधारो खाताको पैसा व्याज सितै तिरुंला, बाख्रो व्याउने छ २/४ महिनामा त्यहि बाख्रो पाठो बेचेर भए पनि तिरुंला भन्दै देउपुजे गई मेरोलागि सुतीको धर्के कपडा कमिजको लागि च्यात्न पठाउनु भयो। कमिज नयां भए पछि पुरानो जांगे त्यहि कमिजले ढाक्ला यों पैसा वुझाएपछी नयां जांगे किनीदिउंला भनेर मलाइ सम्झाउनु भएकोले त्यहि विन्दुमा आमा छोराको सहमति भयो। कपडा सुजी दाइलाई आउंदा आउंदै दिइयो। बाटोमा ३/४ पटक त आमाको हातबाट त्यो काँचों कपड़ा खोसी नियाल्दै हेर्दै गरियो, कति पटक सुंघियो अहिले मलाई हेक्का छैन।

दिनको ३ पटक सुजी दाई कहाँ तारिख दिए पछी नवामीको दिन ११ बजेतिर मेरो कमिज तयार भएछ तर हेर्दा कपड़ा नपुगेकोले लाम्बाउले कमिज नभएर खुम्रे कमिज भएछ। उता कमिजको लम्बाई छोंटो हुनाले फाटेको जांगे ढाक्न असमर्थ भइयो।अर्को दशैंमा बाबाले मलाई कमिज किन्दा पनि कपड़ा नपुगेर खुम्रे नै लगाउनु पर्यो। खुम्रे कमिज लगाउंदा मलाइ गोवर फाल्न, विरामी हुँदा सुइ लगाउन त सजीलो भयो तर चीसोबाट बच्न र कोहि शत्रु म तिर आइलाग्दा कहिलै पनि पाखुराको कमिज सर्काएर माथी लगी उसलाई तर्साउन नसक्ने भएं।त्यहि परिस्थितिमा गुज्रंदै गर्दा अहिले सम्म पनि कमिजको बाहुला नसुर्काइकन जीवनको ६ दशक पो पार गरिएछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्