सी चिनफिङलाई भ्लादिमिर पुटिनसँगको दोस्ती महंगो परेको संकेत, बेइजिङको दृष्टिमा खराब नतिजा – Janadesh Daily | ePaper

सी चिनफिङलाई भ्लादिमिर पुटिनसँगको दोस्ती महंगो परेको संकेत, बेइजिङको दृष्टिमा खराब नतिजा


जनादेश अन्तर्राष्ट्रिय वाच।

गिडियन राकमन

रुसले युक्रेनमाथि आक्रमण सुरु गर्नुभन्दा तीन साताअघि फेब्रुअरी ४ का दिन भ्लादिमिर पुटिन र सी चिनफिङबीच बेइजिङमा भेट भयो। त्यसपछि दुई नेताले संयुक्त वक्तव्य जारी गर्दै रुस र चीनबीचको मित्रताको ‘कुनै सीमा नभएको’ घोषणा गरे।

सात महिना बित्यो। सायद ती शब्दप्रति सी पछुतो मानिरहेका होलान्। उज्बेकिस्तानमा सांघाइ कोअपरेसन काउन्सिलको बैठकअघि सीसँगको भेटमा बोल्दै पुटिनले युक्रेन युद्धसम्बन्धी चीनले उठाएका ‘प्रश्न र चासोहरुलाई’ सम्बोधन गर्ने बाचा गरे। त्यो चासो के थियो, न पुटिन न सीले नै सार्वजनिक रुपमा चर्चा गरे। तर, त्यसको अनुमान गर्न उति कठिन छैन। युद्धले रुसलाई कमजोर पारिदिएको छ, युरेसियालाई अस्थिर तुल्याइदिएको छ र पश्चिमा गठबन्धनलाई बलियो बनाइदिएको छ। बेइजिङको आँखाबाट हेर्दा यी कुनै पनि नतिजा राम्रो होइन।

फेब्रुअरी ४ को वक्तव्यले के स्पष्ट पारेको थियो भने विश्वमा अमेरिकी नेतृत्वप्रतिको साझा शत्रुता नै रुस–चीन मित्रताको आधार हो। युक्रेनमाथि रुसको शीघ्र विजय– त्यो पनि अफगानिस्तानबाट भद्रगोलपूर्वक अमेरिका फर्केको केही महिनामै– अमेरिकाको प्रतिष्ठा र शक्तिमाथि अर्को निकै ठूलो धक्का हुने थियो। त्यो नतिजाले बेइजिङलाई फाइदा पुग्ने थियो। र, सायद ताइवानमाथि चिनियाँ आक्रमणको वातावरण पनि तयार गर्ने थियो। तर, त्यसविपरीत युक्रेनको द्वन्द्व लम्बिएर गयो। अझ रुस पराजित हुने सम्भावना समेत देखिँदैछ। यो चीनका लागि गम्भीर रणनीतिक धक्का हो। इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजका नाइजल गुल्ड डेविस भन्छन्, ‘चीन बेखुसी हुने पर्याप्त कारणहरु छन्।’

यसको सबैभन्दा ठोस कारण भनेको रुस चीनको सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय साझेदार हो। यी दुई मुलुक औपचारिक सन्धिमार्फत रक्षा साझेदार बनेका होइनन्। तर, अन्तर्राष्ट्रिय मञ्चहरुमा उनीहरु एकअर्कालाई भरथेग गर्छन् र संयुक्त सैन्य अभ्यासहरु पनि गर्छन्। आफू राष्ट्रपति भएपछि सीले गरेको पहिलो विदेश भ्रमण मस्को थियो। सीले पुटिनलाई ‘उत्तम मित्र’ भनेर पुकार्ने गरेका छन्। तर, उनका ती मित्र अहिले हरुवाजस्ता देखिन थालेका छन्। र, रुससँगको मित्रता चीनका लागि लाभकारी होइन, लज्जाको विषय बन्लाजस्तो देखिन पुगेको छ।

युक्रेनको युद्धले चीनको सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय साझेदार रुसलाई कमजोर त पार्यो नै। त्यसमाथि यो युद्धले पश्चिमा गठबन्धनलाई पुनर्जीवन दिन समेत महत्वपूर्ण भूमिका खेलेको छ। एक पटक फेरि अमेरिका आत्मविश्वासी र प्रभावकारी देखिन थालेको छ। यो युद्धको दिशा बदल्न अमेरिकी हतियारले सहयोग गरेको छ। मुलुकहरु नेटो गठबन्धनमा सहभागी हुन लाम लाग्दै छन्। चिनियाँ सरकारी सञ्चारमाध्यम पश्चिमको पतन हुन थालेको प्रचार गर्न मन पराउँछ। तर, अचानक पश्चिमा गठबन्धन जिउँदोजाग्दो देखिन थालेको छ।

यो युद्धमा ‘ग्लोबल साउथ’ तटस्थ देखियो। र, कहिलेकाहीँ त रुसलाई मौन समर्थन गरेको पनि देखियो। यो तथ्यबाट बेइजिङले केही राहत महसुस गर्न सक्छ। यो कुराले अर्थ राख्छ। किनभने अफ्रिका, एसिया र अमेरिकाका मुलुकहरुको बफादारिताको संघर्ष अमेरिका–चीन प्रतिद्वन्द्विताको महत्वपूर्ण हिस्सा हो।

तर, ग्लोबल साउथको धारणा पनि बदलिँदैछ। समरकन्दको एससीओ शिखर बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक रुपमै पुटिनलाई हप्काए। उनले ‘आजको युग युद्धको युग होइन’ भन्दै पुटिनलाई पाठ पढाए। पुटिन खुम्चेर ‘यसलाई सकेसम्म चाँडो रोक्न हामी सकेजति गर्नेछौँ’ भनी बाचा गर्न विवश भए।’ गतसाता राष्ट्रसंघीय महासभामा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई भर्चुअल सम्बोधनको अनुमति दिने पक्षमा अरु सय मुलुकसँगै भारत पनि मतदानमा सहभागी भयो। रुसको पक्षमा मात्र ६ मुलुक उभिए। चीन अनुपस्थित रह्यो।

स्वदेश र विदेशमा पनि स्थिरता कायम राख्ने इच्छा व्यक्त गर्न सी मनपराउँछन्। तर, यो युद्धले समग्र युरेसियामा अस्थिरताको सुरुवात गरिदिएको छ। भर्खरै मात्र अजरबैजानले अर्मेनियामाथि आक्रमण गरेको छ। अर्मेनिया रुसको सहयोगी मुलुक हो। किर्गिजस्तान र ताजिकिस्तानबीच पनि लडाइँ सुरु भएको छ। रुस अत्यन्त कमजोर र लज्जित भए त्यो चीनका लागि उति कामलाग्दो साझेदार रहँदैन। त्यसमाथि युद्धको नतिजा अझै देखिन बाँकी नै छ। पुटिनको पतन हुने हो र उनलाई पश्चिमा समर्थक सरकारले विस्थापित गर्ने हो भने त्यो बेइजिङका लागि सबैभन्दा नराम्रो नतिजा हुन जान्थ्यो। तर, त्यो अत्यन्त कठिन छ। तैपनि असम्भव नै भने छैन।

हो, रुस कमजोर हुँदा चीनलाई केही फाइदा अवश्य हुन्छ। मस्को अहिले आर्थिक रुपले झनझन् बेइजिङमा निर्भर हुँदै गएको छ। चीनसँग व्यापारिक लेनदेन गर्न कठिन रहेको हालै पुटिनले बताएका छन्। उनले भनेका छन्, ‘हाम्रा चिनियाँ मित्रहरु निकै अप्ठेरा सौदागर हुन्।’ वासिङ्टनका केही विश्लेषक त अझ एक कदम अघि बढेर युक्रेन युद्धले मस्कोलाई स्थायी रुपले बेइजिङको अँगालोमा धकेल्ने तर्क गर्छन्। अर्कोतिर, यसले चीनलाई टक्कर दिने कुरामा सम्पूर्ण ध्यान केन्द्रित गर्नबाट अमेरिकालाई विचलित तुल्याउने पनि उनीहरुको भनाइ छ।

यस्तो सोच राख्नेहरुको तर्क छ– शीतयुद्धको सबैभन्दा महत्वपूर्ण मोड १९७१ थियो। जतिबेला निक्सन र किसिन्जरले चीनसँग सम्बन्ध राख्ने निर्णय लिएका थिए। अहिले त्यसको ठिक विपरीत काम भइरहेको र चीन तथा रुसको गठबन्धन बलियो हुँदै गएको चिन्ता ती विश्लेषकहरुलाई छ। तर, यो तर्कमा एउटा कमजोरी छ। यो तर्कले महाशक्तिहरुलाई रणनीतिक चेसबोर्डमा रहेका समान हैसियतको गोटी मान्छ।

यथार्थ के हो भने रुस र चीनले अनौपचारिक गठबन्धन बनाए किनकि उनीहरुको विश्वदृष्टिकोणमा थुप्रै कुरा समान छन्। यी दुई मुलुकमध्ये एकले उछिट्टिएर अमेरिकासँग मिल्न आउने निर्णय लिने कल्पना गर्न सकिन्न। उनीहरुले समाधान गर्न खोजिरहेको समस्या भनेकै अमेरिका हो। तर, फेब्रुअरी ४ मा घोषणा गरिएको रुस–चीन गठबन्धन धेरै हदसम्म दुई मुलुकका बाहुबली नेताबीचको व्यक्तिगत सम्झौता पनि हो। पुटिन र सीले एकअर्काको शैलीलाई राम्रोसँग मन पराए र एकअर्कालाई सम्बन्धित देशको प्रतिरुप ठाने। कार्नेगी मस्को सेन्टरका अलेक्सान्द्र गुबाएवको शब्दमा भन्नुपर्दा उनीहरु ‘जार र सम्राट’ हुन्। तर, पुटिन यतिखेर पिटर महानभन्दा निकोलस द्वितीयजस्ता देखिँदैछन्। त्यसैले, पुटिनलाई सहृदयी भावले त्यसरी अँगालेकोमा सीले अहिले पछुतो मानिरहेको हुनुपर्छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्