१०१ वर्षीय हजुरबुवाको स्याहार गर्न इजरायलबाट घर फर्किन् नातिनी – Janadesh Daily | ePaper

१०१ वर्षीय हजुरबुवाको स्याहार गर्न इजरायलबाट घर फर्किन् नातिनी


१०१ वर्षीय शिवलाल पुन र उनकी नातिनी विष्णु पुन मगर। तस्बिर: रासस

जनादेश, काठमाण्डौं । बुढेसकालमा छोरो नै बाबुआमाको सहारा हुन्छ भन्ने नेपालीहरूको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ।

म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन्।

रूमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुनलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसार देखेर बेली गाउँ नै दंग पर्ने गरेको छ। हजुरबा (बाजे) को स्याहार सुसारकै लागि इजरायलबाट डेढ महिनाको विदा लिई घरमा आएकी नातिनी विष्णु पुन मगर चौबीसै घन्टा बाजेको स्याहारमा तल्लिन छिन्।

एक सय एक वर्षको वृद्ध वय त्यसै नै शिथिल हुन्छ। शारीरिक रूपमा कमजोर भए पनि त्यस्तो अवस्थामा तागतिलो खानेकुरा खाने, परिवारको माया र स्याहार पाउने रहर बढी नै हुन्छ। तर परिवारका सदस्यले त्यस्ता वृद्धवृद्धाहरूको स्याहार सुसारमा खासै ध्यान नदिँदा उनीहरु शारीरिक रूपले मात्र होइन, मानसिक रूपमा समेत कमजोर बन्दै जान्छन् र रोगले च्याप्ने गर्छ।

शिवलाल पुन मगरको हकमा भने यस्तो छैन।

उनको हेरचाह र स्याहार सुसारका लागि विदेशमा रहँदासमेत नातिनी विष्णुले अनलाइन माध्यमद्वारा नै परिवारका सदस्यहरूलाई निर्देशन दिने, सिकाउने, आवश्यक सामान र सुविधाजनक चिज मगाइदिने गर्थिन्। घरका सदस्यलाई अरू काम छाडेर भए पनि बाजेको स्याहार सुसार गर्न खटाउँथिन्।

परिवारका सदस्यले पनि सोहीअनुसार गर्ने भएकाले वृद्ध शिवलाल शारीरिक रूपमा कमजोर भए पनि मानसिक रूपले फुर्तिलो बनेर हँसिलो अनुहारमा परिवारका सदस्यहरूसँग कुराकानी गर्ने, व्यावहारिक कुराहरू सिकाउने, आफन्त, इष्टमित्रहरूको खैखबर बुझ्ने लगायत काम गर्छन्।

बाजेको हेरचाहका लागि विष्णु इजरायलबाट घरमा आएर खानपान र हेरचाहको उचित प्रबन्ध मिलाई विदेशमा आफूले जानेको (वृद्धवृद्धाको स्याहार सुसारका विधि) तरिका अपनाई सेवा गर्न थालेपछि शारीरिक रूपमा कमजोरी भएको अवस्थाबाट बौरिएर भान्छामा बसेर आफैं खाना खाने, परिवारका सदस्यहरूसँग गफिने गर्न थालेका छन्।

विगत १५ वर्षदेखि इजरायलमा बस्दै आएकी विष्णु इजरायलमा वृद्धवृद्धाहरूको स्याहार सुसार गर्ने काम गर्छिन्।

गाउँकै सज्जन व्यक्तिका रूपमा चिनिने शिवलालसँग व्यावहारिक ज्ञानको अथाह भण्डार भएको स्थानीयवासी बताउँछन्। युवाअवस्थामा समेत गाउँमा नै बसेर गाउँको विकास र उत्थानका लागि अहोरात्र खट्ने शिवलालको दीर्घ जीवनको कामना गर्दै दैनिक रूपमा उनलाई भेट्न आउनेहरुको भीड लाग्ने गर्छ।

एक सय वर्ष पार गरेका वृद्धवृद्धालाई मानिसको रूपमा नभई भगवानका रूपमा मानिनुपर्ने धार्मिक मान्यता र सामाजिक प्रचलन समेत छ। उनीहरूले आफ्नो जीवनकालमा गरेका काम समाजका लागि अनुकरणीय हुने गर्छन्।

बेली गाउँमा एक सय वर्ष उमेर पार गरेका तीन जना ज्येष्ठ नागरिक छन्। विष्णुले दैनिक रूपमा ती जेष्ठ नागरिकको घरमा पुगेर कसरी स्याहारसुसार गर्नुपर्दछ भनेर परिवारका सदस्यलाई समेत सिकाउँछिन्। आफ्नै खर्चमा ती वृद्धवृद्धालाई आवश्यक पर्ने चिज र पोषिला खानेकुरा किनेर लगिदिने, बनाएर खान दिने आदि कामहरू गर्दै आएकी छन्।

शिवलालका एक छोरा र दुई छोरी छन्। छोरीहरू विवाह गरेर आआफ्नो घरमा छन् भने छोरा कहिले लेक गाउँमा त कहिले बेली गाउँमा पशुपालन गर्छन्। शिवलालका तीन सन्तानबाट १५ जना छोराछोरी र तिनका २५ जना पनाति, पनातिनी गरेर ४० जनाको परिवार छ। परिवारका सबै सदस्य शिवलाललाई उत्तिकै सम्मान गर्नुका साथै रेखदेखमा खटिने गर्छन्।

बाजेलाई प्रसन्न र स्वस्थ राख्न नातिनी विष्णुले हरेक उपाय अपनाउँछिन्। उनलाई हँसाउने, फुर्काउने, खुवाउने, सुताउने, उठाउने सबै काम विष्णुले नै गर्दै आएकी छन्। बाजेको सेवा गर्न पाउँदा आफूलाई धेरै खुसी लागेको र आफूलाई नै भाग्यठानी ठानेको विष्णुको भनाइ छ।

उनी आफ्नो घरका ज्येष्ठ नागरिकलाई बोझको रूपमा नभई ओजको रूपमा लिन र उनीहरूलाई सम्मानका साथ रहने वातावरण मिलाउन सबैसँग आग्रह गर्छिन्।
– रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्