सन्दीपले दोहोर्‍याए आज नेपाल आउने प्रतिवद्धताः यसरी पर्खिँदै छ नेपाल प्रहरी – Janadesh Daily | ePaper

सन्दीपले दोहोर्‍याए आज नेपाल आउने प्रतिवद्धताः यसरी पर्खिँदै छ नेपाल प्रहरी


जनादेश वाच।

एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानले आज बिहीबार नेपाल आउने दोहोर्‍याएका छन्। उनले यसअघि गत शनिबार आफू असोज २० गते नेपाल आउने जानकारी दिएका थिए।

बिहीबार बिहान समाजिक सञ्जालमा एक सन्देश लेख्दै लामिछानेले बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपु्ग्ने र प्रहरीसमक्ष आत्मसमर्पण गर्ने जनाएका छन्। क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध एक किशोरीले गत भदौ २१ गते जबरजस्ती करणीको जाहेरी प्रहरीसमक्ष दिएकी थिइन्। प्रहरीले आफूविरुद्ध पक्राऊ पूर्जी जारी गरेपछि सन्दीप केन्याबाट व्यावसायिक क्रिकेट खेलका लागि सेन्ट लुसियातर्फ लागेका थिए।

लामिछानेले बिहीबार बिहान १० बजे कतार एयरवेजबाट काठमाडौं आइपुग्ने र आफूलाई निर्दोष प्रमाणित गर्न कानुनी लडाइँ लड्ने बताएका छन् ।

‘नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई लिखित जानकारी गराइसकेको छु।’

लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेसँगै इन्टरपोल अन्तर्गतका देशहरूले आफ्नो देशमा खोजी थालेका थिए। इन्टरपोलमा १९५ देश आबद्ध छन्।

आफूलाई सन्दीपले काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको भन्दै १७ वर्षीया किशोरीले सन्दीपविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्।

त्यसपछि ‘सम्पर्कविहीन’ सन्दीप कुन देश छन् भन्ने खुलेको छैन। यता क्यानले भने उनीविरुद्ध जाहेरी परेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट निलम्बन गरिसकेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्