‘चेखवको छेपारो र हाम्रो संस्कार’ – Janadesh Daily | ePaper

‘चेखवको छेपारो र हाम्रो संस्कार’


लीला बहादुर के.सी.

नेपालमा १०४ वर्षसम्म राणाहरुले राज्य गरे। हामीले इतिहास पढे बमोजिम ती शासकहरु धेरै निरंकुश थिए। कसैले लेख्न पढ्न थाल्यो भने ती मान्छेहरुको हात काटिदिन्थे। गाउंका राम्रा चेली बेटीहरु देखे भने उनीहरुको मोज मस्तीको लागि दरबारमा ल्याउन हुकुम हुन्थ्यो । त्यो बेला कुनै पिता वा पतिले उक्त हुकुमको विरुद्ध प्रतिकार गर्न संभव थिएन। उनीहरुको एउटै आदेशमा सर्वसाधारण मानिसलाई फांसी दिइन्थ्यो हत्या गरिन्थ्यो। राणाकालको उत्तरार्द्धका जुद्ध शमसेरले बनाएको अर्गली दरबार र उनको ऐयासी जीबन हाम्रा पिता पुर्खाले अली नजीकबाट हेर्न र सुन्न पाएकोले हामीलाई त्यो समयका राणाहरु र विशेष गरी जुद्ध शमसेरको ऐयासी जीवन बारे पिता पुर्खाले सुनेका कुरा बताउनु हुन्थ्यो।

मैले सुनेको त्यो दरबारमा जुद्ध शमसेर बस्दा गुल्मी, अर्घाखांची, स्याङ्जा,पाल्पा तिरका भरखरका १५/१६ वर्षे सुन्दर युवतीहरु छानेर ल्याइन्थे रे।जुद्ध शमसेर दरबार बाहिरबाट आई दरवार भित्र पसी माथिल्लो तलामा जांदा भर्यांगको हरेक सिंढीमा ती युवती अनिवार्य खडा भई महाराजको आगमनको स्वागतार्थ उभिनु पर्ने नियम थियो रे । महाराजले आफ्नो स्वागतार्थ भर्यांगमा उभिएका सुन्दरीहरुबाट मन पर्ने सुन्दरी छनौट गरी आफ्नो कोठामा पठाइदिने हुकुम हुन्थ्यो रे । महाराजको त्यो क्रियाकलापको प्रतिवाद गर्ने हामी नेपालीहरुको चल्न थिएन र त्यो संस्कारलाई हामी सोझा नेपालीले पचाए कै थियौं । म सानो छंदा गुल्मीबाट रुपन्देही पडसरी ठूटीपिपल दिदीको घरमा बाबासंग आउंदा मलाई त्यो ऐयासी दरबार र त्यो भर्यांग हेर्न मन लागि त्यहां पुगी हेरेको थिएं।

राणाकाल समाप्त भए पछी राजतन्त्रको सुरुवात भयो। राजतन्त्रमा पनि राणाकालका ती राजसी विकृतिहरु देखा परे। राजा महेन्द्रूको भित्रीया श्रीमती बाट रवि विक्रम जन्मिए।उनी सबै भन्दा जेठो छोरा थिएं तै पनि वैधानिक रुपमा महारानी घोषणा नगरेकोले उनीबाट जन्मेको सन्तान राजा हुन पाएनन् । उनलाई कालीमाटीमा रविभवन भन्ने दरवार बनाई सम्पत्तिमा अधिकार दिइयो। राजतन्त्रको कालमा दरबार पक्षबाट भएका सयौं सामाजिक न्याय विरोधी गतिविधिहरु यहाँ उल्लेख गर्न संभव छैन त्यस मध्येको बाहिर निकै प्रचारमा आएको घटना पोखराको सुनीता नमीता कान्ड हो।

०४६ सालको आन्दोलनले देशमा प्रजातन्त्रको पुनर्स्थापन भयो। जनताहरुले परिवर्तित प्रजातान्त्रिक भनिएको सरकारबाट धेरै अपेक्षा गरेका थिए तर सत्ता आफ्नो हातमा आए पछी यिनीहरुले पनि ऐस आराम र सामाजिक विकृतिहरुबाट टाढा रहन सकेनन्। चाहे सरकार पक्षबाट वा विद्रोहि पक्षबाट होस महिलाहरु असुरक्षित रहे। माओवादी द्वन्दकालमा पनि महिलाहरु बच्न सकेनन्। माओवादी शान्ति प्रक्रियामा आए पछी “यौन हिंसामा संलग्न व्यक्तिहरूले क्षमादान पाउने छैनन् “ भन्ने कुरा सरकारद्वार तयार गरिएको सत्य तथा मेलमिलाप आयोग ऐनले स्पष्ट शब्दमा भनेको छ। तर सम्बन्धित अधिकारीहरूले अहिलेसम्म पनि हिंसामा संलग्न व्यक्तिहरूको अर्थपूर्ण छानबिन र सुनवाइ तथा पीडितहरूका लागि प्रभावकारी क्षतिपूर्ति सुनिश्चित गर्न सकेका छैनन्।

देशमा लोकतान्त्रिक सरकार आए पछी पनि यी र यस्ता प्रकारका घटनाहरु घट्न छाडेका छैनन्। पोखराको सुनीता नमीता कान्ड जस्तै महेन्द्नगरमा निर्मला पन्तको घटना भयो। यस्ता सयौं घटनाहरु घंटे पनि यो सानो लेखमा ती सबै उल्लेख गर्नु संभव छैन। तै पनि नेपालमा सामाजिक सुरक्षा अत्यन्त दयनीय छ। अहिलेसम्म पनि नेपाली समाजमा सत्ताको आडमा यस्ता घटनाहरु हुने र त्यस्को गुप चाप हुने/ गरिने हुंदा नेपाली समाजमा अझै पनि रुसी प्रशिद्ध कथाकार अन्तिम चेखवको “छेपारो” कथाको महत्व र गरीमा बढेको जस्तो लाग्छ।

एक छिन उहांको कथा तर्फ जाउं। समकालीन चेखवको रुसी समाजमा सैनिक सुपरिटेन्डेन्ट ओचुमेलोभ थिए। उनी त्यहांका शासकको निकै भक्त थिए। शासकले कालो बस्तुलाई सेतो भन्दा उनले पनि त्यो कालो बस्तुलाई सेतो हो भन्थे। उनी आफ्ना शासकहरु प्रति यती वफादार थिए कि शासकहरु त उनका निम्ति केहि गल्ती नगर्ने ईश्वरीय शक्ति पाएका भगवान नै थिए त्यसको अलावा शासकहरुले शौखका लागि पालेका कुकुरहरु समेतबाट कुनै गल्ती हुंदैन भनी सम्झन्थे। उनको कथामा उल्लेखित एउटा गरीब पात्र जसले आफ्नो दैनिकीद दाउरा काटी बेचेर चलाएको थियो।

एक दिन दाउरा विक्री गर्ने क्रममा एक जना ग्राहकसंग के कुरा गर्दै थियो उसको हातको औंलामा एउटा कुकुरले टोकी रक्ताम्य पारिदियो।उसलाई कुकुर प्रति निकै रीस उठेकोले कुकुरलाई लखेट्दै येन केन कुकुरको खुट्टा समात्यो। त्यो कोलाहल सुनेर सैनिक प्रमुख ओचुमोलोभ र उसको अंगऱक येल्दीरिन त्यो दाउरे ऋकिनको नजीक आएर ऋकिनलाई सोधे,”के घटनाले यहां कोलाहल भइरहेछ?” ऋकिनले जवाफ दियो, “ (आफ्नो रक्ताम्ये औंला देखाउंदै), यो कुकुरले मलाई मेरो हातमा नराम्रोसंग टोकेकोले म अव केहि दिनसम्म दाउरा काटी बेचेर मेरो परिवार पाल्न सक्ने अवस्था छैन, सरकारले मलाई क्षति पूर्ति दिनु पर्छ। यहांको संविधान मा कुकुरले मान्छेलाईटोकेमा क्षतिपूर्ति नपाउने भन्ने व्यवस्था कतै उल्लेख भए जस्तो लाग्दैन। त्यसैले मेरो इन्साफ यहांबाट गरी पाऊं।”

यो सुने पछी सैनिक अधिकृतले सत्ताको रवाफ प्रदर्शन गर्दै पक्कै यो भुस्याहा कुकुर वा कसैले पालेको बौलाहा कुकुर भएकोले उक्त अभियुक्त कुकुरलाई मारिहाल्नु पर्ने र कुकुर पाल्नेबाट ऋकिनलाई क्षतिपूर्ति दिनु पर्ने घोषणा के गरेका थिए, भिड़ंको नजीकैबाट एउटा आवाज आयो, “यो कुकुर उच्च स्तरीय सैनिक जनरल जिगालोभको हो।” यो आवाज़ सुने पछी सैनिक अधिकृतको शरीरमा पसीना आएकोले उनले आफ्नो अंगरक्षकलाई आफ्नो कोट काढिदिन आदेश दिएर ऋकिन तर्फ फर्कि त्यती सानो कुकुरले ठूलो मान्छेलाई टोक्न नसक्ने र कुनै क़िला कांटीमा परी हातमा रगत आएको हुनुपर्छ भनी झुटा बोलेकोमा ऋकिन कार्यबाहिको भागिदार हुनु पर्ने आदेश सुनाए।

यत्तिकैमा भिडको अर्को मानिसबाट आवाज़ आयो, “ यो कुकुर सैनिक जनरल जिगालोभको हुनै सक्दैन किन भने कुकुरको जीउ डाल हेर्दा यो कुनै खानदानी कुकुर होइन, जरसाहबले पालेका कुकुरहरु त निकै उन्नत जातका कुकुर हुन्”। यो कुरा सुने पछी सैनिक अधिकृतको मनःस्थिति परिवर्तन भयो र भन्यो,”मैले पनि जरसाहबको घरमा यस्तो कुकुर देखेको थिइन। फेरी जरसाहबका सबै कुकुरहरुले यस्तो गल्ती गरबक्सन्न। पक्कै पनि यो कुकुर पाल्ने मान्छेले लापरवाही गरेको र कुकुरलाई नबांधेको हुनाले यस्तो घटना भएको हुनु पर्छ, त्यसैले ऋकिनको क्षतिपूर्ति कुकुर पाल्ने मानिसको पहिचान गरी ऊ बाटै तिराउनु पर्छ र ऋकिनलाई न्याय दिनु पर्छ।”

ठिक त्यसै बेला अर्को एक जनाले भिंडको बीचबाट भन्यो, “होइन हजूर यो कुकुर त जनरल जिगालोभको सहोदर भाई भ्लादीमिर इभानिचले सानो कदको फरक प्रजातिको कुकुर मन पराएकोले हिंजो मात्र ल्याई बक्सेको हो।उहां(कुकुर)बाँट कुनै गल्ती हुन संभव नै छैन यो ऋकिन कै गल्तीबाट यस्तो घटना भएको हुनु पर्छ।”

यो कुरा जब ओचुमोलोभले सुने तब उनले ऋकिनलाई सजायं दिने आदेश दिई ज़र साहबको भाई भ्लादिमीर इभानिचको दरबारमा कुकुर डोर्याई पुर्याइदिए। अब हामी पनि हाम्रो मौलिक संस्कार तर्फ लागौं।

अहिले संघीय र प्रादेशिक चुनाव आएको छ, फरक फरक मान्छेका प्रचारका शैली फरक छन्। कसैले कुनै नेताको पूर्वाधार विकासको सोंचको प्रशंसा गरेका छन् भने कसैले अन्य योगदानको। समृद्ध नेपाल, सुखी नेपालको नारा हामीले दिलै देखि आत्मसात गर्ने हो भने पूर्वाधार विकास मात्र विकास होइन मानवीय पक्षको विकास नहुँदा सम्म जनता सुखी हुँदैनन्। आज पनि नेपाली समाज अन्तोन चेखबको सैनिक पात्र ओचुमोलोभ र उनका अंग रक्षक भन्दा फरक हुन सकेको देखिएन। त्यसैले जनताको सामाजिक सुरक्षा विनाको विकासले नेपाली जनतालाई कहिल्यै पनि सुखी बनाउने छैन।

चुनावको बेला सामाजिक सुरक्षाको पक्षमा नेताहरुलाई प्रश्न गरौं, जवाफ मागौं, जन सुरक्षा प्रति ढुक्क हुन सक्ने अवस्था श्रृजना गरौं। नेताहरुको सामाजिक सुरक्षा प्रतिको भिजन वुझौं। उनीहरुको कमजोर पक्षको आलोचना गर्न सिकौं। आउँदा दिनहरुमा सुनीता नमीता र निर्मलाहरुको जस्तो जनताले नीयति भोग्न नपर्ने वातावरण श्रृजना गरौं। जनताको दिन दहाडै हत्या नहुने कुराको ग्यारेन्टि दिन लगाऔं र साह्रै चेखवको सैनिक पात्र जस्तो नेताको गुलाम नबनौं, विशेष गरी वौद्धिक जगत र पत्रकार बर्ग जस्ले आफ्नो नेतालाई सधै भन्छ, “वहांबाट यस्तो गल्ती कहिल्यै हुंदैन।” र नेताको अनावश्यक प्रतिरक्षा गर्छ।

यस्तो प्रकारको संस्कारबाट वौद्धिक बर्ग टाढा हुन सके मात्र सुखी नेपालको नारा कार्यान्वयन होला अन्यथा देश भौतिक विकासले समृद्ध भए जस्तो देखिए पनि जनता दुखी मात्र हुने छन्।ऋकिन जस्तै दुखी बन्ने छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्