अस्ट्रेलियाद्धारा दक्ष कामदार तथा अभिभावक भिसाको संख्या दोब्बरले वृद्धि – Janadesh Daily | ePaper

अस्ट्रेलियाद्धारा दक्ष कामदार तथा अभिभावक भिसाको संख्या दोब्बरले वृद्धि


अस्ट्रेलिया । अस्ट्रेलियाले दक्ष कामदार तथा अभिभावक भिसाको संख्या करिब दोब्बरले वृद्धि गर्ने भएको छ । अस्ट्रेलियाका ट्रेजरर जिम चाल्मरले बजेट सार्वजनिक गर्दै त्यसको घोषणा गरेका हुन् । बजेटमार्फत सार्वजनिक कार्यक्रम अन्तर्गत आगामी ४ वर्षका लागि अस्ट्रेलियाको अध्यागमन क्षेत्रलाई अझ प्रभावकारी बनाउन करिब ६ सय मिलियन डलरसमेत छुट्याइएको छ ।

गृह मन्त्रालयमा सार्वजनिक गरिएको सूचनाअनुसार दक्ष कामदार भिसाको संख्या आगामी आर्थिक वर्ष २०२२/०२३ मा ७९ हजारबाट १ लाख ४२ हजार पुर्‍याइएको छ भने अभिभावकलाई दिइने भिसासमेत ४ हजार ५ सयबाट बढाएर ८ हजार ५ सय बनाइएको छ ।

अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमणपछि कामदार अभाव भएका कारण उक्त अभावलाई पूरा गर्न दक्ष कामदार भिसाको संख्या वृद्धि गरिएको बताइएको छ । अस्ट्रेलियामा हरेक वर्षका लागि छुट्याइएको सीमित संख्यामध्येमा केही भिसालाई कम गरेर यी दुई भिसालाई बढाइएको हो । अस्ट्रेलियाले गत वर्ष जम्मा १ लाख ६५ हजार आप्रवासीलाई भित्र्याएकोमा उक्त संख्यालाई बढाएर १ लाख ९५ हजार पुर्‍याएको छ । अहिले परिवर्तन गरिएको संख्यासमेत उक्त निर्धारित कोटाअन्तर्गत नै आवश्यकताका क्षेत्रअनुसार छुट्याइएको हो ।

गृह मन्त्रालयमा उपलब्ध जानकारी अनुसार श्रीमान् वा श्रीमतीलाई दिइने (पार्टनर) भिसामा करिब आधा कटौती गरिएको छ भने व्यावसायिक व्यक्ति तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका व्यक्तिलाई दिइने भिसामा पनि अत्यधिक कटौती गरिएको छ । जानकारीअनुसार कार्यक्षेत्रबाट गरिने स्पोन्सर भिसाको संख्या २२ हजारबाट ३५ हजार पुर्‍याइएको छ भने स्वतन्त्र रूपमा आउने दक्ष कामदारको संख्या ६ हजार ५ सयबाट ३२ हजार पुर्‍याइएको छ ।

दुर्गम क्षेत्रमा देखिएको कामदार अभाव पूरा गर्ने उद्देश्यले उक्त क्षेत्रमा छुट्याइएको भिसाको संख्यासमेत ११ हजारबाट ३१ हजार पुर्‍याइएको छ । तर पार्टनर भिसाको संख्या भने ७२ हजारबाट ४० हजारमा झारिएको छ । गत वर्ष दक्षताका आधारमा दिइने भिसाको संख्या ७६ हजार ६ सय रहेकामा उक्त संख्यालाई बढाएर १ लाख ४२ हजार पुर्‍याइएको छ भने पारिवारिक भिसाअन्तर्गत दिइने संख्यालाई ८० हजारबाट घटाएर ५२ हजार बनाइएको छ ।

यसका साथै सरकारले आगामी चार वर्षका लागि यहाँको अध्यागमन क्षेत्रमा अझ चुस्तता ल्याउन ५ सय ७६ मिलियन डलरको घोषणा गरेको छ । भिसा प्रोसेसिङ लगायतका काममा पछिल्लो समयमा देखिएको ढिलासुस्तीलाई कम गर्न, बाहिरी स्थानमा रहेका कार्यालय तथा शरणार्थीलाई सहयोग गर्नका लागि सरकारले तोकेको रकम खर्च हुने स्थानीय समाचार संस्था एसबीएसले उल्लेख गरेको छ ।

अस्ट्रेलियाले बढाएको दक्ष कामदार भिसामा विदेशमा रहेका दक्ष कामदार तथा अस्ट्रेलियामा लामो समयसम्म बसोबास गरिरहेका व्यक्तिलाई प्राथमिकता दिइने जनाइएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजीले अध्यागमन विभागको बजेटमा उल्लेख्य वृद्धि भएको बताएका छन् । परिवर्तन गरिएको नीतिले चार वर्षमा ९ सय २५ मिलियन डलर राजस्व संकलन हुने आकलन गरिएको छ ।

अध्यागमन क्षेत्रका जानकारका अनुसार अस्ट्रेलियाले कोभिडपछि देखिएको कामदार अभाव पूरा गर्ने उद्देश्यका साथ भिसा नीतिमा परिवर्तन गरेको हो । सिड्नीस्थित कानुन व्यवसायी सञ्जीव पाण्डे सरकारको पछिल्लो निर्णय कामदार अभाव पूरा गर्ने उद्देश्यले ल्याइएको भए पनि नेपाली विद्यार्थीलाई समेत प्रत्यक्ष फाइदा पुग्ने बताउँछन् । नेपाली विद्यार्थीले दक्ष भिसाको प्रक्रियाबाट पीआर लिने भएकाले यसको फाइदा उनीहरूलाई पनि हुने उनको भनाइ छ ।

यो समाचार कान्तिपुरमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्