राजनैतिक निष्ठावान स्मरणीय पात्रहरु – Janadesh Daily | ePaper

राजनैतिक निष्ठावान स्मरणीय पात्रहरु


हाम्रा बाबा आमाहरुले छोराहरुले खुरु खुरु पढुन्, अर्कोसँग दुष्मनी नलिउन्, पार्टीमा नलागुन भन्ने सोच्नुहुन्थ्यो । कुनै वयस्क वा प्रौढले पञ्चायती व्यवस्था परिवर्तन गर्नुपर्छ भनी सुनाएको कुरा घरमा भन्दा हाम्रा बाबा आमाले ,’ तिमी बाख्री बुढीका छोराले के गर्न सक्छौं र ? भन्नुहुन्थ्यो।

पञ्चायतको बदला बहुदलीय व्यवस्था ल्याउन सकिन्छ भनी बाबा आमालाई भन्दा २०१८ सालतिर पञ्चायतको विरोधीहरुलाई सरकारले कसरी मारेको थियो ? भन्ने कथा सुनाउनुहुन्थ्यो। पञ्चायती व्यवस्थाको विरोध गर्दा शमशेर बहादुर खत्रीको अमरपुरमा टाउको काटी तम्घासको ठानामा रेल बहादुर सिपाहीले बुझाएकोले उस्को बढुवा भै हवलदार भएको थियो रे। २०१८ सालमा गुल्मी र अर्घाखाँचीमा कांग्रेसको नेतृत्वमा ठूला ठूला आन्दोलन भएका थिए रे।

२०१८ सालमा नेपाली कांग्रेसी नेता सुवर्ण शमशेरको आह्वानमा देश भर सशस्त्र आन्दोलन भएको थियो रे। तत्कालीन गुल्मी को वांग्ला, अर्घातोस, खन र धुर्कोटमा भएका चौकी र सानातिना प्रशासनिक इकाईमा नेपाली कांग्रेसको सशस्त्र समूहले आक्रमण गर्दा कैयौँ मानिस गिरफ्तार भएका थिए रे।  कतिलाई गिरफ्तार गरेर राखी सकेपछि जिउदै खाल्डोमा पुर्ने वा मौलामा बाँधेर अमानुसिक र निसृंश तरीकाले मारिएको थियो रे।

 एक दिन हाम्रो घरको ठूलो पाटोमा कोदो रोप्दा मेरो बाबा आमा र बाबाको मामाको छोरी (काहिंली फूपु) समेतले शंशेरबहादुर खत्री (बाबाको बहिनी ज्वाईं) को पञ्चायती शासकहरुद्वारा २०१८ सालमा गरिएको हत्याका कथाहरु सुनाउँदा मेरो शरीर जिरिँग भएको थियो। ठूलै जुलुसको साथमा हाते माइकबाट संवोधन गर्दै गाउँ गाउँमा हिड्ने शमशेर बहादुर खत्री अत्यन्त निडर नेता हुनुहुन्थ्यो भन्ने कुरा मेरा परिवारका अग्रजहरुले भन्नुहुन्थ्यो।

सशस्त्र संघर्ष गर्न हिँडेको त्यो समूह धुर्कोट रजस्थलबाट उत्तर तर्फ बाँझाखर्क हुँदै छल्दी तिरजाँदा लाहाँटामा खन दहका टिकाराम घिमिरे र वांग्लाका मोती प्रसाद भुसाललाई गिरफ्तार गरी ठूलो खाल्डो खन्न लगाई खाल्डोमा धकेलेर ढुंगाले थिँचेर हत्या गरेको कुरा पनि कोदो रोप्दै गर्दा मैले सुने। उहाँहरुको साथमा आन्दोलनमा हिँडेका अन्य योद्धाहरु भने भागेर बच्न सफल भएका थिए रे। ती भाग्नेहरु को को थिए सबैको जानाकारी उहाँहरुलाई थाहा नभएर हुन सक्छ मैले त्यो बेला जानाकारी पाउन सकिन । २०१८ सालको त्यो सशस्त्र संघर्षमा बच्न सफल भएका नेकाका नेताहरुमा धुर्कोट किमुखर्क कै काका खड्क बहादुर खत्री, वांग्ला कै यज्ञ प्रसाद आचार्य, काशिनाथ गौतम, खिमानन्द पौडेल लगायत हुनुहुन्थ्यो भन्ने कुरा मैले वयस्क अवस्थामा सुनेको थिए ।

२०१८ सालमा भागेर जोहिए पनि २०१९ सालको माघ महिनामा खिमानन्द पौडेललाई प्रहरीले पक्डिएर मारी जलाएर सुपाखोलाको ढुंगाको कपेरामा राखेको कुरा पनि सुनेको थिए।शमशेर बहादुर फूपाजुलाई भने लखेट्दै जाँदा अमरपुरमा पक्डेर कुनै देवी देवतालाई बोकोको वली दिए जस्तै टाउको काटी तम्घासमा वुझाएको कुरा मैले त्यहि कोदो रोप्ने बारीमा नै मैले सुने। यी सबै कुराको स्मरण गर्ने रगराउने विषय भने एउटै थियो त्यो विषय राजनीति गर्ने नेताहरुबाट मलाई टाढा गराउने। २०१८ सालको त्यो घटना हुँदा म दुई बर्षको हुनाले म त्यस्तो प्रकारको शशस्त्र युद्धबारे अनविज्ञ हुनु स्वाभाविक थियो। आमा, बाबा र फूपुले २०१८ सालको त्यो घटना सुनाउँदा मलाई एका तर्फ त्रासदीको मनोविज्ञानले तर्साइ रहेको थियो भने अर्को तर्फ यस्ता घटनाका लामा वास्तविक कथाहरु वहाँहरुबाट सुन्न अत्यन्त उत्सुक थिए।

२०३० सालतिर एक दिन मैले दिउसो करीब एक बजेतिर घरको पारी पट्टि एउटा ठूलो जुलुस देखेँ। त्यो जुलुस हाम्रो क्षेत्रमा तत्कालीन अवस्थामा नाम चलेको फुरौले कान्डसँग सम्वन्धीत विषयको विरुद्धमा आएको जुलुस रहेछ। त्यो बेला कमरेड पुष्पलालको निर्देशनमा भूमीसुधारसँग सम्बन्धित एजेन्डाहरुको माग राखी नेकपाले बर्ग संघर्ष गर्ने नीति लिएको कुरा अहिले इतिहास पढ्दा जानाकार हुन्छ। लुम्बिनी अन्चलमा त्यो बेला कमरेड मनमोहन अधिकारीको अगुवाईमा कमरेड केशरमणी पोखरेलहरुले वर्ग संघर्षका कार्यक्रम बनाई आन्दोलन गर्न निर्देशन गरेकोले फुरौले कान्ड त्यसै अन्तर्गतको एउटा कार्यक्रम रहेछ। जुलुस तोकिएको घर आँगनमा गई फुरौले कान्डमा जन विरोधी गतिविधि भएको कुराको भन्डाफोर गर्दै आमसभामा वक्ताहरुले बोले पछी जुलुस तितरबितर भएको मैले देखेको थिए। यो नै वर्ग संघर्षको एउटा स्वरुप रहेछ भन्ने कुरा मैले पछी बुझेँ।

त्यो घटनामा जुलुसमा आएका थुप्रै स्थानीय नेताहरुको वारेन्ट जारी भै एकछीन गाउँ नै सुनसान भए जस्तो मैले अनुभूति गरेको थिए। माओको नेतृत्वमा चीनमा भएको सांस्कृतिक क्रान्तिको यान्त्रिक नक्कल, भारतमा चारु मजुन्दारको नेतृत्वमा भएको वर्ग संघर्षको पनि झापामा यान्त्रिक नक्कल आदिले नेकपाको केन्द्रियता सम्वन्धी नीतिफितलो भएको वा सर्वसाधारण कार्यकर्ताहरुमा स्वतस्फूर्त रुपमा आएको अराजकता त्यसको मूल्यांकन नेपाल कम्यूनिस्ट पार्टीलेआफ्नो इतिहासमा गरेको होला तर अहिलेको मेरो हेराइमा केहि आन्दोलनमा अली अपरिपक्वता र अराजकता देखिन्थ्यो।

गाउँमा पढेलेखेका अग्रजहरु थिएनन्। कसैले जिल्ला बाहिर गई नोकरी गर्थे कोहि पार्टी संगठनको काममा आ-आफ्नो जिम्मा लिएर सम्बन्धित क्षेत्रमा थिए होलान् तै पनि गाउँमा पार्टी संगठनको काममा खट्ने कृषकहरु, हली र गोठालाहरु, हाइ स्कूल पढ्ने सिनीयर विद्यार्थीहरु थिए। ती सबैलाई नेतृत्व दिने हाम्रै गाउँका राजनीति कर्मी नेतृत्व पंक्तिका केहि दाजुहरु बेला बेलामा गाउँमा लुकि लुकि आउनु हुन्थ्यो । ती दाजुहरु मध्ये मलाई एक जना दाजुको सानै देखि सकारात्मक छाप बस्यो।

चुस्स चिउडोमा दारी, इलिप्टिकल जुंगाले छुस्स दारी छोएर टुँगिएको, हेर्दा दारी चढेर जुंगा बनेको कि जुंगा बगेर छरपष्ट भै दारी बनेको भनी छुट्टाउन नसकिने (पछी थाहा भो यो लेनिन कट दारी जुंगा रहेछ) लुकिँगले बनेको छुट्टै आकर्षक उहाँको व्यक्तित्व नै हामी गाउँ घरका केटाकेटीका लागि आश्चर्यको विषय बन्थ्यो। स्टार सुज, इस्टकोट, सर्ट र पाइन्ट, कोखिमा हातले बुनेको चिटिक्क परेको झोला, त्यो झोलामा २र४ वटा राता मसीले छापेका किताब, इस्टकोटको गोजीमा भिक्सको बट्टा, झोलामा बैंडेज, सिटामोल, डायजीन, डिटोल रवेरल्गनका केहि पाताहरु दाजुका यी स्थायी सामाग्री हुन्थे।

सुस्त हाँसेर बोल्ने, सानालाई धेरै माया दिने, प्रौढहरुलाई सम्मान गर्ने, गाउँ छिमेकी दमै, कामी र गाइनेहरुले दाजुलाई, ‘कहिले आउनु भो बराजु ?’ भन्दा बराजु शब्द प्रयोग नगर्नुहोस भन्ने उहाँको बानी थियो।दाजुले उहाँहरुलाई दाई, भाउजु, काका, काकी आदि भनेर संवोधन गर्नु हुन्थ्यो र आफू भन्दा जेष्ठ सबैलाई ‘तपाईं’ भनेर संवोधन गर्नुहुन्थ्यो। पन्चायत कालमा उहाँले घृणाको दृष्टिले हेर्ने र सम्मान नगर्नेहरु गाउँमा १र२ जना सुद्खोर, अन्नको चौपांजे लगाउने १/२ जना मानिसहरु, चर्को व्याज असुल्ने १/२ जना धनीहरु, केहि रक़म ऋण दिएर असामीबाट चर्को व्याजको अलावा ठेकि र बेठि लगाउनेहरु, जग्गाको तिरो भरो उठाउने र मौका परेको बेला आफ्नो जग्गाको सिमानाको सार्वजनिक जग्गा आफ्नो नाममा बनाई अतिक्रमण गर्नेहरु गाउँका उहाँका दुस्मन थिए। कहिले काहिं उहाँको विरुद्ध जासूसी गर्न खोज्ने पन्चहरु पनि दाजुका दुस्मन थिए।

दाजुको बारेमा बोल्न जो कोहि पनि झट्ट डराउँथे। दाजु कहिले गाउँमा १/२ दिनकोलागि रातीमा आउने, कहिले ६/७ वर्ष पछी मात्रदेखा पर्ने तर गाउँमा आए पछी विद्यार्थी र युवा पिंढिलाई कहिले अनकन्टार ओढारतिर त कहिले खर्कको गाईको गोठमा बोलाई चीन, रुस, कोरिया, भियतनाम र क्युवा आदि देशमा भएका राष्ट्रीय मुक्ति आन्दोलन, विस्तारवाद र साम्राज्यवादी आन्दोलनका सफलकथाहरु के के हो के के भन्नु हुन्थ्यो। हाम्रो देश, सामन्ती समाज, पञ्चायती निरंकुश व्यवस्था, प्रजातन्त्र पक्षधरहरुलाई शासकहरुले गर्नेदमन, उत्पिडन, वर्ग संघर्षबाट हुने परिवर्तन, सामन्तवादी युग पछी आउने पूँजीवादी युग, पूँजीवादी युगको संकट, समाज विकास क्रमका सामाजिक वैज्ञानिक शुत्र र पूंजीवादबाट समाजवादमा जाने वेलाको संक्रमणका स्वदेशी र विदेशी कथा तथा समाजवादको विभिन्न देशमा स्थापनाका कथाहरु सुनाउने गर्नुहुन्थ्यो। ती सबै कथाहरु अहिले मेरो स्मृतिमा छैनन्। उहाँ आएको कुरा हामीलाई बोलाए पछी जानाकारी हुन्थ्यो तर कहिले कता जाने भन्ने कुराको जानाकारी पाउने छुट हामीलाई थिएन। उहाँ गाउँमा आउँदा भने केहि नयाँ कुरा सुनिन्छ र सिकिन्छ भनी बाल्यकालका हामीहरु निकै रमाउंथ्यौं।

गाउँमा आउँदा उहाँले वि.सं. २०२८को उत्तरार्धमा, छिमेकी देश भारतको पश्चिम बङ्गालको राज्यको नक्सलवाडीमा कानू सल्यान रचारू मजुमदारको नेतृत्वमा कम्युनिष्ट पार्टीले सशस्त्र विद्रोह गरेको कथा सुनाउनु हुन्थ्यो। त्यसबाट प्रभावित भएर झापाका केहि युवा कम्युनिष्टहरूद्वारा नेपालको झापा जिल्लामा पनि ‘वर्गशत्रु खतम अभियान’ चलाएका थिए रे । यो काण्डमा कम्युनिष्टहरूले सामन्त आरोप लगाएर केही सर्वसाधारण नागरिक हत्या गरे। पछि सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, रत्नकुमार वान्तवालगायत केही नेताहरू मारेको थियो भन्ने कुराहरुको अलावा जनकपुरमा राजा महेन्द्रको गाडीमा दुर्गानन्द झाले बम हानेको, गिरीजाको नेतृत्वमा ओखल ढुंगामा सशस्त्र संघर्ष गर्ने भनी तालिम चलाउँदा यज्ञ बहादुर क्याप्टेनहरु मार्रिनु परेको र नेकाले क्रान्तिका लागि खर्च जुटाउन पैसा बोकेको जहाज अपहरण गरेको जस्ता सुनी राखौं जस्तो लाग्ने रोचक कथाहरु उहाँले हामीलाई राजनैतिक क्लास लिँदा भन्नु हुन्थ्यो।

२०३५ सालमा पाकिस्तानका राष्ट्रपति ज़ुल्फिकार अली भुट्टोलाई फाँसी दिए पछी चलेको विद्यार्थी आन्दोलन अनियन्त्रित भए पछीराजा वीरेन्द्रले जनमत संग्रह घोषणा गरी ‘सुधारिएको पन्चायती व्यवस्था कि बहुदलीय व्यवस्था’ जनताले आफ्नो अभिमत प्रकट गर्नपाउने भन्ने घोषणासंगै हामी र मेरा आदर्श नेता (दाजु) गाउं घरका थुप्रै टोलहरुमा बहुदल र नीलो रंगको प्रचार प्रसारमा हिंडेका थियौं।केहि आमसभाहरुमा दाजु मन्चमा गई सरल भाषामा जनताले वुझ्ने गरी बहुदलको पक्षमा कडा भाषण गर्नुहुन्थ्यो। जनमत संग्रहमा पहेंलो रंग वा पञ्चायतले जिते पछी पनि हामीलाई धैर्य हुन भन्नु हुन्थ्यो। निरंकुश व्यवस्था अन्तर्गत हुने चुनावमा राज्यले सबै प्रकारका राज्य मेसिनरी यन्त्र सन्चालन गर्ने हुनाले निस्पक्ष चुनाव हुन नसक्ने कुरा गर्नु हुन्थ्यो।

यस पछीको समयमा उहां कहिले पार्टीको कठिन काममा लागेको सुनिन्थ्यो, कहिले गिरफ्तारीमा परेको कुरा सुनिन्थ्यो।२०४६/४७को जन आन्दोलनमा पनि उहाँले राम्रो भूमिका निभाएको थाहा पाएको थिए। राजनीति गर्दा गर्दै भएको पैतृक सम्पत्ति पनि सकिएको सुनेको थिए। कम्यूनिस्ट पार्टीलाई विस्तारै सर्वहाराकरण गर्ने सर्कुलर आए पछी उहाँले आफ्नो भागमा पर्ने खेतको टुक्रा बेची पार्टीलाई दिएको हो भन्ने सुनेको थिए । मैले देख्दा गाउँमा उहाँको फुसले छाएको घर र बारी मात्र थियो। त्यसैले होला भाउजुले आफ्ना सन्तानलाई अभावै अभावको वीचमा हुर्काउनु भएको र हाइस्कूल सम्म पढाउनु भएको थियो।

२०४६/४७ को जन आन्दोलनले पार्टी खोल्ने स्वतन्त्रता दियो। २०५२ सालमा सत्ता परिवर्तन गर्ने हेतुले सशस्त्र संघर्ष सुरु भो। दशवर्षको अन्तरालमा थुप्रै मानिसहरुका ज्यान गए, भौतिक संरचनाहरु ध्वस्त भए। राज्य सत्ता डगमगायो, कसैको जीत हारको विषय रहेन।२०६२/६३ मा विशाल जनान्दोलन भयो। यो जन आन्दोलनमा वहांले सफल नेतृत्व दिनु भयो। आन्दोलन सफल भयो। गणतन्त्र आयो।संविधान सभाबाट संविधान बन्यो। दाजु व्राम्हणको कोखबाट जन्मिएकोले उहाँ २४०/५० वर्ष सम्म राज्य सत्ता सन्चालन गरेको वर्गमा पर्नुभो। संविधान सभाबाट बनेको संविधानमा  उहाँ न दलित, न सिमान्तकृत, न अल्प संख्यक मुस्लिम, न पिछडा वर्ग, न महिला, न जनजाति कसैमा पर्नु भएन। वहाँले राजनैतिक शिक्षा दिएका चलाख चेलाहरुले संक्रमण कालमा को को सँग मिली थुप्रै आय आर्जन गर्रेछन् ।उनीहरुले नै पार्टीको उपल्लो तहका शिर्ष नेतृत्वलाई घेरी प्रभावमा पारेछन्।

संविधान सभाबाट बनेको संविधान वमोजिम तीन तहको सरकार बन्ने कुरा आयो तर वहाँले कुनै पनि तहको सरकार गठन गर्ने चुनावमा पार्टीबाट टिकट पाउनु भएन, तिनै धनाढ्यहरु र पार्टीमा नव प्रवेशिहरुले मात्र टिकट पाए। इतिहास निर्मम र रुखो हुँदो रहेछ। वहाँको परिवर्तन प्रतिको अटल विश्वास र जीवन भरको लगानीले कुनै मूल्य पाएन। दाजुले कुनै पनि तहको नीति निर्माण तहमा जाने, आफूले बुझेको समाज विज्ञान तथा जीवन र जगतको वैज्ञानिक सामाजिक नियम लागू गरी कार्यान्वयन गर्ने अवसर कहिल्यै मिलेन। उहाँले सोचे जस्तो न समाज बन्यो, न राजनीति बन्यो, न परिवर्तन भयो, न जनताको जनजीविकाका सवालहरुमा अन्तर आयो, न वर्ग विभेद हट्यो, न विकास निर्माणका काम भए बरु जहिले पनि समाज र देश संक्रमणकालिन अवस्थामा रह्यो। देशमा भ्रष्टाचार झन् बढ्दै गयो। राष्ट्रीयता झन कमजोर हुँदै गयो। स्वतन्त्र र दीगो परराष्ट्र नीति बन्न सकेन।

यसको साथसाथै दाजुको उमेर पनि ढल्कँदै गयो। उमेरमा आफूले सम्पति भनेको केहि होइन भन्ने दृष्टिकोण बनाउँदा भाउजु र छोराछोरीहरुले पनि कहिल्यै मिठो मसिनो खाने र उमेरमा राम्रो ओरापोरी फेर्न पाएनन्। छोरीहरुले विहा गर्दा दुई छाक खान पुग्ने घरको वर पाएनन्। छोराहरुलाई ऋण धन गरी एउटालाई पन्जाव र अर्कोलाई अरवियन देशमा पठाउँदा पनि राम्रो कमाई हुन सकेन। दाजु भाउजुको उमेर ढल्कदै गयो। दाजु भन्दा जुनीयरहरु सत्तामा पुगी आफ्नो समृद्धि हाँसिल गरे तर दाजु भने हाल केहि नबोली एक्लै पिंढिमा बसेको देख्छु। न उहाँको मुहारमा हाँसो देख्छु, न त उहाँले भविष्यको कुनै सपना कोरेको देख्छु। यो अवस्था देख्दा हामीले परिवर्तन त चाह्यौं तरकस्का लागि र के उद्येश्यकालागि संघर्ष गर्यौं र संघर्षका कथा सुन्यौं जस्तो भान हुन्छ। कतै दाजुले हामीलाई सुनाएका कथा दन्त्य कथामात्रै त थिएनन् वा राजनीतिमा निष्ठा र इमान्दारीताको कमि ? मलाइ हिंजो आज यीनै कुराहरुले  बार बार झस्काइरहन्छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्