दुई कविता – Janadesh Daily | ePaper

दुई कविता


दीपेन प्रायोगिक ‘फनीराम योगी’ । क्रमिक विकास र प्रगति ###

हुँदै जानेछ विकास र प्रगति
हुँदै जान्छ विकास र प्रगति
युग अघि बढेको छ
र यो युग अघि बढिरहेको छ
यो युग निरन्तर अघि बढिरहनेछ
यो युग सँगैका हामी हौ साना साना पथिकहरु १

यो मुलुक, यो संसार, यो विश्व जगत् सबै
प्रकृतिको नियममा आधारित छ
योग्यहरुलाई नै जीवन सम्भव छ
प्रकृतिको छनौट पनि हुन्छ त्यहाँ
जे भए पनि हामी बाँच्नु नै छ
हामी कठोर भएनौँ, हामी क्रुर र हिंस्रक भएनौँ
यद्यपि हामी बाँच्नु छ

कठोरताको परिवेश भए पनि कोमलतालाई बचाउँदैस
किनकि कोमलता नै हाम्रो परिचय र आफ्नोपन हो
हजार युद्ध, विभीषिका र त्रासद सिलसिलाहरू पछि
फेरि पनि मान्छे पुग्न चाहनै पर्छ सुखस्वप्नको सुन्दर चैत्यमा
किनकि मान्छेको जात हिंसक र कुर हुनु हुँदैन
मान्छेको जात निष्ठुर र आक्रामक हुनु हुँदैन
मान्छेसँग त चेतनाको उज्ज्वल किरणपुञ्ज हुनुपर्छ
जसले समस्त जनजीवनलाई
संस्कृतिको नवीन उचाइमा लग्न सकोस्
मान्छेको चेतना र विज्ञान जसले मानव सभ्यता र युगलाई
सुख समृद्धि र परिपूर्णता तर्फ लग्न सकोस्
हामी हो यो युगका साना साना पथिकहरु
हामीले यात्रा गर्नुछ जीवनको
यी युगीन समय सँगै
हुँदै जानेछ विकास र प्रगति
समय‌को अबिराम गति जस्तै
हामीले बचाउनुछ आफ्नोपनलाई
हाम्रा सुन्दर विचार र सुकोमल भावनालाईस
मानव जातिको असल पहिचानलाई
सुदूर या समीप भविष्यसम्म
हामीले नै लग्नुपर्छ ।

रक्तरन्जित इतिहास भए पनि विकास र प्रगतिको नयाँ युगमा
मान्छे एक सम्यक् प्राणी हुनुपर्छ ।
हामीले हाम्रो सभ्यता र संस्कृतिलाई
एक युगदेखि अर्को युगसम्म पुर्याउनुछ
हामीले हाम्रो विचार र भावनालाई
युगदेखि युगसम्म हामी सँगै डोर्याउनुछ
हामीले हाम्रो आकाङ्क्षा र चाहनाको फूलवारी बनाउनुछ
हामीले हाम्रो सपना र कामनाको फूलहरु फुलाउनुछ
हुँदै जानेछ सभ्यता र संस्कृतिमा
विकास र विस्तार निरन्तर समयमा
हुँदै जानेछ विचार र भावनामा
क्रान्ति र प्रगति अविछिन्न युगमा ।।

### कविता, मेरी प्रेयसी ###

तिमी एक मात्र होइनौ
तिमी एकमा अनेक छौ
म एक्लै थिएँ जब तिमी मेरो साथम थिइनौ
म एक्लै भएँ जब तिमी मेरो साथमा भइनौ
तिम्रो र मेरो नाता, साइनो या सम्बन्ध
कति पुरानो हो, मलाई त्यति एकिन छैन
मलाई लाग्छ तिम्रो र मेरो सम्बन्ध
त्यतिबेला देखिको हो
जतिबेला यो पृथ्वी धरातलमा माटो र माटोको अस्तित्व थियो पानीको निर्माण भइसकेको थियो
त्यो नदी त्यो पानीको किनारहरू
सतह र गहिराइहरू
म याद गर्दछु त्यो समय
म मौन थिएँ त्यस समुद्र किनारहरुमा
त्यस विशाल जलराशिको छेउमा
उभिएर म हेरिरहेथेँ
त्यहाँ हरियो शान्तिको आगमन भइरहेको थियो
त्यो टन्टलापुर घाममा दावा बहिरहेथ्यो
सागरको बन्दरगाह जस्ता किनारमा
त्यतिबेला एल्गी जस्ता
हरिया बिरुवाको आगमन अथवा उदय भइरहेको थियो
पानीमा जीवहरूको अस्तित्व कायम हुँदै थियो

म सम्झन्छु त्यो जङ्गलको वातावरण
ती हरिया विशाल घना बनजङ्ग‌लहरूको उपस्थिति
नदी थियो त्यहाँ, खोलानालाहरू थिए
घाम चम्किएर लागेकै थियो
म थिएँ खोला अथवा नदीको एउटा किनारमा
नदीको अर्को किनारमा टाढा कतै तिमी थियौ
एक्लै एक्लै र नितान्त एक्लै।

त्यतिबेलादेखि तिम्रो र मेरी सम्बन्ध
एकआपसमा चुम्बकहरु तानिएजस्तै
नजिक नजिक हुँदै गयो
हामी व्याकुल थियौँ एक अर्कालाई भेट्न
हामी विछोडिएका, प्रेमपाशमा परेका
जीवन आत्माहरु जस्तै
एक अर्काको समीपमा पुग्न आतुर थियौँ
क्रमशस् समयक्रममा हाम्रो मीलन भयो
परिस्थितिले, हाम्रो सङ्घर्ष र परिश्रम‌ले
हामी दुई आत्माको सङ्गम र समागम भयो
याद हुन्छ मलाई त्यो समय, क्षण अथवा परिस्थिति
जतिबेला म एक्लै थिएँ र तिमी पनि एक्लै थियौ।

त्यो सरल जीवनदेखि
अहिलेको यो जटिल जीवनसम्म हामी आइपुगेका छौँ
हामी त्यही समयको क्रमिकतामा छौँ
हामी त्यही जीवन‌को क्रमिक यात्रामा छौँ
निरन्तरतामा छौँ हामी
अखण्डतामा छौँ हामी
अबिरल र अविछिन्न यात्रामा रहेका छौँ हामी

समयका कुन कुन अवस्थाहरुमा
मैले देख्थेँ बादलमा प्रतिमा चित्रहरू
सांसारिक वस्तुस्थितिलाई
मैले बादलका बिम्बहरू‌मा देख्ने गर्थेँ
बिहान‌को सूर्योदय
र साँझको सूर्यास्तका क्षणहरु
मेरो जीवन र समयक्रमका साक्षीहरू थिए
तिमी मेरो प्रेयसी म सँग लुकामारी खेल्दै थियौ
खोला किनार र बगरका काँसघारीहरुमा
काफलका बोटहरू र बयरका झाङहरूमा
कोमल, स्निग्ध, जङ्गली बुट्यान, झारपातका मुनाहरू थियौ तिमी फूलबारीको फूल, बौट र पुतलीका नमूनाहरू थियौ तिमी
म तिम्रो सौम्यता, तिम्रो सुन्दरता,
स्निग्धता र स्वच्छता देखि प्रभावित भई
म तिम्रो नम्रता, कोमलता र तिम्रो
बोली व्यवहारहरूमा मुग्ध भई
तिमीलाई हेर्दथेँ र हेरिरहन्थेँ
समयक्रमसँगै तिमी किशोरी भयौ र म पनि भएँ एक नवयुवा।

बाल्यकालीन सौम्यता र मर्यादाको अवस्थाबाट अघि बढेर राजनीति, युद्धनीति आदिलाई अपनाएर
तिमी अनि म, हामीहरू आयौँ
युगीन राजनीतिक सांस्कृतिक सङ्‌क्रमणकालीन अवस्थामा आरोह, अवरोह, उथलपुथल,युद्धको विभीषिका देखि पर हामीलाई आवश्यक रहेछ शान्ति
परिवर्तनका यावत् सिलसिलाहरूमा
हामीलाई आवश्यक रहेछ शान्ति
हामी अशान्त उद्वेलित भयौँ धेरै
हामीलाई हामीलाई अब र फेरिफेरि पनि
शान्ति र सुव्यवस्था चाहिएको छ
शोक, सन्ताप र अभिशापको अवस्थादेखि टाढा
हामीलाई स्वतन्त्र, उन्मुक्त र हराभरा हरियाली
रमणीय वातावरण चाहिएको छ।

कविता मेरो प्रेयसी
मेरो शान्तिप्रियता
मेरो भावनात्मक सहयात्री
जब तिमी मेरो साथमा हुन्छौ
जागृत हुन्छ मेरो आशा र विश्वास
म सँग भएका हरेक चीजले पूर्णता प्राप्त गर्दछन्
पूर्णता प्राप्त गर्दछ मेरो ज्ञान विज्ञानले
पूर्णता प्राप्त गर्दछ मेरो साहित्य कलाले
यस्तै पूर्णता प्राप्त गर्दछ
मेरो प्रगति जीवनका सम्पूर्ण आयामहरूले

मेरो सांसारिक वातावरणमा
मेरो पारिस्थितिक वास्तविकतामा मेरो भूमि र भूगोलमा
अरुलाई दबाउन अर्थात दमन गर्न चाहनेहरू
अरुलाई शोषण गर्न चाहनेहरू
जब यो समाजका हर्ताकर्ता हुन पुग्छन्
निर्दोष प्राणीको ज्यान मासेर आफू मोटाउन चाहनेहरू
अरु प्राणीको भक्षण गरी आफ्नो शरीर बढाउने हरु
जब यो समाजका नियामकहरू हुन्छन्
यो समाजका नीति निर्माताहरू हुन्छन्
अनि कसरी हुन सक्छ यो समाज राम्रो, सुन्दर
कसरी हुन सक्छ शान्ति, विकास, प्रगति र उन्नति१
बलियोले निर्धोलाई दमन गर्ने
अन्याय र विभेदपूर्ण परम्परा
विकृति विसङ्गतियुक्त
सामाजिक चालचलन र व्यवहार
यी सबलाई अन्त्य गर्न चाहन्छु म
समानता र न्यायले पूर्ण समाज र विश्वलाई
स्थापित, विकसित रूपमा हेर्न, देख्न चाहन्छु म ।।

मेरो प्रेयसी र मेरो प्रेमिका
तिमीप्रतिको मेरो प्रेम नदीको बहाव जस्तो
उच्च उदात्त हिमशैल हिमालयको अटल स्वभाव जस्तो
सदाबहार मौसमजस्तो
समानान्तर प्रकारको मेरो प्रेम
शान्त, कञ्चन, सौन्दर्यशाली
अविनाशी अपरिमित अनन्त विशाल
मेरो प्रेम तिमी प्रति
सदा रहिरहन्छ जबसम्म रहन्छ यो धर्ती।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्