फेसबुकमा भोट माग्ने प्रतिस्पर्धाः ८६ लाख ४७ हजार रुपैंया खर्च, मेटालाई कसले कति कति तिरे – Janadesh Daily | ePaper

फेसबुकमा भोट माग्ने प्रतिस्पर्धाः ८६ लाख ४७ हजार रुपैंया खर्च, मेटालाई कसले कति कति तिरे


जनादेश सोसल मिडिया वाच।

सामाजिक सञ्जालमा निश्चित भौगोलिक क्षेत्र, लैंगिक तथा उमेर समूहलगायत लक्षित वर्ग सम्ममा मात्रै सूचना पुग्ने गरी विज्ञापन गरिन्छन् । त्यस्तै खर्च गरिने रकमका आधारमा ‘बुस्ट’ गरिएका ‘पोस्ट’को पहुँच निर्धारण हुन्छ । निर्वाचन आयोगले सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ।

उम्मेदवारहरुले मनोनयनपत्र दर्ता कार्यक्रम सम्पन्न भएसँगै विभिन्न राजनीतिक दल र उम्मेदवारहरूबाट सामाजिक सञ्जालको समेत प्रयोग गरी प्रचारप्रसार र विज्ञापन गर्न थालेका हुन्। मेटाले नेपालमा ७ सेप्टेम्बरबाट पोलिटिकल एड ट्रान्सपरेन्सी टुल सुरु गरेसँगै दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले सामाजिक सञ्जाल फेसबुकलाई प्रचारको माध्यम बनाएका छन्। आयोगले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि आयोगले राजनीतिक दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद निर्धारण गरिसकेको छ। पोलिटिकल एड ट्रन्परेन्सी टुलबाट कुन उम्मेदवार वा दलले कति सामग्रीहहरु कति डलरमा प्रचार गरेका छन् भन्ने हेर्न सकिन्छ।

निर्वाचन आचारसंहिता २०७९ को दफा १६ मा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्चसम्बन्धी पालना गर्नुपर्ने आचरणहरूको व्यवस्था गरिएको छ। उक्त व्यवस्था अनुसार प्रत्यक्षतर्फ प्रतिनिधिसभाको एक उम्मेदवारले २५ देखि ३३ लाख र प्रदेशसभामा १५ देखि २३ लाख खर्च गर्न पाउनेछन्। त्यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्दसूचीमा रहेको एक उम्मेदवारले २ लाख खर्च गर्न पाउनेछन्। बन्दसूचीमा रहेका कुल उम्मेदवारका लागि पार्टीले दुई लाखका दरले खर्च गर्न पाउनेछ।

त्यस्तै प्रदेशसभाको समानुपातिकतर्फ आयोगले बन्दसूचीमा रहेको एक उम्मेदवारले १ लाख ५० हजार खर्च गर्न पाउनेछन्। पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा गरेर जम्मा ५ करोड ५० लाखसम्म खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार सो खर्चभित्र सामाजिक सञ्जालमा गरिएको खर्च पनि समावेश हुनेछ।

कसले कति गरे खर्च
धेरैजसो उम्मेदवारहरूले आफ्ना क्षेत्रकेन्द्रित विज्ञापन गरिरहेका छन् । प्रतिनिधिसभातर्फ काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार श्रीराम गुरुङले पछिल्लो ३० दिन अवधिमा सबैभन्दा बढी तीन हजार एक सय २५ डलर खर्च गरेको मेटाको विवरणमा उल्लेख छ । काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभातर्फका स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठको फेसबुक पोस्ट बुस्ट गर्नका लागि दुई हजार दुई सय ३८ डलर खर्च भइसकेको छ । नेकपा (एमाले)का तर्फबाट काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभाका उम्मेदवार किरण पौडेलले एक हजार तीन सय ५० डलर खर्च गरेका छन् ।

त्यस्तै, डा. सुरेस बस्नेतको फेसबुक अकाउन्ट बुस्ट गर्नका लागि एक हजार आठ सय डलर खर्च भइसकेको देखिन्छ । बस्नेत भोजपुर–१ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन्। ‘विकास पुरुष इस्तियाक राइलाई फेरि जिताऔँ, नेपालगञ्जलाई समृद्ध बनाऔँ’ नामको फेसबुक पेजका पोस्ट बुस्ट गर्न एक हजार दुई सय ६८ डलर खर्च भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार गणेश पराजुलीको फेसबुक पेजमा राखिएका पोस्ट बुस्ट गर्न नौ सय ३७ डलर खर्च भइसकेको मेटाको तथ्याङ्कबाट देखिन्छ । काठमाडौँ क्षेत्र नं ५९२० बाट प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदवार जगन्नाथ लामिछानेको फेसबुक पोस्टबाट भएको विज्ञापनका लागि नौ सय चार डलर खर्च भएको छ ।

फेसबुक पोस्ट बुस्ट गर्नकै लागि भएको खर्चमा त्यस्तै सोमप्रसाद पाण्डे नामको अकाउन्टमा आठ सय ४२ डलर, प्रदीप पौडेल नामको पेजमा सात सय १७ डलर, अनुप बोहराको फेसबुक पोस्टमा छ सय ७८ डलर, रन्जु दर्शना नामको पेजका लागि छ सय ६६ डलर र उपेन्द्र यादव नामको पेजमा छ सय ५२ डलर खर्च भएको छ । ह्वाइ नेपाली कांग्रेस नामको पेजमा पाँच सय ३५ डलर र रवीन्द्र मिश्रको नाममा पाँच सय ३५ डलर खर्च भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा–२ का उम्मेदार पुष्पकमल दाहाल प्रचण्डले ३ वटा प्रचार सामग्रीको लागि ११२ डलर खर्च गरेका छन्। कांग्रेसका शशांक कोइरालाले १०० डलरमा ८ वटा सामग्री प्रवर्द्धन गरेका छन्। कांग्रेसकै विश्वप्रकाश शर्माले १७७ डलरमा ३२ वटा विज्ञापन गरेका छन्। राप्रपा नेपालका कमल थापाले १०० डलरमा चारवटा सामग्री प्रवर्द्धन गरेका छन् । एमालेका अग्नि खरेलले १४९ डलर खर्च गरेर १५ वटा प्रचार सामग्री प्रवर्धन गरेका छन् । त्यस्तै मानुषी यमी भट्टराईले १९ वटा सामग्रीका लागि २९९ डलर खर्च गरेकी छन् ।जसपाका राजेन्द्र श्रेष्ठले ५४ वटा सामग्रीको लागि ७७१ डलर तिरेका छन्। त्यस्तै माओवादी केन्द्रकी पम्फा भुसालले १९ वटा सामग्री प्रवर्द्धनमा १८२ डलर खर्च गरेकी छन्। तथ्यांकअनुसार हालसम्म ५ हजार ५६० वटा प्रचार सामग्रीको लागि ६७ हजार डलर भन्दा बढी खर्च भएको छ।

दल र उम्मेदवारले फेसबुकलाई विज्ञापन गरेको र तिरेको रकम खर्चको विवरणमा समावेश नगरे कारबाही हुने आयोगले जनाएको छ। सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गरे/नगरेकोबारे आयोगको अनुगमन संयन्त्रमा रहेको अभिलेखसँग भिडाई परीक्षण गरिने निर्वाचन आयोगले जनाएको छ। त्यसैले पनि सामाजिक सञ्जालमार्फत हुने विज्ञापनका सबै खर्च विवरणसमेत चुस्तदुरुस्त राख्न सम्बन्धित सबै राजनीतिक दल र उम्मेदवारलाई आयोगले आग्रह गरेको निर्वाचन आयोगका प्रवक्ता पौडेल बताउँछन्।

छिमेकी मुलुक भारतमा अनलाइनबाट विज्ञापन गर्दा अठार प्रतिशत जीएसटी र दुई प्रतिशत टिडिएस लाग्दै आएको छ । बङ्गलादेशमा गुगल फेसबुकजस्ता संस्थाहरू दर्ता भई १५ प्रतिशतले मूल्य अभिवृद्धि कर तिर्दै आएका छन् । बङ्गलादेशमा दर्ता नभई सञ्चालनमा रहेका अनलाइन विज्ञापन बापतको रकम भुक्तानी गर्दा पन्ध्र प्रतिशत भ्याट लाग्ने गरेको छ भने गैर बासिन्दालाई अनलाइन विज्ञापनबापत रकम भुक्तानी गर्दा पन्ध्र थप प्रतिशत टिडिएस लाग्ने व्यवस्था रहेको छ । नेपालबाट गरेको आय रकममा पन्ध्र प्रतिशतका दरले मात्र कर सङ्कलन गर्न सकेमात्र पनि नौ अर्बभन्दा बढी रकम सङ्कलन हुने देखिन्छ । यो कुल रकममध्ये एकदमै न्यून रकम मात्र करबापत यहाँ भुक्तानी भएको देखिन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्