निर्वाचन सुरक्षा : ३० मिनेटमा सेना पुग्ने, मादक पदार्थ बेचबिखनमा रोक – Janadesh Daily | ePaper

निर्वाचन सुरक्षा : ३० मिनेटमा सेना पुग्ने, मादक पदार्थ बेचबिखनमा रोक


काठमाडौँ । गृह मन्त्रालयले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई अनुरोध गरेको छ ।

निर्वाचन सुरक्षाको जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गृह सचिव विनोदप्रकाश सिंहले निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न हुने दाबी गर्नुभयो । उहाँले निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षा निकायबीच प्रभावकारी रूपमा समन्वय भइरहेको र निर्वाचन मर्यादित रूपमा सम्पन्न हुने र ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गर्नुभयो ।

मतदानलाई असर पार्ने, निर्वाचनमा खटिएका कर्मचारी, मतदाता, उम्मेदवार र मतदान सामग्रीको सुरक्षा क्षति हुने र खतरा हुने कुरा सह्य नहुने बताउँदै सचिव सिंहले निर्वाचन बिथोल्ने व्यक्ति समूहलाई कानुनी दायरामा ल्याइने दाबी गर्नुभयो ।

उहाँले निर्वाचन बिथोल्ने कतिपय व्यक्ति तथा समूहलाई नियन्त्रणमा लिएको र निर्वाचनविरोधी गतिविधि गर्नेको गृह मन्त्रालयले सूक्ष्म रूपमा हेरिरहेको बताउनुभयो । निर्वाचनलाई स्वच्छ, मर्यादित र व्यवस्थित बनाउन गृह मन्त्रालयले दुई लाख ९८ हजार ५७९ सुरक्षा जनशक्ति परिचालन गरेको छ ।

तीमध्ये एक लाख १५ हजार म्यादी प्रहरी, ७४ हजार ८४९ नेपाली सेना, ७१ हजार ६९३ नेपाल प्रहरी, ३५ हजार ११६ सशस्त्र प्रहरी बल, नेपाल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी निर्वाचनमा खटिएका छन् ।

३० मिनेटमा सेना पुग्ने

नेपालको कुनै पनि स्थानमा बढीमा ३० मिनेटभित्रमा पुग्ने गरी नेपाली सेनालाई परिचालन गरिएको छ । नेपाली सेनाका हेलिकोप्टर इटहरी, बर्दिबास, पोखरा र सुर्खेतमा तैनाथी अवस्थामा रहेको निजी क्षेत्रका हेलिकोप्टरलाई परिचालन गर्न तयारी हालतमा राखिएको छ ।

निर्वाचनमा साना हतियारको प्रयोग गर्ने र बम राखेर त्रास फैलाउन सक्ने भएकाले नेपाली सेनाले ९०३ स्थानमा बम डिस्पोजल टोलीलाई परिचालन गरेको छ । आवश्यकताअनुसार नेपाली सेनाको काठमाडौँमा रहेको बम डिस्पोजल टोलीसमेत परिचालन हुने सक्नेछ । नेपाली सेनासँग एक हजार ५० वटा बम डिस्पोजल टोली छन् । सुरक्षा निकायबाट निर्वाचन सुरक्षामा खटिने जनशक्तिलाई आवश्यक पर्ने हातहतियार, सञ्चार सेट प्रदान गरिएको छ । निर्वाचनको सूचना सही समयमै लिन नेपाली सेनाले उपलब्ध गराएका ४० थान स्याटेलाइट फोन प्रयोग गरिएको छ । सम्पर्क हुन नसक्ने तथा संवेदनशील ठाउँमा सो फोनको प्रयोग गरिनेछ ।

साना हतियार सङ्कलन

निर्वाचनको समयमा साना हातहतियारको दुरुपयोग गरी सुरक्षामा चुनौती उत्पन्न हुन सक्ने जोखिम भएकाले जिल्ला प्रशासन कार्यालयमार्फत इजाजत प्राप्त वैध १८५४ थान तथा १७१ थान अवैध हतियार सङ्कलन भएको छ ।

घुम्ती टोलीलाई प्रजिअसरह अधिकार

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन सुरक्षा व्यवस्था अनुगमन तथा निर्वाचन कार्यको समन्वय गर्न प्रमुख जिल्ला अधिकारीको अधिकार प्रत्यायोजन गर्ने गरी हरेक प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा राजपत्राङ्कित अधिकृतको नेतृत्वमा घुम्ती टोली बनेको छ । सो घुम्ती टोलीले स्थिर अवधिमा राजनीतिक दल तथा उम्मेदवारले पालना गर्नुपर्ने विषय र आचारसंहिता उल्लङ्घनका विषयको समेत अनुगमन गर्नसक्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सडक, सञ्चार र विद्युत् नरोकिने

निर्वाचनको समयमा सडक, सञ्चार, विद्युत्लगायतका अत्यावश्यक सेवाको आपूर्ति तथा सञ्चालनमा अवरोध नआउन नदिन र आइहालेमा तत्काल सुचारु गर्न सकिने गरी जनशक्ति र उपकरण तयारी हालतमा राख्न सम्बन्धित निकायसँग समन्वय गरेको छ ।

मादक पदार्थ बेचबिखनमा रोक

निर्वाचन प्रचारप्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्म अन्तर्राष्ट्रिय सीमानाका बन्द भएका छन् ।

कुनै पनि सुरक्षा निकायको सवारी साधनमा मतदानपछि मतपेटिका ढुवानी नगरिने गृह मन्त्रालयले जनाएको छ । मतपेटिका ढुवानीका लागि आवश्यक बजेट विनियोजन भएको र प्रमुख जिल्ला अधिकारीले आवश्यक सवारी साधनको व्यवस्थापन मिलाएकाले सुरक्षा निकायको सवारी साधनमा मतपेटिका ढुवानी नगरिने मन्त्रालयले जनाएको छ ।

सवारी साधन नपाउने अवस्थामा सम्बन्धित निर्वाचन अधिकृत र चालकबाहेक अरूलाई सो सवारी साधनमा नराखी ढुवानी गर्न सकिने मन्त्रालयका सचिव सिंहले बताउनुभयो । आसन्न निर्वाचनमा १० हजार ८९२ मतदानस्थल, २२ हजार २२७ मतदान केन्द्र, १४१ अस्थायी मतदान केन्द्र, २ लाख ४६ हजार ९६० कर्मचारी तथा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्