निर्वाचन: राष्ट्रिय स्वतन्त्र पार्टीको उदयको सङ्केत के? – Janadesh Daily | ePaper

निर्वाचन: राष्ट्रिय स्वतन्त्र पार्टीको उदयको सङ्केत के?


निर्वाचनको प्रारम्भिक नतिजाले कांग्रेस र एमाले प्रत्यक्ष र समानुपातिकमा पहिलो वा दोस्रो हुने क्रम जारी रहँदा तेस्रो र चौथोमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी देखिएका छन्।

प्रारम्भिक नतिजाको प्रवृत्तिले खासगरी ठूला र स्थापित दलहरूलाई झस्काएको र आउँदा दिन उनीहरूका लागि निकै चुनौतीपूर्ण हुने देखिएको राजनीतिशास्त्री तथा विश्लेषकहरू बताउँछन्।

त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक पुष्पराज अधिकारी यो चुनावको प्रारम्भिक परिणामले स्थापित भनिएका दलहरूको साख घटेको देखाएको बताउँछन्।

उनका अनुसार ठूला र स्थापित दललाई केवल धक्कामात्रै लागेको होइन ‘पहिरो’ नै गएको छ।

“राजनीतिक दलहरू पनि खाली हिजोका दिनमा अरूलाई दोष लगाउने मात्रै रहेछन् काम नगर्ने रहेछन् भन्ने कुरा आममानिसमा स्थापित भयो, त्यही आक्रोश अहिले मतदानमा देखियो,” उनले भने।

प्रारम्भिक नतिजामा देखिएको रुझान

विगतमा राजनीतिक दलका नेतालाई व्यवस्थामाथि गाली गर्ने छुट भए पनि देश लोकतान्त्रिक गणतन्त्र बनिसकेपछि उनीहरूले जनतालाई गर्दै आएका वाचा पूरा नगरेका कारण मतदाता असन्तुष्ट बनेको उनले बताए।

“२०६२/६३पछि दुर्भाग्य के भयो भने ठूलो सङ्ख्यामा युवा जनशक्ति एकदमै तल्लो किसिमको कामको लागि पलायन भएर विदेश जानुपर्ने अवस्था आयो। यसले गुम्सिएर बसेको जनताको इच्छा, त्यसको प्रतिफलको पटाक्षेपचाहिँ अहिलेको चुनावमा भयो,” उनले भने।

केही महिनाअघि मात्रै गठन भएको र थोरै गृहकार्यबाट आएको राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा केवल दलप्रतिको मात्रै नभइ युवा उम्मेदवारप्रतिको आकर्षण पनि रहेको विश्लेषकहरू बताउँछन्।

प्रत्यक्ष र समानुपातिक दुवैतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीको उदय नै यो चुनावको सबैभन्दा ठूलो पक्ष रहेको सेतोपाटी अनलाइन पत्रिकाका प्रधानसम्पादक अमित ढकाल बताउँछन्।

“जनतामा ठूला पार्टीले राम्ररी काम गरेनन्, नेतृत्व बदलिएन, पुरानै नेतृत्व कायम भयो, पारदर्शिता कायम भएन भन्ने दिक्दारी देखिएका हुन्,” उनले भने।

अबको चुनावमा ठूला दललाई अझै चुनौती

यसअघिको स्थानीय तहको चुनावमा काठमाण्डू महानगरपालिका र धरान तथा धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको जितले स्थापित दलहरूलाई झस्काएको थियो। तर ती दलहरूले स्वतन्त्रले जिते पनि दल नै चाहिन्छ भन्ने धारणा राखेको ढकाल ठान्छन्।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टी दलका रूपमा आइसकेपछि र त्यसमा युवा मतदाताको रुझान देखिएकाले आगामी दिनमा ठूला दललाई अझै चुनौती हुने प्रधानसम्पादक ढकाल ठान्छन्।

“अब दल नै आइसकेपछि हिजो त्यो सचेत जनताले गराएका थिए अब त्यो झन् प्रखर भएको छ। सहरी र राजमार्ग वरिपरिका क्षेत्रमा रुझान देखिएको छ – स्थापित र पुराना दलहरूलाई यसपालि ठूलै चुनौती हुने दीर्घकालीन हिसाबले देखिएको छ,” ढकालले बताए।

प्राध्यापक अधिकारी पनि स्वतन्त्र पार्टीले ल्याएको मतलाई केवल ठूला दलप्रतिको वितृष्णाका रूपमा मात्रै लिन नहुने बताउँछन्।

यसपटक मतदाताले नयाँ आएको पार्टीलाई मात्रै भन्दा पनि उम्मेदवार हेरेर मत खसाल्ने प्रवृत्ति देखिएको पनि उनले बताए।

“रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको आधार बलियो नभए पनि यसले वा यसले जम्मा गरेका युवाले केही गर्लान् भनेर उहाँको पार्टीलाई मत दिएको देखिन्छ,” उनले भने।

युवा मतदाता जो परिवर्तन चाहन्छन् उनीहरूको ठूलो सङ्ख्या विदेशमा भएको भएर पार्टीबाट आउने पुराना नेतालाई यसपालिको चुनावसम्म सहज भइदियो।

“मूलधारका पार्टीहरूले ३० देखि ३२ प्रतिशतसम्म मतहरू गुमाउन सक्छन् तर यसको प्रतिबिम्ब अर्को चुनावमा निकै कडा रूपले देखिन्छ,” उनले भने।

दलहरूले विचार वा सिद्धान्त नै नमिल्नेसँग चुनावी तालमेल गर्नुले पनि जनतामा नैराश्यता बढाएको र त्यसको प्रभाव मतमा देखिएको उनी ठान्छन्।

यसले दलहरूका लागि आउँदो चुनाव अझै चुनौतीपूर्ण हुने देखिएको उनी बताउँछन्।

बिबिसी नेपालीबाट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्