विराटनगरको आईसीपीसम्म कार्गो रेल ल्याउने तयारी – Janadesh Daily | ePaper

विराटनगरको आईसीपीसम्म कार्गो रेल ल्याउने तयारी


विराटनगर । भारतको सीमावर्ती रेल स्टेसन बथनाहाबाट विराटनगर बुधनगरको आईसीपीको कस्टम यार्डसम्म आगामी पुस महिनाको दोस्रो हप्तासम्ममा कार्गे रेल ल्याउने पहल बढेको छ ।

कोलकाता बन्दरगाहबाट विराटनगर–१८, बुधनगरस्थित आईसीपीसम्म डिसेम्बर १५ (मङ्सिर अन्तिम)सम्ममा कार्गो रेल ल्याउने प्रक्रिया अगाडि बढाइएको हो । भारतको रेल विभागले आईसीपीसम्म काम सम्पन्न भएको क्षेत्रमा कार्गोरेल ल्याउने सङ्केत दिन बुधबार स्थलगत निरीक्षण गरेका छन् । भारतीय रेलवे विभागअन्तर्गत एनएफ रेलवे, कटिहार मण्डलका कर्नल एसके चौधरीसहितको टोली रेल कस्टम यार्डमा आएर फर्केको हो ।

रेलवे विभागअन्तर्गत बथनाहा–कटहरी रेलवेका साइड इन्जिनियर रोशनकुमार देवले भारतीय रेलवे विभागका अधिकारीहरू अन्तिम तयारीमा जुटिरहेको जानकारी दिनुभयो ।

उहाँले नेपाल कस्टम यार्डको तयारीका लागि आवश्यक पर्ने सामान लिएर आउने जाने कामका लागि उनीहरूले रेल लिएरै आउने गरेको बताउनुभयो । भारतीय रेलवे अधिकारीले आफ्नो प्रयोजनका लागि रेल लिएर आउने विषय जानकारीमा नभए पनि आगामी डेढ महिनाको अवधिमा कार्गो रेल सञ्चालनको प्रक्रियामा रहेको इन्जिनियर देवले जानकारी दिनुभयो ।

आईसीपीको नेपाल कस्टम यार्डसम्म कार्गो रेल ल्याउन आवश्यक पूर्वाधार तयारी गर्ने विषयसमेत अगाडि बढाइएको छ । “हेन्डओभरको कुरा चलिरहेको छ, त्यसका लागि आवश्यक तयारीमा दुवैतर्फको टिम लागेको छ,” देवले भन्नुभयो ।

भारतीय रेलवे विभागले कस्टम यार्डसम्म काम सम्पन्न भएको पत्र पठाइसकेको छ । रेल विभाग नेपाल र भारतको इर्कोनले सुझावसहितको अन्तिम परीक्षण प्रतिवेदन पठाएको र सुझावका आधारमा त्यसको अन्तिम प्रक्रियासमेत भारतीय रेलवे विभागले गरिसकेको इन्जिनियर देवले जानकारी दिनुभयो ।

इन्जिनियर देवका अनुसार भारत सरकारले नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रेलवे हस्तान्तरण गर्नेछ ।

त्यसपछि यसको सञ्चालन प्रक्रिया अगाडि बढ्नेछ । त्यसका लागि आईसीपीसँग ‘लिङ्कअप वे’ निर्माणको कामसमेत अगाडि बढाइसकिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत नेपाल इन्टरमोडल यातायात विकास समितिले कस्टम यार्ड र आईसीपीबीचको ‘लिङ्कअप वे’ को टेन्डर आह्वान गरिसकेको छ ।

विराटनगरका उद्योगी व्यवसायीले आईसीपीसम्म परीक्षण गरिसकिएको रेल मार्ग प्रयोगमा चाँडो ल्याउन सके त्यसको फाइदा नेपाललाई हुने बताउँदै आएका छन् ।

रेलवे मार्गमा नेपाली कस्टम यार्ड आईसीपीसँगै नभएका कारण नेपाली पक्षले रेलको कन्टेनर यार्ड र पहुँच मार्ग निर्माणको काम सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसका लागि अहिले भइरहेको दुई सय मिटर सडकको स्तरोन्नति गरिनेछ ।

भारत सरकारले भारतको सीमावर्ती रेलवे स्टेसन बथनाहाबाट मोरङको कटहरी गाउँपालिकासम्म १८ दशमलव ७ किलोमिटर रेल मार्ग बनाइदिने सहमतिअनुसार काम भइरहेको छ । कटहरी गाउँपालिकामा मुआब्जा विवादले भारत सरकारलाई नेपालले जमिन हस्तान्तरण गर्न नसक्दा अन्तिम स्टेसनमा काम रोकिएको छ ।

बथनाहादेखि आईसीपीसम्मको ७ दशमलव ६ किलोमिटर रेल मार्ग भने सञ्चालनयोग्य छ । विराटनगरको आईसीपीदेखि थप १० किलोमिटरमा समेत काम धमाधम भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्