एमालेबाट प्रधानमन्त्रीकै अफर आएमा के गर्लान् प्रचण्डः ओलीलाई विश्वास गर्न सक्ने कि नसक्ने ! – Janadesh Daily | ePaper

एमालेबाट प्रधानमन्त्रीकै अफर आएमा के गर्लान् प्रचण्डः ओलीलाई विश्वास गर्न सक्ने कि नसक्ने !


जनादेश वाच।
प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा केही क्षेत्रबाहेक सबैको आइसकेको छ । निर्वाचन परिणामअनुसार प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल कांग्रेस बन्ने निश्चित छ । केही सिट कम जितेको एमाले दोस्रो र माओवादी तेस्रो शक्ति बनेको छ । निर्वाचनको अन्तिम परिणाम आउन बाँकी छँदै प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख नेताहरूले नयाँ सरकार बनाउनेबारे छलफल सुरु गरेका छन् ।

एमाले दोस्रो ठूलो दल बन्ने निश्चित भएपछि शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बधाई दिँदै अब मिलेर जाऔँ भन्ने प्रस्ताव गरिसकेका छन् । एमाले अध्यक्ष ओलीले प्रचण्डलाई मिलेर अघि बढ्ने प्रस्ताव गरेसँगै फेरि एमाले र माओवादी केन्द्र मिलेर सरकार बनाउने त होइनन् भन्ने चर्चा पनि सुरु भएको छ । ओली र प्रचण्डबीच नेकपा विभाजनपछि फोन संवाद नै भएको थिएन ।

एमाले अहिलेको सत्ता गठबन्धनलाई जसरी भए पनि तोड्ने रणनीतिमा छ । त्यसैले पनि एमाले अध्यक्ष ओलीले प्रचण्डलाई फकाउने रणनीति लिएका हुन सक्छन् । कांग्रेसलाई सरकार बनाउनबाट रोकेर कम्युनिष्ट पार्टीलाई फेरि एक ठाउँमा ल्याउने कसरत ओलीले थालेका हुन् । ओलीसँग भएको टेलिफोन सम्वादबाट तर्सिएका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि माओवादी अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाएर सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल गरेका छन् । देउवाले प्रचण्डपछि सोमबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि बालुवाटारमै छुट्टै छलफल गरेका छन् । माधव नेपाल अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमै छन् । कोटेश्वरस्थित आफ्नै निवासमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटमा पनि नेपालले सत्ता गठबन्धनलाई कायमै राख्ने पक्षमा आफू रहेको बताएका थिए ।

एमालेभित्र दबाब- प्रचण्डलाई प्रधानमन्त्री दिऊँ
एमालेलाई ‘साइज’ मा राख्ने सत्ता गठबन्धनको रणनीति असफल भएको छ । पाँचदलीय सत्ता गठबन्धनलाई चुनौती दिँदै एमाले बलियो दोस्रो पार्टी बन्न सफल भयो । एमाले दोस्रो दल बने पनि उसका प्रभावशाली शीर्ष नेताहरू भने अधिकांश पराजित भएका छन् । त्यसैले पनि पहिलो दल बनेको कांग्रेसलाई सरकार बनाउनबाट रोक्ने रणनीतिमा एमाले अध्यक्ष ओली छन् । आफ्नै नेतृत्वमा सरकार बनाउने बहुमत एमालेसँग नभएकाले उसले माओवादी केन्द्रको साथ खोजेको छ । एमालेभित्र माओवादीसँग मिल्नुपर्छ भन्ने ठूलो संख्या छ । ओलीले संसद विघटन नगरेको भए सायद नेकपा विभाजन हुँदैन थियो । नेकपा सग्लो रहेको भए बहुमत आउथ्यो भन्ने बुझाइ एमाले नेताहरूमा छ ।

नेकपा विभाजन हुनुहुँदैन थियो भन्ने ठूलो हिस्सा एमालेभित्र छ । तर, उनीहरूले त्यतिबेला बाध्य भएर ओलीलाई साथ दिएका थिए । अहिले पनि एमालेको त्यही समूह पुन: माओवादी केन्द्रसँग मिल्न सकिन्छ भने मिल्नुपर्छ भन्ने बहसमा लागेको एमालेका एक केन्द्रीय सदस्यले बताए । ‘सूक्ष्म रूपमा एमालेमा माओवादीसँग मिल्ने अवस्था बनेमा मिल्नुपर्छ भन्ने बहस र छलफल सुरु भएको छ । तर, धेरै मूर्त रूपमा होइन । प्रचण्डलाई प्रधानमन्त्री बनाएर भए पनि गठबन्धन तोड्ने र नयाँ गठबन्धन बनाउन एमालेले त्याग गर्नुपर्छ भन्नेछ,’ ती केन्द्रीय सदस्यले भने ।

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएपछि निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका देवप्रसाद गुरुङले बधाई दिँदै कम्युनिष्ट एकताका लागि पहल गर्न पनि सुझाव दिएका थिए । पृथ्वीसुब्बा पनि एमालेभित्र माओवादीमा मिल्नुपर्छ भन्ने लाइनमा रहेका नेतामा पर्छन् । हारिसकेपछि महासचिव शंकर पोखरेल पनि माओवादीसँग मिल्नुपर्छ भन्ने लाइनमा आएको उनीनिकट एमाले नेता बताउँछन् । एमालेको दोस्रो पुस्ताका धेरै नेताहरूले चुनाव हारेका छन् । उनीहरू अहिले ओलीले गलत नगरेको भए आफूहरू चुनाव जित्ने बुझाइमा छन् ।

माओवादी केन्द्रका केही नेताहरू अहिले एमालेसँग मिल्नुपर्छ भन्ने बहस गर्न थालेका छन् । तर, त्यो आवाज प्रचण्डका अगाडि मधुरो हुन्छ । माओवादीमा प्रचण्डले गर्ने निर्णय नै अन्तिम हुन्छ । त्यही भएर पनि माओवादीमा एमालेसँग मिल्नुपर्छ भन्ने नेताहरूको मत छ । तर, कसैले मुख खोल्न सकेका छैनन्, महासचिव गुरुङबाहेकले ।

प्रचण्डले तत्काल एमालेसँग मिल्ने चाहना नराखेको उनीनिकट नेताहरू बताउँछन् । स्रोतका अनुसार प्रचण्ड कांग्रेसले पहिला आफूलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने सोचमा रहेको र त्यसका लागि देउवासँग नै कुरा अगाडि बढाउने तयारीमा छन् । देउवालाई प्रधानमन्त्री बनाउन सहयोग मात्र होइन, प्रमुख भूमिका खेलेकाले देउवाले पनि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रचण्डको भनाइ रहेको उनीनिकट माओवादी नेता बताउँछन् । कांग्रेसले माओवादीलाई प्रधानमन्त्री नदिए सोच्न सकिने तर प्रचण्डले एमालेको विश्वास भने नगरेको माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले बताए । ती स्थायी कमिटी सदस्यका अनुसार एमालेले दुई पटक प्रधानमन्त्री बनाउने विषयमा धोका दिइसकेकाले प्रचण्ड तत्काल एमालेसँग मिल्न चाहेका छैनन् ।

ओली अर्थात् धोका
संविधान जारी भएपछि माओवादीको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओेली प्रधानमन्त्री बनेका थिए । त्यो समयमा एमाले माओवादी ९-९ महिना सरकार सञ्चालन गर्ने भद्र सहमति भएको थियो । तर, ओलीले प्रचण्डलाई प्रधानमन्त्री छोड्न मानेनन् । त्यसपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेसको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बने । पूर्वसहमतिअनुसार ९ महिनापछि प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री छोडे ।

भद्र सहमतिअनुसार प्रधानमन्त्री नछोडेपछि प्रचण्डले ओलीबाट पहिलो धोका पाए । कांग्रेस सभापति शेरबहादुर देउवालाई ९ महिनामै प्रधानमन्त्री छोडेर सहमति कार्यान्वयन गरेका प्रचण्डले २०७४ सालको चुनावमा सरकारमा छँदै एमालेसँग गठबन्धन गरेर चुनावमा गएका थिए । चुनावपछि प्रचण्डले माओवादी केन्द्र र एमालेबीच पार्टी नै एकता गराए । एकतापछि नेकपा बन्नुअघि नै प्रचण्ड र ओलीले आधा-आधा कार्यकाल प्रधानमन्त्री हुने गरी पाँचबुँदे गोप्य सहमति गरेका थिए । जुन सहमति पछि मात्रै सार्वजनिक भएको थियो ।

तर, ओलीले साढे २ वर्ष पुगेपछि पनि बखेडा झिकेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन मानेनन् । पाँच वर्ष नै प्रधानमन्त्री चलाउन भन्दा पनि ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मा दिएनन् । माओवादी नेताहरू अहिले पनि ओलीले पहिला प्रधानमन्त्री बनाए पनि पछि धोका दिनसक्ने भन्दै एमालेसँग मिल्नुहुन्न भन्ने धारणा राख्छन् । दुई पटक पूर्वसहमति कार्यान्यवन नगरेर ओलीले धोका दिएकाले प्रचण्ड तेस्रो धोका खाने पक्षमा छैनन् । बरु, कांग्रेससँग मिलेर प्रधानमन्त्री हुने र साढे दुई वर्षपछि कांग्रेसलाई छोड्ने गरी अघि बढ्न प्रचण्ड चाहन्छन् । एमालेले पाँच वर्ष नै प्रधानमन्त्री हुने प्रस्ताव गरे पनि एमालेसँग मिलेर सरकार बनाउन प्रचण्ड इच्छुक नरहेको उनीनिकट एक नेताले बताए ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्