प्रचण्ड-माधवको प्लानः बाबुरामसहित तत्काल माओवादी-समाजवादी एकता, घनश्याम महासचिव – Janadesh Daily | ePaper

प्रचण्ड-माधवको प्लानः बाबुरामसहित तत्काल माओवादी-समाजवादी एकता, घनश्याम महासचिव


जनादेश वाच।
३१ साउनको स्थायी कमिटी बैठकबाट माओवादी केन्द्रले निर्णय गर्‍यो- एकीकृत समाजवादीसँग एकताका लागि संयोजन समिति बनाउने । त्यस दिनको स्थायी कमिटी बैठकले अरु दुई निर्णय पनि गरेको थियो- एक, बाबुराम भट्टराईलाई माओवादीको चुनाव चिह्न दिने सहमतिलाई मान्यता दिने । दोस्रो, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई पनि माओवादीको चुनाव चिह्न दिने ।

बैठकपछि प्रचण्डले माधव नेपालसँग एकता संयोजन समिति बनाउने बताएका थिए । त्यतिबेला प्रचण्डले एकीकृत समाजवादीले पनि एकताका लागि एकता संयोजन समिति बनाउने बताएका थिए । प्रचण्डले भनेको भोलिपल्ट १ भदौ दिउँसो एकीकृत समाजवादीको सचिवालय बैठक बस्यो । उक्त बैठकले गरेका तीन वटा निर्णयमध्ये तेस्रो निर्णय थियो– माओवादी केन्द्रसँग एकता संयोजन समिति निर्माण गर्न छलफल अगाडि बढाउने ।

समाजवादीले गत भदौमै प्रतिनिधि सभा र प्रदेश सभा चुनावलगत्तै नेकपा माओवादी केन्द्रसँग एकता गर्ने तयारी गरेको थियो। १ भदौमा बसेको एकीकृत समाजवादीको सचिवालयको बैठकले माओवादीसँग एकताको प्रस्ताव पारित गरेको थियो। ४ मंसिरको चुनावका लागि साझा घोषणा पत्र बनाउने समाजवादीको निर्णयमा माओवादी केन्द्रले पनि सहमति गरेको थियो। माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मस्यौदा समितिको संयोजक बनाइएका थिए। तर, सो समितिले पूर्णता पाएन, उनीहरु आआफ्नो घोषणा पत्र लिएर चुनावमा होमिए।

गठबन्धन बनाए पनि चुनावी नतिजा यी दलहरुले सोचेजस्तो आएन। गठबन्धनको एउटा घटक कांग्रेस पहिलो दल बन्दा माओवादी केन्द्र तेस्रो र एकीकृत समाजवादी सातौँ स्थानमा छन्। समाजवादीले थ्रेस होल्ड कटाउन कठिन त छ नै सत्ता गठबन्धनका दलहरुको बहुमत पुग्ने सम्भावना पनि निकै कम देखिन्छ। ठीक यही अवस्थामा एकीकृत समाजवादीले चुनावी समीक्षा, पार्टीको भावी रणनीति र कार्यक्रम तय गर्न मंगलबार (१३ मंसिर) सचिवालय बैठक बोलाएको छ। भदौमै माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरिसकेको एकीकृत समाजवादीले यही बैठकबाट त्यसबारे निर्णय गर्न सक्ने नेताहरु बताउँछन्।

सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच लामो छलफल भएको छ। हात्तीवनस्थित प्रचण्डका नातेदारको घरमा दुई अध्यक्षबीचको लामो छलफलमा आगामी सत्ता समीकरण, पार्टीको भविष्य, स्वतन्त्र र राप्रपा लगायतका दलहरुको उदय र कांग्रेसको एउटा पक्षबाट भएको ‘धोका’ लगायतका विषयमा विश्लेषण भएको थियो। सोमबार नै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका प्रचण्ड र नेपालले त्यसपछि छुट्टै छलफल गरेका हुन्।

प्रधानमन्त्री देउवाले नयाँ सरकार गठनको लागि बहुमत जुटाउने गृहकार्य गरिरहेका छन्। गठबन्धनका दलहरु कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सरकार बनाउन केही सिट अपुग हुनसक्छ। किनभने समानुपातिकतर्फ एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’ कटाउने सम्भावना न्यून हुँदै गएको छ। प्रधानमन्त्री देउवा यही गठबन्धन कायम राखेर नयाँ सरकार बनाउन आवश्यक बहुमत पुर्याउने कसरतमै छन्।

माओवादी-समाजवादी एकता, घनश्याम भुसाल महासचिव

माओवादी र समाजवादीबीच छिट्टै एकताको सम्भावना रहेको स्रोत बताउँछन्। प्रचण्डलाई घनश्याम भुसाललाई पार्टी महासचिव बन्ने प्रस्ताव गरिसकेको र बाबुरामसहितको पार्टी बनाउने तयारी भैरहेको स्रोतको भनाई छ। चुनावका क्रममा घनश्यामले माओवादीहरूलाई मंसिर चारमा ब्यालेट क्रान्ति गर्न आह्वान गरेका थिए। पार्टीभित्र छलफल नचलेको भएर एकताको विषयमा नेताहरु खुल्न खोज्दैनन्। एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चुनाव, सरकार गठनको प्रयास लगायत विषयमा प्रष्ट छलफल भएपछि मात्रै यसबारे भन्न सकिने बताए। ‘अहिले हामीले पाएको पोजिसन, मतपरिणाम, राष्ट्रिय पार्टी बन्छ कि बन्दैन, त्यसपछि मात्र आगामी रणनीतिमाथि छलफल हुन्छ,’ खनालले भने।

सोमबार माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ। राष्ट्रिय पार्टी नबनेको अवस्थामा आफ्नो शक्ति कमजोर हुने नेपालले विश्लेषण गरेका छन्। २३ फागुन २०७८ मा सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भंग गरिदिएपछि एमाले र माओवादी केन्द्र अस्तित्वमा आएका थिए। माधव नेपाल लगायतका नेता एमालेमा भए पनि प्रधानमन्त्री केपी ओलीको संसद् विघटनविरुद्ध थिए। अलग–अलग दलको अस्तित्वमा रहे पनि माधव नेपाल समूह ओलीविरुद्ध माओवादी केन्द्र, कांग्रेसलगायत दलसँगै उभियो। ओलीले दोस्रो पटक संसद् विघटन गरेपछि एमाले विभाजनको आधार बनायो। २८ असार २०७८ मा सर्वाेच्च अदालतले दोस्रो पटक पनि संसद पुनस्र्थापना गरेर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दियो। देउवा प्रधानमन्त्री भएको एक हप्तामै एमालेबाट माधव नेपाल लगायतका नेताहरुले विद्रोह गरे र नेकपा एकीकृत समाजवादी बनाए। त्यसयताको राजनीतिक कोर्समा माओवादी केन्द्र र एकीकृत समाजवादी एउटै कित्तामा छन्। यी दलहरु सत्तामा र चुनावी गठबन्धनमा छन्। स्थानीय चुनावमा गठबन्धन बनाएका उनीहरुले प्रतिनिधि सभा र प्रदेश सभा चुनाव पनि मिलेर लडे।

चुनावको परिणामले पनि यी दुई दल मिल्ने सम्भावना रहेको नेताहरु बताउँछन्। सरकार निर्माणको यही दौडधुप र जोडघटाउले दुई पार्टीबीच एकता गराउन सक्ने एकथरी नेताहरुको भनाइ छ। तर, समाजवादीका सबै नेता एकताको पक्षमा उभिने सम्भावना कम छ। घनश्याम भुसालले पनि आफ्नो पोजिसन क्लियर गरेका छैनन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्