प्रधानमन्त्रीमा माओवादीको सम्भावना कतिः माधवलाई साथ लिएर कमाण्ड सम्हाल्ने प्रचण्डको प्लान – Janadesh Daily | ePaper

प्रधानमन्त्रीमा माओवादीको सम्भावना कतिः माधवलाई साथ लिएर कमाण्ड सम्हाल्ने प्रचण्डको प्लान


जनादेश वाच।

निर्वाचनको पूरै मतपरिणाम आइसकेको छैन । विवादका कारण बाजुरा, दोलखा र स्याङ्जा २ को मतगणना नै सुरु हुन सकेको छैन । तर, दलहरू भने नयाँ सरकार गठनको कसरतमा जुटिसकेका छन् । यही निर्वाचनबाट ठूलो दलका रूपमा आएको नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले) ले आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास थालेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनका घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चा (राजमो) का अध्यक्ष चित्रबहादुर केसीलगायतसँग एकसरो संवाद गरिसकेका छन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘ठूलो दल भएपछि स्वाभाविकरूपमा सरकार गठनको कसरत हुने नै भयो । त्यसमा सभापतिजीले गठबन्धनका नेतासँग संवाद गरिसक्नुभएको छ । विषय अहिल्यै टुङ्गोमा पुग्ने कुरा भएन ।’ निर्वाचन परिणाम हेर्दा गठबन्धनको पक्षमा बहुमत पुग्ने देखिएको छ । संविधानअनुसार सरकार गठन गर्न बहुमत अर्थात् १३८ जना सांसद चाहिन्छ । गठबन्धनमा रहेका दलले अहिलेसम्म प्राप्त गरेका प्रत्यक्ष र समानुपातिकतर्फको सिट हेर्दा त्यो आँकडा पुग्ने देखिन्छ ।

अहिलेसम्म कांग्रेसले प्रत्यक्षतर्फ ५३ सिट जितेको छ भने उसले समानुपातिकतर्फबाट ३५ सांसद पाउने देखिन्छ । मतपरिणाम सार्वजनिक हुन बाँकी २ क्षेत्रमा पनि उसको अग्रता कायमै छ । गणना नभएकामा पनि कांग्रेसले जित्न सक्ने सम्भावना छ । माओवादी केन्द्रले प्रत्यक्षमा १७ सिट जितेको छ भने समानुपातिकतर्फबाट १४/१५ सांसद पाउने देखिन्छ । प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादी ‘थ्रेसहोल्ड’ कटाउन प्रयासरत छ । लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले प्रत्यक्षतर्फ क्रमशः ४ र १ सिट जितेका छन् । कांग्रेस प्रवक्ता डा. महत ठूलो दल भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताउँछन् । ‘जनताले दिएको म्यान्डेड पनि कांग्रेसलाई नै हो,’ उनले भने, ‘यसअनुसार अब अगाडि बढ्नुपर्छ ।’

यता एमालेले पनि आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास सुरु गरेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेल भन्छन्, ‘एमालेले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने र देशको नेतृत्व गर्नेगरी तयारी गर्नेछ ।’ अहिलेसम्म एमालेले प्रत्यक्षतर्फ ४२ सिट जितेको छ भने समानुपातिकतर्फबाट उसले ३७ सिट पाउन सक्नेछ । यसो हुँदा एमालेसँग ७९ जना सांसद हुनेछन् । उसलाई सरकार गठन गर्न अझै ५९ सिट आवश्यक पर्छ ।

मधेश प्रदेश तथा अन्य केही विशेष निर्वाचन क्षेत्रमा एमालेले जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गरेको छ । जसपा र राप्रपासँग समानुपातिकतर्फबाट पाउने सिटसमेत जोड्दा २८ को हाराहारी सांसद हुन सक्छन् । जसपा र राप्रपाले प्रत्यक्षतर्फ क्रमशः ८ र ७ सिट जितेका छन् भने उनीहरूले समानुपातिकतर्फबाट ५ र ८ सिट पाउने सम्भावना छ । यसरी हेर्दा एमालेले सरकारका लागि अन्य दलको समेत समर्थन जुटाउनुपर्ने देखिन्छ । यदि राष्ट्रिय स्वतन्त्र पार्टी एमाले नेतृत्वको गठबन्धनमा सामेल भयो भने पनि बहुमत पुग्नेछैन । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा १३/१४ सांसद पाउने सम्भावना छ । यसो हँदा उसँग २० भन्दा बढि सांसद हुनेछन् ।

यति हुँदा पनि एमालेलाई सरकार बनाउन सत्ता गठबन्धनकारी दल माओवादी वा एकीकृत समाजवादीलाई आफूतिर तान्नु पर्नेछ । त्यसैले सत्ता गठबन्धन नभत्किएसम्म एमालेलाई आफ्नो नेतृत्वमा सरकार बनाउन सम्भव छैन । अर्कातिर स्वतन्त्र पार्टीले सरकार जाने निर्णय लिइसकेको छैन । त्यसका सभापति रवि लामिछानेले भने, ‘यसबारे अहिले हामी अनिर्णित छौँ । पछि निर्णय लिन्छौँ ।’

प्रचण्ड प्रधानमन्त्री बन्नुपर्छः माओवादी
माओवादी केन्द्रले पनि आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएको छ । महासचिव देवप्रसाद गुरुङले जनादेशलाई भने, ‘जसको नीति, उसकै नेतृत्व त हामीले पहिल्यैदेखि नै भन्दै आएका हौँ । यसो हुँदा त नेतृत्व गर्नुपर्ने माओवादी केन्द्रले नै हो ।’

निर्वाचनअगाडि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जहाँ पुगेपनि सबैले ‘अबको प्रधानमन्त्री तपाईं नै हो’ भनेर भन्ने गरेको सुनाउने गर्थे । यसपछि उनले पत्रकारहरूको प्रश्नको जवाफमा भनेका थिए, ‘त्यस्तै अवस्था भयो भने प्रधानमन्त्री बन्छु ।’ यसैलाई स्मरण गर्दै गुरुङले भने, ‘जनताको माग पनि उही छ ।’

उपमहासचिव वर्षमान पुन भने सरकारको नेतृत्वबारे गठबन्धनमा पछि छलफल हुने बताउँछन् । ‘ अहिलेकै गठबन्धनलाई नै निरन्तरता दिने भनेका छौँ,’ उनले भने, ‘अब त्यसो नभएको खण्डमा के गर्ने भन्ने हामी छलफल गर्छौँ । गठबन्धनमा बसेर चुनावी समीक्षा गर्ने नै छौँ । त्यसपछि नै सरकारको नेतृत्वबारे छलफल होला ।’

तर उनले आगामी सरकारको नेतृत्वमा माओवादीले दाबी गर्ने पनि बताए । पुनले भने. ‘तर, तपाईंले जसरी माओवादीले पनि सरकारको नेतृत्वमा दाबी गर्छ ? भनेर सोध्नुभयो, त्यसमा त होइन भन्न मिल्दैन । किनकी, यो देशमा ठूलो परिवर्तन गरेर आएको एउटा पार्टीले पुनः देशलाई सुधार्छु, जनताहरूको पक्षमा काम गर्छु भन्दैगर्दा सँगै उसले नेतृत्व पनि पाउनुपर्छ भनेको हो ।’ यद्यपि आफूहरूले देशलाई घात पुग्नेगरी दाबी वा अति नगर्ने उनको भनाइ छ ।

समाजवादीलाई साथमा लिने प्रचण्डको प्लान
माओवादी केन्द्रले एकीकृत समाजवादीसँग पार्टी एकता सम्वाद थालेको छ । सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एकता प्रक्रियाबारे नै सम्वाद भएको नेताहरुले बताएका छन् ।

स्रोतका अनुसार, सम्वादका क्रममा दुवै नेता पूर्वसहमति अनुसार, एकता प्रक्रिया अघि बढाउन सकारात्मक छन् । लगत्तै एकीकृत समाजवादीको पार्टी बैठक समेत बसेको छ । तर अन्तिम परिणाम आउन बाँकी रहेकाले कुनै ठोस् निर्णय नभएको नेताहरुले बताएका छन् । ‘चुनावी परिणाम आइसकेको छैन । अझै १५ गते मतदान बाँकी छ’ एकीकृत समाजवादीका महासचिव डा.बेदुराम भुसाल भन्छन्, ‘अनि बल्ल पावर शेयरिङको छलफल हुन्छ ।’

अन्तिम परिणाम आउन बाँकी रहँदै सुरु भएको यी दुई पार्टीको एकता सम्वाद भने सरकार गठन र शक्ति बाँडफाँडसँग जोडिएको छ । त्यसको पहल प्रचण्ड आफैंले थालेका छन् । किनकि सरकार गठनको निर्णायक शक्ति बन्ने प्रचण्डको चाहना चुनावी नतिजाबाट पूरा हुन सकेन । चुनाव अगाडि प्रचण्डले माओवादी केन्द्र तेस्रो, तर निर्णायक शक्ति बन्ने दाबी गरेका थिए । चुनावबाट रवि लामिछाने, राजेन्द्र लिङदेन, सिके राउत र रेसम चौधरीको पार्टीले अप्रत्यासित मत ल्याउँदा माओवादी केन्द्र एक्लो निर्णायक शक्ति बन्न सकेन ।

प्रचण्ड एकीकृत समाजवादीसँग एकता गरेर भएपनि सरकार निर्माणको चाँबी आफ्नो हातमा राख्नेतिर लागेका छन् । चुनावी नतिजाले नै माओवादी र एकीकृत समाजवादी एक ठाउँमा उभिदा सरकार गठनको विकल्प साँघुरिने देखाउँछ । यी दुई पार्टी एकता भएर बाहिर बस्ने निर्णय गरेमा कांग्रेस र एमाले मिलेर मात्रै सरकार बन्ने विकल्प बाँकी रहन्छ । तर माओवादी र एकीकृत समाजवादीलाई साथमा लिंदा फेरि पनि कांग्रेस नेतृत्वको गठबन्धनबाटै सरकार बन्नसक्ने सम्भावना बाँकी छ ।

अहिलेको गठबन्धनलाई निरन्तरता दिने चाहना माधव र प्रचण्डको मात्रै नभएर प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवामा पनि छ । स्रोतका अनुसर, गठबन्धनलाई निरन्तरता दिनेबारे देउवा, प्रचण्ड र नेपाल बीच निरन्तर समेत समेत भइरहेको छ । सोमबार पनि माधवलाई सँगै प्रचण्डले देउवासँग पनि भेटवार्ता गरेका थिए । तर नेताहरुका अनुसार भागबण्डाबारे भने शीर्ष नेताहरुबीच खुलेर छलफल भएको छैन । प्रचण्ड आलोपालो प्रधानमन्त्रीको सहमति गर्ने र आफू पहिले सरकारको प्रमुख बन्ने चाहनामा छन् ।

तर कांग्रेसभित्र देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र गगन थापा आकांक्षी छन् । देउवालाई सहमत गराउँदा पनि आफू पहिला प्रधानमन्त्री बन्न सहज नदेखेपछि प्रचण्डले दाबेदारी बढाउन माधवसँग एकतामा जोड दिएको एकीकृत समाजवादीका एक नेताको बुझाइ छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्