युक्रेन युद्धमा रुसको रणनीति सफल हुने संकेतः ऊर्जा संकट र महंगीको मारले युरोपमा विभाजन – Janadesh Daily | ePaper

युक्रेन युद्धमा रुसको रणनीति सफल हुने संकेतः ऊर्जा संकट र महंगीको मारले युरोपमा विभाजन


जनादेश अन्तर्राष्ट्रिय वाच।

रुस–युक्रेन द्वन्द्व लम्बिँदै जाँदा पश्चिमाहरूबीच आफैं चिरा पर्न लागेको देखिन्छ । आन्ध्र महासागरको वारि र पारि रहेका देशबीच विग्रहका संकेतहरू पाइन थालेका छन् । पोलिटिको पत्रिकाले बिहीवार (नोभेम्बर २४) मा प्रकाशित गरेको सामग्रीको पहिलो अनुच्छेदमै लेखिएको छ ः ‘युक्रेनमाथि आक्रमण गरेको नौ महिनापछि भ्लादिमिर पुटिन पश्चिमलाई टुक्य्राउन सफल भएका छन् ।’

बारबरा मोएन्स, जेकब हान्के भेला र जाकोपो बारिगाजीको बाइलाइनमा प्रकाशित समाचारमा उल्लेख गरिएअनुसार, युरोपका उच्च अधिकारीहरू जो बाइडन प्रशासनसँग आक्रोशित छन् । उनीहरू अमेरिकाले युद्धबाट टन्न पैसा कमाएको अनि युरोपेली संघका सदस्यहरूले चाहिँ समस्या बेहोर्नुपरेकोमा क्षुब्ध छन् ।

हुन पनि अमेरिकाले युरोपको रणनीतिक स्वायत्तता अन्त्य गर्ने उद्देश्यका साथ युक्रेन युद्ध भड्काएको हो । युरोपलाई रुससँग सस्तो मूल्यमा तेल र ग्यास किनेर स्वायत्त हुन दिँदा ऊ बहुध्रुवीय विश्वको एक सशक्त ध्रुव बन्न सक्ने र अमेरिकालाई नटेर्ने भएकाले त्यसो हुन नदिन अमेरिकाले प्रयास गरेको हो ।

सस्तो रुसी ग्यासको साटो आफ्नो महंगो एलएनजी ग्यास युरोपलाई किन्न बाध्य पार्ने अमेरिकाको कुटिल नीतिलाई बल्ल आएर युरोपेलीहरूले बुझ्न थालेको देखिन्छ । अनि त्यसमाथि युक्रेन युद्धको बहानामा निरन्तर हतियार बेचेर आफ्नो हतियार उद्योगलाई अकूत नाफा कमाउने अवसर पनि बाइडन प्रशासनले दिलाएकोमा युरोपेलीहरू असन्तुष्ट बनेको पोलिटिकोको रिपोर्टले स्पष्ट पार्छ ।

हुन पनि युक्रेन युद्धका कारण ऊर्जाको मूल्य ह्वात्तै बढेपछि युरोपका लागि यो जाडो याम कष्टकर हुने पक्का छ । तेलको मूल्य युक्रेनमाथि रुसको आक्रमणभन्दा अघिकै स्तरमा पुगेको भए पनि प्राकृतिक ग्यासको मूल्य अझै पनि निकै चर्को छ ।

एक वर्षअघिको तुलनामा अहिले युरोपेलीहरूले प्रतिमेगावाट घन्टामा १०० डलरभन्दा बढी महसुल बुझाउनुपर्ने भएको बिजनेस इन्साइडर पत्रिका लेख्छ । ऊर्जाको मूल्य बढेसँगै विभिन्न युरोपेली मुलुकहरूले जनतालाई ऊर्जाको कम खपत गर्न निर्देशन दिइरहेका छन् । जर्मनीको देर स्पीगल पत्रिकाले सांसदहरू संसद् भवनमा पर्याप्त न्यानो नपाएर रुघाखोकीका कारण बिरामी परिरहेको खबर दिएको छ । ऊर्जा भएको मूल्यवृद्धिले युरोपेली उद्योगहरूमा पनि नकारात्मक असर परिरहेको छ । यसले गर्दा युरोपको अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्ने आकलन युरोपेली आयोगले गरेको छ ।

युरोपेली उद्योग महासंघ युरोमेटाउले युरोपेली संघका नेताहरूलाई खुलापत्र लेख्दै बढ्दो ऊर्जा संकटका कारण उद्योग जगतमा अस्तित्वगत जोखिम आइलागेको चेतावनी दिएको छ । उसले युरोपेली संघका सदस्य राष्ट्रहरूलाई विद्युतीय ऊर्जाबाट चल्ने उद्योगको संरक्षण गर्न तथा कामदारहरूलाई स्थायी रूपमा बेरोजगार बनाउनबाट रोक्नका लागि कदम चाल्न समेत आह्वान गरेको छ ।

समस्या चर्किंदै गएपछि अमेरिकाले युरोपलाई महंगो मूल्यमा ग्यास बेच्ने काम अमैत्रीपूर्ण भएको फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले प्रतिक्रिया दिएका छन् । तर युरोपेलीहरूमा अमेरिकासँग गुनासो मात्र गर्ने हुती छ, आफ्नो अनुकूल निर्णय गराउन उनीहरू असमर्थ छन् । झन् त्यसमाथि अमेरिकाले चीनविरुद्ध शुरू गरेको शीतयुद्धमा अमेरिकाको बफादार बन्दै उनीहरू चीनसँग कठोर रवैया अपनाउन उद्यत छन् । त्यसले पनि उनीहरूको अर्थतन्त्र अधोगतितर्फ लैजान योगदान गरिरहेको छ ।

चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सका अनुसार, चीनको उदयले युरोपेलीहरूमा एक किसिमको चिन्ता र डर उत्पन्न गराएको छ । अमेरिकाले चीनलाई रोक्ने नीति अपनाइरहेकोमा युरोपेलीहरूको यो डर त्यसमा सहायक बनिरहेको चाइनिज एकेडमी अफ सोसल सायन्सेसका रिसर्च फेलो चाओ जुन्काई बताउँछन् । चीनलाई युरोपमा आर्थिक गतिविधि गर्नबाट रोक्नका लागि एन्टी कोएर्सन इन्स्ट्रुमेन्ट तथा युरोपेली कम्पनी किन्न नदिने नियमहरू ल्याउँदा उल्टो युरोपेली अर्थतन्त्रमा नै क्षति पुग्ने चाओको तर्क छ ।

उता, युरोपेलीहरूलाई अमेरिकाले रौंबराबर ठान्दैन भन्ने कुराको प्रमाण बाइडन प्रशासनले ल्याएको एक कानूनले प्रस्तुत गरेको छ । बाइडन प्रशासनले मूल्यवृद्धि न्यूनीकरण ऐन ल्याएर स्वच्छ ऊर्जाका लागि ७३९ अर्ब डलर खर्च गर्ने प्रस्ताव ल्याएपछि युरोपेली अधिकारीहरू क्रुद्ध बनेको पोलिटिको लेख्छ । बाइडनको यस कदमले अमेरिकामा ऊर्जा उत्पादकहरूलाई सहुलियत दिलाउनेछ । त्यस अवस्थामा युरोपेली ऊर्जा उत्पादक कम्पनीहरू समेत अमेरिका जानेछन् । अनि उत्पादन क्षेत्रमा युरोपेलीहरूले अमेरिका तथा बाँकी विश्वसँग प्रतिस्पर्धा नै गर्न सक्ने छैनन् ।

ऊर्जाको महंगो मूल्य तिर्नुपरेपछि युरोपेली उत्पादकहरू वस्तुको मूल्य पनि बढाउन बाध्य हुनेछन् । त्यस्तो अवस्थामा युरोपेली ग्राहकहरूले सस्तो ऊर्जा मूल्य रहेका देशका उत्पादनहरू किन्न थाल्नेछन् । यसरी युरोपेली उत्पादकहरू बजारमा प्रतिस्पर्धा गर्न नसकेर पलायन हुने अवस्था आउनेछ । अमेरिकाको यस्तो अर्घेल्याइँपछि युरोपेली संघका एक कूटनीतिकर्मीले पोलिटिकोसँग कुरा गर्ने क्रममा ठाडो प्रश्न गरे, ‘अमेरिका हाम्रो साझेदार हो कि हैन ?’ अमेरिका कहिल्यै कसैको साझेदार हैन, ऊ स्वार्थकेन्द्रित सम्बन्ध मात्र कायम गर्छ भन्ने कटुसत्य यी कूटनीतिकर्मीले निकै ढिलो गरी बुझेका छन् ।

अमेरिकाको लहलहैमा लागेर रुसमाथि कठोर आर्थिक प्रतिबन्ध लगाउँदा त्यसको प्रतिकूल असर आफैंलाई परिरहेको कुरालाई युरोपेली नेताहरूले अब आएर बुझ्न थालेको देखिन्छ । तर उनीहरू अमेरिकालाई चिढ्याउने कुनै पनि काम गर्न सक्दैनन् । युरोपमा सबभन्दा बलियो अर्थतन्त्र जर्मनीको हो किनकि उसले उत्पादनलाई केन्द्रमा राखेको छ । आफ्नो उत्पादनमुखी अर्थतन्त्रलाई चलायमान राख्न जर्मनीले रुससँग सस्तो मूल्यमा नर्डस्ट्रीम पाइपलाइनमार्फत ग्यास किन्न खोजेको थियो ।

तर युक्रेन युद्ध शुरू भएपछि जर्मनीले उक्त पाइपलाइनमा ग्यास नलिने भनेको छ । जर्मनीले उक्त पाइपलाइनबाट भविष्यमा पनि ग्यास नलेओस् भन्ने उद्देश्यले पाइपलाइनमा बम विस्फोट समेत गराइएको छ । स्थिति बिग्रँदै गएर जर्मन अर्थतन्त्र सुस्त भएमा युरोपका शक्तिशाली अर्थतन्त्र (युरोजोन) मन्दी अर्थात् रिसेसनमा जाने खतरा छ । त्यस्तो स्थितिमा युरोपेलीहरूको जीवन अहिलेको भन्दा बढी कष्टकर हुनेछ ।

रुससँगको चिसो सम्बन्ध कायम रहेकाले युरोपले थप केही वर्ष ऊर्जाको अभाव बेहोर्नुपर्ने कटु यथार्थ हो । ऊर्जाको अभाव भएपछि मूल्य बढ्नु स्वाभाविक हुन्छ । तर सर्वसाधारणले तिर्नै नसक्ने गरी मूल्य बढेमा उनीहरूको आक्रोश विस्फोट हुन सक्छ । त्यसलाई रोक्नका लागि युरोेपेली सरकारहरूले ऊर्जा मूल्यमा सहुलियत दिनुपर्ने हुन्छ । तर त्यसरी सहुलियत दिनका लागि युरोपेलीहरूले पैसा कहाँबाट ल्याउने हो भन्ने प्रश्न पनि ज्वलन्त छ ।

उद्योग नष्ट भएर निर्यात ठप्प भएमा युरोपलाई अर्थतन्त्र चलाउन नै धौधौ पर्ने स्थिति आउनेछ । त्यसो त युरोपको केन्द्रीय बैंकले मूल्यवृद्धि रोक्नका लागि मौद्रिक नीतिलाई थप कसिलो बनाउने घोषणा गरेकाले सर्वसाधारणलाई सहुलियत दिने सम्भावना समेत टरेको जस्तो देखिन्छ । युरोप यसरी समस्यामा घेरिँदा अमेरिकाले चाहिँ अकूत नाफा कमाइरहेको छ । त्यसले गर्दा अमेरिकाप्रति युरोपेलीहरूको धारणामा क्रमशः परिवर्तन आउन थालेको एक युरोपेली अधिकारीले पोलिटिको पत्रिकालाई बताएका छन् ।

आगामी साताहरूमा अमेरिकाप्रतिको रोष युरोपभरि थप फैलिने सम्भावना छ । त्यस्तो अवस्थामा युरोपेली जनताले युक्रेन युद्धलाई गरिरहेको समर्थन फिर्ता लिन आफ्ना सरकारलाई दबाब दिन सक्नेछन् । रुसीहरूले आक्रमण चर्काइरहेको बेलामा युक्रेनलाई पहिलेको भन्दा बढी सैन्य सहायता तथा आर्थिक सहयोग आवश्यक पर्नेछ तर आफैं आर्थिक संकटमा पर्न थालेका युरोपेलीहरूले त्यस्तो सहयोग गर्न सक्ने छैनन् । अनि अमेरिका स्वयंलाई पनि युक्रेनमा हतियार आपूर्ति गरिरहन गाह्रो पर्नेछ । युक्रेनलाई दिएको हतियार चाँडोचाँडो नष्ट भइरहेकाले तत्कालै उत्पादन गरेर पठाउन अमेरिकालाई हम्मे परिरहेको छ ।

त्यसैले ऊ अन्य मुलुकसँग रहेका अतिरिक्त र थोत्राथात्री भए पनि हतियार मागेर युक्रेन पठाइरहेको छ । यस्तै अवस्थामा कतिञ्जेलसम्म उसले युद्ध लम्ब्याउन सक्ने हो भन्ने प्रश्न पनि उठाउन सकिन्छ । तर आफ्नो सबभन्दा ठूलो उद्देश्य पूरा नहुन्जेल अमेरिकाले युद्ध लम्ब्याउनका लागि योगदान गरिरहने पक्का छ । त्यो उद्देश्य भनेको युरोपलाई उद्योगविहीन (डिइन्डस्ट्रियलाइज) गरी त्यहाँका उद्योग आफूकहाँ भित्र्याउने र आफ्नो अर्थतन्त्रलाई बलियो बनाउने हो ।

विश्वव्यापीकरणका कारण अमेरिकी उद्योगहरू चीनतर्फ पलायन गरेकाले उत्पादन क्षेत्रमा अमेरिका कमजोर परेको थियो । अब युरोपलाई रित्याएर अमेरिकाले त्यसको क्षतिपूर्ति गर्न खोजिरहेको छ । अमेरिकी प्रभुत्वलाई कायम गराउने क्रममा युरोपेलीहरू लगातार आत्मघाती कदम चालिरहेका छन् । युरोपेली संसद्का लागि फ्रान्सेली सांसद मारी–पिएर भेद्रेनले एउटा विन्दुमा गएर दह्रो अडान लिनुपर्ने हुन्छ भनी पोलिटिको पत्रिकालाई बताएको भए पनि अमेरिकासँग युरोपेलीहरूले जोरी खोज्ने अपेक्षा गर्न सकिन्न ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्