विश्वकपमा रोमाञ्चक मोडः बेल्जियमको गोल्डेन जेनेरेसन असफल, जापान नकआउटमा अटायो – Janadesh Daily | ePaper

विश्वकपमा रोमाञ्चक मोडः बेल्जियमको गोल्डेन जेनेरेसन असफल, जापान नकआउटमा अटायो


जनादेश वाच।
अफ्रिकी राष्ट्र मोरक्को र क्रोएसिया कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समुह चरणको अन्तिम खेलमा क्यानडालाई पराजित गर्दै मोरक्को समूह विजेता र बेल्जियमलाई गोलरहित बराबरीमा रोक्दै क्रोएसिया समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । समुह विजेता बन्ने क्रममा मोरक्कोले दुई खेलमा जित र एक खेल बराबरी खेलेको थियो । मोरोक्कोले तीन खेलबाट ७ अंक जोडेको थियो । समूहको दोस्रो स्थानमा रहेको क्रोएसियाले समान खेलबाट ५ अंक हात पार्‍यो। तेस्रो स्थानको बेल्जियमले ४ अंक जोड्दा क्यानडा भने अंकविहीन बनेको थियो। मोरोक्को र क्रोएसिया नकआउट चरणमा प्रबेश गर्दै गर्दा बेल्जियम र क्यानडा भने समुह चरणबाट बाहिरिएका छन् ।

बिहिबार राती भएको समुह चरणको अन्तिम खेलमा मोरक्को २-१ ले बिजयी बनेको थियो । मोरक्कोका लागि हाकिम जिएच र यसुफ एन नेसरीले १-१ गोल गरे । क्यानडाले आत्मघाती गोल पाएको थियो । मोरक्कोले खेलको चौथो मिनेटमा नै अग्रता लिएको थियो । क्यानडाका गोलरक्षक मिलान बोर्जानले पेनाल्टी क्षेत्र बाहिर आएर क्लियर गरेको बल हाकिम जिएचले पाएपछि कुनै गल्ती गरेनन् । जिएचले झन्डै २५ यार्ड टाढाबाट सिधै गोल गरेका थिए । समुह बिजेता मोरक्कोले सन् १९८६ पछि पहिलोपटक विश्वकपको नकआउट चरणमा प्रवेश गर्दै नयाँ इतिहास पनि रचेको छ। समूह विजेता बनेसँगै मोरक्को २१ औं शताब्दीमा विश्वकपको समूह विजेता बन्ने पहिलो अफ्रिकी टोलीसमेत बनेको छ ।

१९९८ को विश्वकपयता कुनै पनि अफ्रिकी टोली समूह विजेता बन्न सकेका थिएनन्। सन् १९९८ को विश्पकपमा नाइजेरिया समूह डीको विजेताको हैसियतमा माथिल्लो चरणमा पुगेको थियो । त्यसयता कुनै अफ्रिकी राष्ट्र विजेता बन्न सकेको थिएन । उता क्रोएसियाले बेल्जियमलाई गोलरहित बराबरीमा रोकेपछि क्रोएसिया समूह उपविजेता बनेको हो
खेलको दोस्रो हाफमा बेल्जियमले गोल गर्ने अवसर पटक पटक खेर फालेपछि क्रोएसिया माथिल्लो चरण प्रबेश पायो । दोस्रो हाफमा बेल्जियमले रोमेलु लुकाकुलाई मैदानमा उतार्यो । ६२ अ‍ौं मिनेटमा लुकाकुले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार पोस्टमा लागेको थियो । उनले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार पोस्टको भित्री भागमा लाग्दै थ्रो इनका लागि बाहिरिएको थियो । लुकाकुले अर्को अवसरको पनि सदुपयोग गर्न सकेनन् । यसपटक डे ब्रुएनको क्रसमा गोलरक्षक बिट भएपनि उनले हेडरलाई पोस्टको दिशा दिन सकेनन् । ८५ अ‍ौं मिनेटमा थोमस मुनिएरकै पासमा लुकाकुको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो । ९० अ‍ौं मिनेटमा लुकाकु गोललाइन नजिकबाट गोल गर्न चुक्दा बेल्जियम नकआउट चरणमा पुग्न बन्चित भएको थियो ।

जापानले बनायो नकआउटमा स्थान
समुह ई बाट जापान र स्पेन नकआउट चरण प्रवेश गरेको छ । एसियाली राष्ट्र जापानले पूर्व विश्वकप विजेता स्पेनलाई पराजित गर्दै फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई को विजेता बन्दै नकआउट चरण प्रवेश गरेको हो । त्यस्तै समुह चरणको अन्तिम खेलमा जापान सग पराजित भए पनि स्पेन उप बिजेता बन्दै नकआउट चरण प्रवेश गरेको छ । सन् १९९८ बाट विश्वकपमा सहभागिता जनाउन थालेको जापान चौथो पटक नकआउट चरणमा पुगेको हो। यो अघि सन् १९९८, २००६ र २०१४ मा भने समुह चरणबाटै बाहिरिएको थियो । जापानले उपाधि दाबेदार समेत रहेको र विश्वकप जितिसकेका स्पेन र जर्मनी दुबै देशलाई समुह चरणमा पराजित गरेर यसपटक समुह बिजेता बनेर नकआउट चरण पुगेको हो ।


उता, बिहिबार नै समुह चरणको अन्तिम खेलमा कोस्टारिकालाई पराजित गरेर जित निकाले पनि जर्मनी भने समुह चरण बाट बाहिरिएको छ । बिहिबारको अन्तिम समुह चरणको खेलमा स्पेन लाई पराजित गर्दै दोस्रो हाफमा जापानले सानदार पुनरागमन गर्दै २-१ को जित दर्ता गर्न सफल भएको थियो ।पहिलो हाफमा एकपक्षीय देखिएको खेल दोस्रो हाफमा भने फेरियो । स्पेनले पहिलो हाफमा बल पोसेसनमा अत्याधिक पकड जमाउँदै आक्रमक खेलेको थियो । पहिले हाफको ११ औं मिनेटमा गोल गरेर स्पेनले अग्रता लिएपनि स्पेनले पाएको थप अवसर सदुपयोग गर्न सकेन ।

त्यसको असर दोस्रो हाफमा देखियो । जापानले सुरुवाती समयमा नै लगातार गोल गर्दै स्पेनमाथि अग्रता लियो । जापानले त्यसपछि अग्रता जोगाउँदै स्पेनलाई स्तब्ध पार्यो ।यस नतिजासँगै जापान ६ अंकसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको हो । स्पेन ४ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । जर्मनीले समुह चरणको अन्तिम खेलमा कोस्टारिकालाई पराजित गरेर ४ अंक जोडेपनि गोल अन्तरमा स्पेनभन्दा पछि रहयो । स्पेनको गोल अन्तर +६ तथा जर्मनी +१ मा रहयो । कोस्टारिका ३ अंकका साथ चौथो हुँदै बाहिरियो । जर्मनीले कोस्टारिकालाई ४-२ को जित दर्ता गर्न सफल रहयो । तर जितका बाबजुद जर्मनी समूह चरणबाट बाहिरियो । चार पटकको विश्व विजेता जर्मनी समूहचरणबाटै बाहिरिएको छ । जर्मनी २०१४ को विश्वकप च्याम्पियन हो। त्यसपछि लगातार समूह चरणबाटै बाहिरिएको हो।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्