बहुमत नआएपछि अल्मलिएको सरकारको गणितः दुबैतिरबाट प्रचण्ड नै बन्नसक्छन् प्रधानमन्त्री – Janadesh Daily | ePaper

बहुमत नआएपछि अल्मलिएको सरकारको गणितः दुबैतिरबाट प्रचण्ड नै बन्नसक्छन् प्रधानमन्त्री


जनादेश वाच।
मंसिर चारको चुनावी परिणाम करिव करिव आइसके पनि सरकारको नेतृत्व कसले गर्छ भन्नेमा निष्कर्ष निक्लिनै बाँकी छ । प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, सरकारका महत्वपूर्ण मन्त्रीसहित मुख्यमन्त्री र प्रदेश प्रमुखको बाँडफाँट नमिली कसले सरकारको नेतृत्व गर्छ यसै भन्न नसकिने अवस्था छ।

बिहीबार माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले प्याकेजमै डिलका लागि स्पष्ट प्रस्ताव ल्याउन आग्रह गरेका छन् । खड्काले सरकार गठनका लागि छलफल अगाडि बढेको खुलाए । ‘अब समग्र चुनावी समीक्षा गर्दै सरकार गठनका लागि अघि बढ्ने हो, अरु इफ् बट लगाएर बस्ने कुरा छैन,’ उनले भने, ‘हिजो र आज जति पनि भेटघाट भएका छन्, सरकार निर्माणकै लागि अग्रसर छन् ।’ उनले कुनै सहमति भइनसकेको भन्दै थप स्पष्ट आकार पाइसकेपछि मात्रै जानकारी दिने बताए ।

कांग्रेसभित्र महामन्त्री गगन थापा, नेता शेखर कोइरालासमेतले प्रधानमन्त्रीका लागि दाबी गर्दै गरेको अवस्थामा माओवादी अध्यक्ष प्रचण्ड सबैको विकल्प बन्न सक्छन्। कांग्रेसभित्रको आन्तरिक गणितले देउवालाई साथ दिइरहेका बेला उनलाई दोहोर्‍याएर कांग्रेसको राष्ट्रिय उर्जा थप कमजोर बनाउन नहुने आवाज बुलन्द बन्दै गएको छ । तर त्यसको साझा नेतृत्व कसले गर्छ भन्नेमा एकमत बनिसकेको छैन ।

कांग्रेसभित्रको एउटा पक्ष देउवालाई दोहोर्‍याउनुको साटो नयाँ विकल्पमा जाने, त्यसका लागि पार्टीमा एक मत नबने प्रचण्डका लागि ठाउँ खाली गरिदिने मत राखिरहेको छ । ‘शान्ति प्रक्रिया, खासगरी संक्रमणकालीन न्यायको विषय देउवा र प्रचण्ड दुवैका लागि टाउको दुखाइको विषय भएकाले राष्ट्रपति पदमा अभूतपूर्व निर्णय समेत गर्न सकिन्छ,’ कांग्रेसका एक नेताले भने, ‘त्यस्तो अवस्था आयो भने देउवा नै राष्ट्रपति बन्नुहुन्छ, नत्र हामी बाबुरामजीको नाममा सहमति जुटाएर अघि बढ्न सक्छौं ।’

एमालेबाट पनि विकल्प प्रचण्ड नै
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनअघि आफ्नो पार्टीले प्रत्यक्षतर्फ १०० सिट जित्ने बताएका थिए । समानुपातिकतर्फ पनि ४५ सिटसम्म जित्ने दाबी गरेका ओलीले अहिले गणनामा धाँधली हुनसक्ने भन्दै कार्यकर्तालाई सचेत गराइरहेका छन् । उनले आफ्नो नेतृत्वमा सरकार बन्ने र अहिले सत्ताको नेतृत्व गरिहेको नेपाली कांग्रेस प्रतिपक्षमा पुग्ने बताएका थिए । तर मत परिणामले उनको दाबीलाई गलत साबित गरिदियो । एमालेले प्रत्यक्षतर्फ अहिलेसम्म ४४ सिट मात्र जितेको छ । समानुपातिकमा अहिलेसम्मको गणनालाई आधार मान्दा एमालेले २६ प्रतिशतको वरिपरि मत आउने देखिन्छ । यही ट्रेन्ड कायम रहे एमालेले समानुपातिकमा ३४ सिट मात्र पाउने अवस्था छ । समग्रमा एमालेले प्रत्यक्षमा ४४, समानुपातिकमा ३४ र समानुपातिक सिट बाँडफाँटमा थ्रेस होल्ड काटन नसकेका दलहरूको मतबाट थप हुने सिटले उसको भागमा ८० सिट हुन सक्छ । त्यसैले ओलीले गरेको दाबीअनुरूप सरकार बन्ने अवस्था निर्वाचन परिणामले दिएको छैन ।

निर्वाचनको अन्तिम परिणाम आइनसक्दै एमाले र माओवादीबीच सहकार्यको प्रयास सुरु भएको छ । स्रोतका अनुसार एमालेका दोस्रो तहका नेताहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । उनीहरूले पहिलो चरणमा प्रधानमन्त्री बन्न र पुरानो पार्टी एकताका सम्भावनाबारे छलफल गर्न पनि आग्रह गरेका छन् । तर, उनीहरूबीच सहमति भइसकेको छैन । एमालेका तर्फबाट दोस्रो तहका नेताहरूको टिमले प्रचण्डसँगै दोस्रो तहका नेताहरूसँग पनि संवाद जारी राखेका छन् । एमाले उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल तथा उपमहासचिव विष्णु रिमालले वार्ताको काम अघि बढाएका छन् । त्यसमा स्वतन्त्र सांसदहरूको टिमले पनि साथि दिने आश्वासन दिएको स्रोतले जनाएको छ ।

कांग्रेसका ती नेताका अनुसार देउवाले प्रचण्डसँग गरेको ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ अनुसार अबको प्रधानमन्त्री प्रचण्ड बन्ने छन् । त्यो सहमति कार्यान्वयन नभए प्रचण्डले विकल्प खोज्न सक्ने ती नेताको भनाइ छ । उनले देउवाले नै प्रधानमन्त्रीमा निरन्तरता खोजे सत्ता गठबन्धनको निरन्तरतामा प्रश्न उठ्ने बताए । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य राजनीति सिधा रेखामा नहिँड्ने भन्दै देउवा र ओलीबाहेकको नेतृत्व पनि बन्न सक्ने बताउँछन् । उनी अहिले देखिएका खेलाडीमा प्रचण्डको नेतृत्व आउन पनि सक्ने भन्दै संसद्को आकारले नदेखिएका र कल्पना नगरिएको व्यक्ति प्रधानमन्त्री बन्न सक्ने बताउँछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्