विश्वकप फुटबलः मेस्सीको गोलसँगै अर्जेन्टिनाको क्वार्टरफाइनलमा, अबको भिडन्त नेदरल्याण्डसँग – Janadesh Daily | ePaper

विश्वकप फुटबलः मेस्सीको गोलसँगै अर्जेन्टिनाको क्वार्टरफाइनलमा, अबको भिडन्त नेदरल्याण्डसँग


जनादेश स्पोर्ट्स वाच।

अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियालाई २–१ गोलले पराजित गर्दै अर्जेन्टिना क्वार्टरफाइनलमा पुगेको हो । कतारको अहमद विन अली रंगशालामा भएको प्रिक्वार्टरफाइनलमा अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले गोल गरे । अस्ट्रेलियाले एक गोल भने उपहार स्वरुप पाएको थियो ।

खेलको ३५औँ मिनेटमा गोल गर्दै कप्तान मेस्सीले अस्ट्रेलियाविरुद्ध अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए । कप्तान मेस्सीकै गोलमा अर्जेन्टिनाले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो ।

खेलको ५७औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । खेलको ७७औँ मिनेटमा अर्जेन्टिनाका इन्जो फर्नान्डेजले आत्मघाती गोल गर्न पुगे । अस्ट्रेलियाका क्राइग गोड्विनले प्रहार गरेको बल रोक्ने हुँदा आफ्नै पोष्टमा गोल गर्न पुगे । योसँगै अर्जेन्टिनाविरुद्ध अस्ट्रेलियाले २–१ को अवस्थामा पुर्‍याएको थियो । तर बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि अर्जेन्टिनाले अस्ट्रेलियालाई पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

अब सेमिफाइनल प्रवेशको लागि अर्जेन्टिनाले नेदरल्यान्ड्ससँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

नेदरल्यान्ड्स प्रिक्वार्टरफाइनलमा अमेरिकालाई ३–१ गोलले पराजित गर्दै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको नेदरल्यान्ड्सले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुग्यो । नेदरल्यान्ड्सको जितमा मेम्फिस डेपेय, डेले ब्लाइन्ड र डेन्जिल डुम्फ्रिजले गोल गरे । अमेरिकाका हाजी राइटले एक गोल फर्काए । कतारको खालिफा अन्तर्राष्ट्रिय रंगशालामा १०औँ मिनेटमा नै मेम्फिसले गोल गर्दै नेदरल्यान्ड्सलाई १–० को अग्रता दिलाएका थिए । उनले डेन्जिल डुम्फ्रिजको क्रस पासमा गोल गरेका हुन् ।

पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा डेले ब्लाइन्डले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० गोलको अग्रता दिलाए । खेलको ७६औँ मिनेटमा हाजी राइटले गोल गर्दै अमेरिकालाई २–१ को स्थितिमा पुर्याए । तर खेलको ८१औँ मिनेटमा डेन्जिलले गोल गरेपछि नेदरल्यान्ड्सले ३–१ गोलको जित निकालेको हो । यो जितसँगै नेदरल्यान्ड्स विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । अब सेमिफाइनल प्रवेशको लागि अर्जेन्टिनासँग खेल्ने छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्