संसद समीकरणः संसदमा उपस्थित दलको संख्या १२ तर यी ५ पार्टीले पाएनन् राष्ट्रिय दलको मान्यता – Janadesh Daily | ePaper

संसद समीकरणः संसदमा उपस्थित दलको संख्या १२ तर यी ५ पार्टीले पाएनन् राष्ट्रिय दलको मान्यता


जनादेश वाच।

मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत भएको मतगणना लगभग सकिएको छ। अब विभिन्न कारणले रोकिएको ठाउँका मतगणना मात्रै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

हालसम्म गणना भएको सदर १ करोड ४ लाख २० हजार १२५ मतमध्ये सबै भन्दा बढी नेकपा एमालेले २७ लाख ८८ हजार ३५६ अर्थात २६.७६ प्रतिशत मत पाएको छ। यस्तै प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जितेको नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ अर्थात २५.५३ प्रतिशत मत पाएको छ।

तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६२ हजार १२४ अर्थात मत अर्थात ११.१५ प्रतिशत मत प्राप्त गरेको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३ अर्थात १०.७९ प्रतिशत मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ६३८ अर्थात ५.६३ प्रतिशत मत पाएको छ। जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९४६ अर्थात ४.०४ प्रतिशत मत पाएको छ। यस्तै सिके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार५२३ अर्थात ३.७९ प्रतिशत मत पाएर राष्ट्रिय पार्टी बनेको छ।

कूल खसेको सदर मतको तीन प्रतिशतभन्दा बढी मत पाउने राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउने कानुनी प्रावधान छ। यता नेकपा (एकीकृत समाजवादी)ले हालसम्म २ लाख ९४ हजार ३६२ अर्थात २.८२ प्रतिशत मत पाएको छ।

यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६६२, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार २८१ मत पाएका छन्। बाँकी दलहरूले १ लाख मत कटाउन सकेका छैनन्। प्रत्यक्षतर्फ १ सिट जितेको नेपाल मजदुर किसान पार्टीले ७५ हजार ५६, र राष्ट्रिय जनमोर्चाले ४६ हजार तीन सय ८१ मत प्राप्त गरेको छ।

१२ दल संसदमा तर ५ लाई राष्ट्रिय मान्यता
यसरी हेर्दा प्रतिनिधिसभामा १२ राजनीतिक दलको सहभागिता रहने भएको छ । प्रतिनिधिसभामा १२ दल संसदमा सहभागी हुने भए पनि ७ दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने देखिएको हो ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउनेछन् । राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत ‘थ्रेस होल्ड ‘ कटाउनुपर्ने कानुनी व्यवस्था छ ।

नेकपा एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’ कटाउन संघर्ष गरिरहेको छ । समाजवादीले अहिलेसम्म २ लाख ९४ हजार मत प्राप्त गरे पनि ‘थ्रेस होल्ड’ कटाउन हम्मेहम्मे देखिएको छ। राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि थ्रेस होल्ड कटाएका छैनन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्