के माओवादी र एमालेको सत्ता समीकरण र पुनर्मिलन सम्भव छः यस्ता छन् सम्भावित परिदृष्य – Janadesh Daily | ePaper

के माओवादी र एमालेको सत्ता समीकरण र पुनर्मिलन सम्भव छः यस्ता छन् सम्भावित परिदृष्य


जनादेश वाच।

एमाले र माओवादी वाम गठबन्धनमार्फत् २०७४ को चुनावमा होमिएका थिए । चुनावमा झन्डै दुईतिहाइ बहुमत पाए । एमाले र माओवादीबीच एकता भएर नेकपा पनि बन्यो । आन्तरिक विवादमा रुमल्लिएको नेकपा सर्वोच्च अदालतको निर्णयसँगै भंग भयो । एमाले र माओवादी पूवर्वत अवस्थामा फर्किए । पाँच वर्षपछि ०७९ मंसिर ४ मा भएको निर्वाचनमा माओवादी नेपाली कांग्रेससहितको सत्ता गठबन्धनबाट चुनावमा होमियो । एमाले केही स्थानमा जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका स्थानमा तालमेल गरी निर्वाचनमा होमिएको थियो ।

निर्वाचनको परिणामले सत्ता गठबन्धनलाई पनि बहुमत पुगेन । एमालेले पनि दाबी गरेजस्तो सिट जित्न सकेन । १६४ स्थानको परिणाम आउँदा एमालेले प्रत्यक्षतर्फ ४४ सिट जितेको छ । समानुपातिकमा ३५ सिट पाउने सम्भावना छ । त्यसो भएमा उसँग कूल ७९ सिट हुनेछ । मतगणना जारी रहेको दोलखा १ मा एमाले र माओवादीको प्रतिस्पर्धा छ । नेपाली कांग्रेसले ५७ सिट पाएको छ । समानुपातिकतर्फ ३३ सिट पाउने सम्भावना छ । उसँग कुल ९० सिट हुने देखिन्छ । तेस्रो भएको माओवादी केन्द्रले प्रत्यक्षतर्फ १७ सिट प्राप्त गरेको छ । समानुपातिकमा १५ मत पाउने सम्भावना छ । त्यसो भएमा उसँग ३२ वा ३३ सिट हुनेछ । कांग्रेस र एमालेबीच १० भन्दा कम सिटको अन्तर हुने देखिन्छ । केही सिटको मात्रै अन्तर देखिएपछि र गठबन्धनको बहुमत नपुग्ने भएपछि एमालेले पनि सरकारको गृहकार्य गरिरहेको छ ।

एमाले माओवादी सहकार्य कति सम्भव
प्रतिनिधिसभामा विजयी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ८ गते प्रचण्डलाई फोन गरेका थिए– बधाई साटासाटका लागि । ओलीले शेरबहादुर देउवा र राजेन्द्र लिङदेनलाई पनि फोन गरेका थिए । बधाई साटासाट गर्नका गरिएको कुराकानीलाई प्रचण्डले संवादको थालनीको रूपमा भन्दा पनि बार्गेनिङ टुल्सका रूपमा प्रयोग गरेको एमालेको आरोप छ । तर, एमालेले अहिल्यै प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरिहाल्ने स्थिति देखिएको छैन । माओवादीलाई खियाएरै सिध्याउनु पर्छ भन्ने लाइन एमालेमा अहिले ‘प्रिभेल’ गरिरहेको छ । यो अवस्थामा पनि माओवादीसँग मिल्नु पर्ने बाध्यता भने एमालेलाई पनि छ ।

प्रधानमन्त्री मात्र होइन राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख जस्ता महत्त्वपूर्ण पदको भागबण्डा अबको केही हप्तामा हुँदैछ । राज्यका महत्त्वपूर्ण पदमध्ये एउटै पनि नलिई बस्नुपर्ने अवस्था आउन नदिन माओवादीसँग मिल्नुपर्ने बाध्यता एमालेलाई रहेको हो । सबै पद गुमाउनुभन्दा प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गरेर माओवादीसँग तालमेल गर्न एमाले तयार हुन सक्छ । समानुपातिकमा लोकप्रिय मत ल्याएको एमालेले आफूलाई पहिलो दलकै रूपमा व्याख्या गरेको छ । सत्ताविहीन बन्न राजी नभएको एमाले माओवादीसँग मिल्ने पहिलो आधार यही हो ।

२०७४ सालको चुनावमा वामपन्थी गठबन्धन बनाएर जनतामा जाँदा एमाले र माओवादी दुवैलाई फाइदा भएको थियो । छुट्टा–छुट्टै भिड्दा दुवैले प्रत्यक्षमा झण्डै आधा गुमाए । भोट ट्रान्सफर नभएको प्रचण्डको गुनासो रह्यो । दुई कम्युनिस्ट मिल्दा झण्डै दुईतिहाइको सफलता पाएको र फुट्दा शक्तिहीन भएको यथार्थलाई विश्लेषण गर्न सक्दा प्रचण्ड र ओली मिल्न सक्ने दोस्रो आधार तयार हुन्छ ।

माओवादीले विकल्प खुल्ला राखेसँगै एमाले–माओवादीबीच सहकार्य हुन सक्ने नेताहरुको भनाइ छ । एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ माओवादीले विकल्प खुला राख्नु सकारात्मक भएको बताउँछन् ।

“सरकारका विषयमा त केही कुरा भएको छैन । माओवादीसँग सहकार्य गरेर जाने सम्भावना त छँदैछ । माओवादीले विकल्प खुल्ला राख्नु राम्रो कुरा हो,” गुरुङ भन्छन् ।

एमाले र माओवादी गठबन्धन भए पनि सरकार बनाउनका लागि बहुमत पुग्दैन । २७५ सदस्य रहेको प्रतिनिधिसभमा बहुमतका लागि १३८ चाहिन्छ । एमाले र माओवादीसँग कूल १११ सिट हुने देखिन्छ । यी दुईदलबीच सहकार्य भएमा बहुमतका लागि थप २७ सिट चाहिन्छ । सरकार गठनका लागि माओवादीसँग गठबन्धन भएमा मूल आधार तयार हुने र अरु मिलाउन सकिने बताउँछन् ।

“माओवादीसँग गठबन्धन भयो भने सरकार बनाउने मूल आधार तयार भयो । त्यसपछि मुद्धा मिल्ने शक्तिहरु जोडिन्छ,” उनी भन्छन् । निर्वाचनले दिएको म्यान्डेट जोखिमपूर्ण भएकाले एमाले सरकारमा जानुपर्ने गुरुङको भनाइ छ ।

“अहिले देश अस्थिरतातिर जान सक्ने जोखिमपूर्ण म्यान्डेट छ । समृद्धिको अभियान अगाडि बढ्न नसक्ने, संविधानमाथि प्रश्न उठ्न सक्ने गरी प्रतिनिधिसभामा पार्टीहरुको उपस्थिति भएको छ,” गुरुङले भने, “राष्ट्रिय स्वाधिनताको संरक्षण गर्नका लागि, सुशासन विकास र समृद्धिको अभियान अघि बढाउनका लागि, पाँचवर्ष सरकारलाई कसरी स्थिर राख्ने भनेर जोड दिनका लागि हामीले गठबन्धन गर्ने हो । सरकारमा जाने हो । मुद्दाका पक्षमा उभिने शक्तिहरुसँग सहकार्य हुन्छ ।”

माओवादीसँग गठबन्धन भएमा नेकपा एकीकृत समाजवादीसँग पनि सहकार्य हुनसक्ने नेताहरुको आकलन छ । त्यस्तै एमालेसँग चुनावमा सहकार्य भएका दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) सँग २६ सिट हुनसक्ने देखिन्छ । राप्रपाले प्रत्यक्षमा ७ सिट जितेको छ । समानुपातिकामा ८ सिट थप हुने देखिन्छ । ऊसँग कूल १५ सिट हुने सम्भावना छ । प्रत्यक्षमा ६ सिट जितेको जसपाले समानुपातिकमा ५ सिट ल्याएर ११ सिट पुर्‍याउने सम्भावना देखिन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्