निभ्यो एसियाली आशाको दियोः ब्राजिलले कोरियालाई घर पठाउँदा, जापान क्रोएसियासँग स्तब्ध – Janadesh Daily | ePaper

निभ्यो एसियाली आशाको दियोः ब्राजिलले कोरियालाई घर पठाउँदा, जापान क्रोएसियासँग स्तब्ध


जनादेश स्पोर्ट्स वाच।
फिफा विश्वकपमा एकसाथ एसियाका तिन टोलीले नकआउटमा स्थान बनाए पनि तिनै टोली बाहिरिएका छन्। जापान, अष्ट्रेलिया र दक्षिण कोरियाको विश्वकप यात्रा नकआउट चरणमै टुङिगएको हो। अष्ट्रेलिया अर्जेन्टिनासँग २–१ ले पराजित हुँदा जापान क्रोएसियासँग पेनाल्टी सुटआउटमा ३–१ ले पराजित भयो। कोरियाले भने ब्राजिलसँग ४–१ को फराकिलो हार व्यहोर्दा कुनै पनि एसियन टोलीले क्वार्टफाइनलमा स्थान बनाउन सकेनन्। यसपटकको विश्वकपमा पनि दक्षिण अमेरिकी र युरोपियन राष्ट्र नै हाबी देखिएका छन्। २२ औँ संस्करणसम्म आइपुग्दा यी दुई महादेशबाट विश्वकपमो ट्रफी बाहिर जान सकेको छैन।

यसपटक पनि एउटा समूहबाट दक्षिण अमेरिकी राष्ट्र ब्राजिल र अर्जेन्टिना बलिया देखिएका छन्। अर्को समूहमा मोरक्को बाहेक सबै युरोपियन देश अघि बढेका छन्। नकआउटमा दोस्रो अफ्रिकी राष्ट्र मोरक्कोले स्पेनको सामना गर्दैछ। यदी यो खेलमा मोरक्को पराजित भए अफ्रिकी राष्ट्रको विश्वकप सपना यो पटकका लागि पनि टुङ्गीनेछ। समूह चरणमा उत्कृष्ट खेल प्रर्दशन गरेका एसियाली टोलीको प्रर्दशन नकआउट चरणसम्म त्यहि लयमा रहन सकेन।

समूह डि को उपविजेताको रुपमा नकआउटमा पुगेको अष्ट्रेलियाको १६ वर्षपछि क्वार्टरफाइनल पुग्ने सपना यो पटक अधुरै रह्यो।
सन् २००६ पछि पहिलोपटक अन्तिम १६ बाट बाहिरिएको हो। छैटौँपटक विश्वकप खेलेको अष्ट्रेलियाको विश्वकपमा उत्कृष्ट नतिजा भनेकै २००६ र २०२२ मा नकआउट चरण पुग्नु हो।

१९७४ मा पहिलो पटक विश्वकप खेलेको अष्ट्रेलिया समूह चरणमै सीमित भएको थियो। दोस्रो सहभागितामा नै अन्तिम १६ मा पुगेको अष्ट्रेलिया त्यसयताका ३ संस्करणमा लगातार समूह चरणबाटै बाहिरिएको थियो। ओसियाना क्षेत्रको अष्ट्रेलियाले विश्व फुटबलमा भने एसियन क्षेत्रको प्रतिनिधित्व गर्दै आएको छ। ६ पटक विश्वकपमा सहभागिता जनाएको अष्ट्रेलियाले सन् २००६ पछि अन्तिम १६ मा स्थान बनाएको हो। यसअघिका ३ संस्करणमा समूह चरणबाटै बाहिरिएको अष्ट्रेलिया १९७४ मा पनि समूह चरणमै सिमित भएको थियो।

दुई विश्वविजेता टोलीलाई पराजित गर्दै नकआउट पुगेको जापानले साविक उपविजेता क्रोएसियालाई टाउको दुखाई बनेको थियो। निर्धारित ९० मिनेटमा एक एक गोलको बराबरी खेलेको जापान र क्रोएसियाले थप गरिएको ३० मिनेटमा पनि दुवैतर्फबाट गोल हुन सकेन। पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिईएको थियो।

सातौँ पटक विश्वकप खेलेको जापान ३ पटक समूह चरणमा सिमित हुँदा तिनै पटक नकआउट चरणमा पुगेको थियो। विश्वकपमा उतारचढापुर्ण यात्रा तय गरेको जापान लगातार दोस्रो पटक नकआउट चरण पुगेको हो।

सन् १९९८ बाट विश्वकपमा सहभागी हुन थालेको जापानले यो पटक उत्कृष्ट खेल पस्केको थियो। पहिलोपटक समूह चरणबाटै बाहिरिएको जापानले दोस्रो पटक २००२ मा भने नकआउटमा स्थान बनाएको थियो। त्यसपछि जापानको विश्वकप यात्रा उत्तरचढावपूर्ण रह्यो।

एक पटक नकआउटमा पुग्ने र अर्को पटक समूहचरणबाटै बाहिरिने क्रमले ६ वटा विश्वकपमा निरन्तरता पायो। सन् २०१८ मा नकआउट चरणबाटै बाहिरिएको जापान यो पटक पनि अन्तिम १६ बाटै बाहिरियो।

समूह एच बाट समूह उपविजेता बन्दै नकआउट पुगेको पूर्वी एसियन देश दक्षिण कोरिया ब्राजिलसँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरियो। सोमबार मध्यराति भएको खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलसँग ४–१ को फराकिलो हार व्यहोर्दै कोरियाले विश्वकपको यात्रा सकाएको हो।

११ औँ पटक विश्वकप खेलिरहेको कोरिया सन् २०१० पछि पहिलोपटक नकआउट चरण पुगेको हो। यसअघिका दुई विश्वकपमा समूह चरणमा सीमित बनेको कोरियाले २००२ मा सेमिफाइनल खेलेको थियो। त्यसअघिका ४ संस्करण समूह चरणमा सिमित बनेको कोरिया १९५४ को पहिलो सहभागितामा पनि समूह चरणमै रोकिएको थियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्