सहमतिको विज्ञप्ति निकाल्नुअघि बालुवाटारमा तातेको माहौलः कसले के भने, कसरी आयो विज्ञप्ति – Janadesh Daily | ePaper

सहमतिको विज्ञप्ति निकाल्नुअघि बालुवाटारमा तातेको माहौलः कसले के भने, कसरी आयो विज्ञप्ति


जनादेश वाच।

पछिल्ला तीन दिनयता सत्ता गठबन्धनका विषयमा विभिन्न सार्वजिनक भइरहेका छन्। र, सत्ता गठबन्धनका नेताहरू त्यसलाई खण्डन गर्दै हिँडिरहेका छन्। शनिबार नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले सञ्चारमाध्यमहरूसँग कुरा गर्दै आफ्नो पार्टीले यही गठबन्धन कायम राख्ने तर नयाँ सरकार बनाउने बारेमा अरु सबै पनि विकल्प खुला राख्ने निष्कर्षमा पुगेको बताए। महराको उक्त अभिव्यक्तिले गठबन्धनमा मात्रै होइन राजनीतिक वृत्तमा नै तरंग सिर्जना गर्‍यो।

“यो चुनावबाट सबैभन्दा धेरै लाभ नेपाली कांग्रेसलाई भयो। अनुशासनहीन काम सबैभन्दा धेरै देखा पर्यो। यसबारे गम्भीर समीक्षा हुनुपर्छ।” नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सत्ता गठबन्धनको बैठकमा शुरूमै गुनासो गरे।

नेपाली कांग्रेससँगको तालमेल माओवादीका लागि फाइदाजनक नभएको भन्दै प्रचण्डले असन्तुष्ट पोखेका थिए। नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पनि प्रचण्डकै समर्थन गरे। “चुनावमा हामीलाई जे जति सहयोग गर्ने भनिएको थियो त्यो कांग्रेसबाट भएन”, नेपाल तितो पोखे। नेपाल बोल्न थालेपछि मात्र प्रचण्ड रोकिएका थिए।

माओवादी र एकीकृत समाजवादी दुवै सत्ता गठबन्धनका साझेदार दलहरू हुन्। दुवै दलले कांग्रेससँग तालमेल गरेर चुनाव लडेका थिए। जसमा माओवादी केन्द्रले प्रत्यक्षमा १८ सिट र एकीकृत समाजवादीले १० सिट जितेका छन्। चुनावपछि पहिलोपटक सत्ता गठबन्धनको बैठक बसको हो। यसबीचमा गठबन्धनमा संलग्न दलहरूले एकअर्कालाई धोका दिने आशंका बढेको थियो। कांग्रेसलाई छोडेर माओवादी केन्द्र र एकीकृत समाजवादीले एमालेसँग मिलेर सरकार बनाउन सक्छन् भन्ने अनुमान भइरहेको थियो। माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सबै दलसँग छलफल खुला राखेको बताएर यस्तो आशंकामा बल दिएका थिए।

यस्तो आशंका र अनुमानबीच सोमबार सत्ता गठबन्धनको बैठक बसेको हो। बैठकको शुरूमै माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षद्वय आक्रोशित ‘मुड’मा प्रस्तुत भएपछि गठबन्धनको प्रमुख दल कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा केहीबेर चुपचाप बसे। प्रचण्ड र नेपाललाई ध्यानपूर्वक सुने। आगामी सरकारको नेतृत्व गर्न चाहिरेका देउवाले दुवै नेतालाई चिड्याउन चाहेनन्।

बैठकमा सामेल एक सदस्यका अनुसार देउवाले प्रचण्ड र नेपालसँगै राष्ट्रिय जनमोर्चाका नेताहरूलाई लक्षित गर्दै भने, “चुनावमा कहाँ कसको कमजोरी भयो भनेर समीक्षा गरौंला। सबैतिर कमीकमजोरी भए। तर, हाम्रो साझा उद्देश्य यो देशको संविधान र लोकतन्त्र बचाउने हो। हामी मिलेर अगाडि बढ्नुको विकल्प छैन।” देउवाको संक्षिप्त प्रतिक्रियाले प्रचण्डको चित्त बुझ्न सकेन। “हामीले छलफल गरौंला, त्यसमा केही बिग्रिएको छैन। सबैभन्दा महत्वपूर्ण कुरा हामीले समयमै आत्मसमीक्षा गर्ने कि नगर्ने?” प्रचण्डले देउवालाई भने। यसपटक पनि देउवा मौन बसे।

बैठकको माहोल शान्त बनाउन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल कस्सिए। उनले प्रचण्डलाई सान्त्वना दिने प्रयास गरे। “हाम्रो कमजोरी भएकै हो। यसमा लुकाउनु पर्ने कुरा केही छैन। यसबारे हामीले समीक्षा गर्नु राम्रो हुन्छ,” पौडेलले भनेका थिए। त्यसपछि बैठकमा सामेल कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला आपसी छलफल र सहकार्यबाट अगाडि बढ्नु पर्नेमा एक देखिए। चुनावी समीक्षा गर्नुपर्नेमा नेताहरूले लगातार जोड दिएपछि देउवाले पनि सोमबारको बैठकमा अन्य विषय प्रवेश गराएनन्।

“बाँकी विषयमा हामी छलफल गरौंला। आज चुनावकै समीक्षा गरौं न त”, देउवाले यति भनेपछि नेताहरू चुनावमै केन्द्रीत भएर छलफल थाले। जबकि, सोमबारको बैठकमा चुनावी समीक्षासँगै नयाँ सरकार गठनबारे पनि छलफल हुने सत्ता गठबन्धन दलहरूका नेताले बताएका थिए। बैठकमा शुरूको करिब एक घण्टा नेताहरू चुनावमा भएका कमीकमजोरीमाथि केन्द्रीत भएका थिए। सबैभन्दा बढी माओवादी केन्द्रका नेताहरूले नै असन्तुष्टि व्यक्त गरे। त्यसपछि एकीकृत समाजवादीका नेताहरूले आफूहरूको मत कम आउनुमा कांग्रेसको असहयोग भएको गुनासो गर्न व्यस्त रहे।

बाँकी समय, अब कसरी जाने भन्नेमा छलफल भयो। त्यस क्रममा नेताहरू संयुक्त प्रेस विज्ञप्ति जारी गर्ने सहमतिमा पुगेका थिए । “बाहिर यही गठबन्धनले निरन्तरता नपाउने भयो भन्ने आशंका भइरहेको छ। यस्तो आशंका मेटाउन बरू हामीले प्रेस विज्ञप्ति निकालौं,” देउवाले नेताहरूलाई प्रस्ताव गरेका थिए। बैठकमा सहभागी ती नेताका अनुसार देउवाको प्रस्तावमा सबैले सहमति जनाएपछि विज्ञप्ती जारी गरियो।

विज्ञप्तिमा भनिएको छ,“निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिए। निर्वाचनका दौरानमा देखिएका ती असमझदारीहरूको पनि आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिनेछ ।” तर यसबारे कहिले समीक्षा गर्ने भन्ने समय निश्चित नगरी गठबन्धन दलका नेता बालुवाटारबाट बाहिरिएका थिए।

बैठकमा सामेल अर्का एक सदस्यका अनुसार सोमबारको बैठकले गठबन्धन दलहरूको ‘फेस सेभिङ’ मात्रै गरेको छ, एकअर्काप्रतिको अविश्वास हटिसकेको छैन। “आजको बैठक चुनावमाथि समीक्षा गर्ने भन्नेमा केन्द्रीत हुने भनियो। तर नेताहरूले आपसमा गुनासो गर्दा त्यसबारे पछि छलफल गरौंला भन्दै टारियो। त्यो छलफलको दिन अब आउने छैन। सबै नेताहरू भागबन्डामै व्यस्त हुनेछन्”, उनले भने।

तर, कांग्रेस नेता रामचन्द्र पौडेलले भने गठबन्धन दलहरूमा चुनावी परिणामलाई लिएर गुनासो हुनु स्वाभाविक भएको बताउँछन्। “चुनावी परिणाम कसैको पनि सोचेजस्तो आएको छैन। एकदमै निराशाजनक मत आउनेले आफ्नो गुनासो पोख्नु स्वाभाविक हो। यसबारे समीक्षा गर्न पनि आवश्यक छ। तर, यही गठबन्धनलाई निरन्तरता दिनेमा सबै दलहरू सहमत भएका छन्। त्यो आजको उपलब्धि हो”, उनले भने।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्