मोरक्को पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा, स्विटजरल्याण्डलाई हराउँदै पोर्चुगल पनि पुग्यो – Janadesh Daily | ePaper

मोरक्को पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा, स्विटजरल्याण्डलाई हराउँदै पोर्चुगल पनि पुग्यो


जनादेश स्पोर्ट्स वाच।
सन् २०१० को च्याम्पियन स्पेनमाथि ऐतिहासिक जित निकाल्दै मोरक्को पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। स्पेनमाथि ऐतिहासिक जित निकाल्नेक्रममा मोरक्को छैटौँ प्रयासमा क्वार्टरफाइनल पुगेको हो। मोरक्को ३६ वर्षपछि नकआउट चरणमा पुगेको थियो। मंगलबार राति दोहास्थित एजुकेशन सिटी स्टेडियममा भएको खेलमा स्पेनसँग पेनाल्टी सुटआउटमा ३-० ले विजयी हुँदा मोरक्को पहिलो पटक क्वार्टरफाइनल पुगेको हो। पेनाल्टी सुटआउटमा स्पेनका पाब्लो सराविया, कार्लोस सोलर, सर्जियो बुस्केट्सको प्रहार विफल भयो।

मोरक्कोका अब्देल्लामिद साविरी, हामिक जियाच, अचरफ हाकीमीको प्रहारले पोष्टको दिशा लियो। बडर बेनौनको प्रहार भने विफल भयो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको मोरक्को र स्पेनले दोस्रो हाफमा राम्रो मुभ बनाए पनि स्कोर गर्न सकेनन्। निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो। मोरक्को १९९४ पछि पहिलो पटक नकआउट चरणमा पुगेको थियो। समूह एफ को समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको मोरक्कोले समूह चरणमा क्रोएशियासँग गोलरहित बराबरी खेलेको थियो। बेल्जियमलाई २–० ले हराएको मोरक्कोले समूह चरणको अन्तिम खेलमा क्यानडालाई २–१ ले हराएको थियो।

सन् १९७० को विश्वकपमा पहिलो पटक सहभागी भएको मोरक्कोले दोस्रो पटक विश्वकपको अन्तिम १६ मा स्थान बनाएको थियो। पहिलो सहभागितामा नै समूह चरणमा सीमित बनेको मोरक्को त्यसपछिका ३ संस्करणमा छनोट नै हुन सकेन। १९८६ मा अन्तिम १६ मा पुगेको मोरक्कोले त्यसयता २०२२ मा पहिलो पटक नकआउट चरणमा छनोट भएको थियो। १९६ मा नकआउट चरणबाट बाहिरिएपछि १९९० मा विश्वकपमा स्थान बनाउन नसकेको मोरक्को त्यसयताका दुई सस्करणमा समूह चरणमै सिमित बन्दै आएको थियो। १९९४ र ९ मा समूह चरणबाटै बाहिरिएको मोरक्को त्यसयताका चार संस्करण छनोट चरण नै पार गर्न सकेन। २००२ देखि २०१४ सम्म विश्वकपमा स्थान बनाउन नसकेको मोरक्को २०१८ मा समूह चरणमै सीमित बनेको थियो।

गोन्सालो रामोसको ह्याट्रिकमा स्वीटजरल्याण्डमाथि शानदार जित निकाल्दै पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। लुसैल स्टेडियममा मंगलबार राति भएको खेलमा पोर्चुगलले स्वीटजरल्याण्डलाई ६–१ को फराकिलो अन्तरले पाखा लगाएको हो। यो खेलसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। पोर्चुगलले अब क्वार्टरफाइनलमा मोरक्कोसँग खेल्नेछ।

पोर्चुगलको जितमा रामोसले ह्याट्रिक पुरा गरे। जारी विश्वकपमा यो पहिलो ह्याट्रिक हो। क्रिस्टियानो रोनाल्डोको स्थान लिदै सुरुवाती ११ मा स्थान बनाएका रामोसले खेलको १७, ५१ र ६७ औँ मिनेटमा गोल गर्दै ह्याटिक पुरा गरे।

खेलको १७ औँ मिनेटमा रामोसको गोलमा पोर्चुगलले सुरुवाती अग्रता बनाएको थियो। रामोसले जाओ फ्लीक्सको पासमा गोल गरेका थिए। ३३ औँ मिनेटमा कप्तान पेपेले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारेका थिए। खेलको ५१ औँ मिनेटमा रामोसले व्यक्तीगत गोल तथा टोलीका लागि तेस्रो गोल गर्दै खेललाई ३–० को अवस्थामा ल्याए।

खेलको ५५ औँ मिनेटमा राफेल गुइरिरोले गोल गर्दै पोर्चुगललाई ४–० को अग्रता दिलाए। त्यसको तिन मिनेटमा नै स्वीटजरल्याण्डले गोल गर्दै खेलमा फर्कने संकेत गरेको थियो। स्वीटजरल्याण्डका मेनुअल एन्काजीले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए।

६७ औँ मिनेटमा पोर्चुगललाई ५–१ को अग्रता दिलाउने क्रममा रामोसले ह्याट्रिक पुरा गरे। खेलको अतिरिक्त समयमा राफेल लियोले गोल गर्दै ६–१ को सानदार जित निकालेको हो।

विश्वकपमा १९६६ मा तेस्रो भएको पोर्चुगल २००६ मा चौथो भएको थियो। फिफा विश्वकपमा यो नै पोर्चुगलको उत्कृष्ट नतिजा हो। त्यसयता २०१० मा अन्तिम १६ बाट बाहिरिएको पोर्चुगल २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो। २०१८ मा नकआउट चरणबाटै बाहिरिएको पोर्चुगल यो संस्करण विश्वकप उचाल्ने दाउमा छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्