प्रदूषण जाँच पास हुन नसक्ने गाडी चलाए एक लाखसम्म जरिवाना – Janadesh Daily | ePaper

प्रदूषण जाँच पास हुन नसक्ने गाडी चलाए एक लाखसम्म जरिवाना


वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । विभागले आज एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारुपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरेर मात्र सवारी साधन चलाउन आग्रह गरेको हो ।

अबका दिनमा विभागले गाडीको धुवाँ निस्कासनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउनेसमेत विभागले जनाएको छ । पछिल्लो समय धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडी फेला परेका छन् । एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न दिने गरेकोमा अब पुस १ गतेदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई रु एक लाखसम्म जरिवाना गर्ने विभागले चेतावनी दिएको छ ।

कैफियत भेटिएमा वातावरण संरक्षण ऐन–२०७६ को दफा ४१ उपदफा २ अनुसार जरिबाना हुने सूचनामा उल्लेख छ । छड्के जाँचमा प्रदूषण जाँचपासको रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तीर्ण हुने गाडीलाई जरिवाना गरिने विभागले चेतावनी दिएको छ ।

साथै विभागले कसैले टोल छिमेकमा खुलारुपमा फोहर जलाउने तथा खुलारुपमा फोहर जलाएको पाइएमा गोप्यरुपमा जानकारी दिनसमेत आग्रह गरेको छ । यसरी खुलारुपमा फोहर जलाउनेलाई कारबाही गरिनेसमेत विभागले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्