गोल्डेन हेन्डसेक सुविधा लिन छुटेका विद्यालयका शिक्षकलाई पुनः अवसर – Janadesh Daily | ePaper

गोल्डेन हेन्डसेक सुविधा लिन छुटेका विद्यालयका शिक्षकलाई पुनः अवसर


काठमाडौँ । विगतमा सरकारले दिएको उपदान (गोल्डेन हेन्डसेक) सुविधा लिन छुटेका विद्यालयका शिक्षकलाई सरकारले फेरि अवसर दिएको छ ।

यस्तो सुविधा लिन नपाएकालाई सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा निवेदन दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनुरोध गरेको छ । सरकारले २०७३ साल असार १५ गतेसम्म अस्थायी रूपमा कार्यरत शिक्षकलाई यस्तो सुविधा दिएको थियो ।

सोहीबमोजिम मन्त्रालयले २०७५ चैत ११ गतेको सचिवस्तरीय निर्णय गरेर पहिलो पटक सूचना प्रकाशित गरेको थियो । सो सूचनाअनुसार उक्त सेवाबाट वञ्चित भएको भन्दै केहीले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा निवेदन दिएको केन्द्रले जनाएको छ । शिक्षक सम्बद्ध सङ्घ सङ्गठनले पनि छुटेकाहरूलाई सोहीबमोजिम सुविधा दिन मन्त्रालय तथा केन्द्रलाई अनुरोध गरेको थियो ।

त्यसका लागि केन्द्रले सूचना प्रकाशन गरेर सो सुविधा नपाएका अस्थायी शिक्षकलाई निवेदन पेस गर्न अनुरोध गरेको छ तर कति दिनभित्रमा निवेदन पेस गर्ने भन्ने विषयमा भने केन्द्रले केही खुलाएको छैन । यसअघि गत असोज १२ गते पनि मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर ३० दिनभित्र राष्ट्रिय किताबखाना (शिक्षक)मा निवेदन पेस गर्न भनेको थियो ।

निवेदनका साथ सम्बन्धित शिक्षकले सम्बन्धित तहको शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्बन्धित तहको नियुक्तिपत्र वा समर्थनपत्रलगायतका कागजपत्र पेस गर्न अनुरोध गरेको छ । लामो समयदेखि अस्थायी रूपमा कार्यरत शिक्षकले सेवा सुविधाको माग गर्दै आन्दोलन गरेपछि सरकारले सेवा अवधि गणना गरेर गोल्डेन हेन्डसेकको सुविधा दिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्