नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक : उपराष्ट्रपति पुन – Janadesh Daily | ePaper

नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक : उपराष्ट्रपति पुन


उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताउनुभएको छ ।

अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल पर्यटन विकास परिषद्ले शनिबार राति यहाँ आयोजना गरेको ‘ठमेल सडक महोत्सव’को उद्घाटन गर्दै उहाँले संस्कृति र प्रकृतिको धनी नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताउनुभएको हो ।

बहुभाषी, बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक, रीतिरिवाज भएको नेपालले संस्कृति र प्रकृतिबाट पर्यटकलाई आकर्षित गरिरहेको उहाँको भनाइ छ ।

उपराष्ट्रपति पुनले कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा एक सय ६० अर्ब क्षति पुगेको बताउनुभयो । कोरोना महामारीबाट थला परेको नेपालको पर्यटन उद्योगमा पछिल्लो समय केही सुधारको सङ्केत देखिएको उहाँको भनाइ थियो ।

उहाँले नयाँ सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठोस योजना अगाडि सार्नुपर्ने बताउनुभयो । नेपालको पर्यटन क्षेत्रको विकासमा व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले नेपालको पर्यटन क्षेत्रको राजधानी ठमेल भएकाले ठमेलको विकासका लागि सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताउनुभयो ।

नेकपा ९माओवादी केन्द्र०का पोलिटब्यूरो सदस्य गङ्गा कार्की, नेकपा (एमाले)का केन्द्रीय सदस्य भीम केसीले नेपालको आर्थिक विकासको मुख्य आधार जलविद्युत्, कृषि र पर्यटन भएकाले पर्यटन क्षेत्रको विकासका लागि नयाँ सरकारले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सरकारका मुख्यसचिव शङ्करदास बैरागीले नेपाललाई विश्वमाझ चिनाउनका लागि पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको पर्यटन प्रवद्र्धनका लागि सरकारले पर्यटन दशक मनाउन लागेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले काठमाडौँको पर्यटन क्षेत्रको विकासका लागि महानगरपालिकाले अक्षयकोष स्थापना गरेर काम गर्दै आइरहेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले मुलुकले सोचेजस्तो पर्यटक भित्र्याउन नसकेको भन्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउनका लागि सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताउनुभयो । काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेललाई पर्यटनको विशेष क्षेत्रका रूपमा अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गर्नुभयो ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले १० हजार व्यवसायी र ६० हजारले प्रत्यक्ष तथा अप्रत्ययरूपमा रोजगार पाएको ठमेलको विकासका लागि सरकारले विशेष योजना अगाडि बढाउनुपर्ने बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्