माओवादी मिसन बाम एकताः महराको नेतृत्वमा कार्यदल – Janadesh Daily | ePaper

माओवादी मिसन बाम एकताः महराको नेतृत्वमा कार्यदल


जनादेश, काठमाण्डौं । नेकपा माओवादी केन्द्रले विभिन्न कम्युनिस्ट पार्टीहरूसँग एकताको पहल गर्न कार्यदल गठन गरेको छ । पार्टी एकताको पहल गर्न माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो । महरा नेतृत्वको कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिवहरू जर्नादन शर्मा, शक्ति बस्नेत र गिरिराजमणि पोखरेल सदस्य छन् ।

blog

माओवादी केन्द्रको कार्यालय बैठकले कार्यदल गठन गरेको महासचिव देव गुरुङले जानकारी दिए । उनका अनुसार कार्यदल गठनका प्रमुख दुई कारण छन् । पहिलो, २६ पुसमा सरकारले विश्वासको मत लिने भएकाले त्यसका लागि सबै दलहरूसँग विश्वासको मत माग्ने । दोस्रो, सबै कम्युनिस्ट पार्टीसँग एकताको पहल गर्ने ।

शनिबार बिहान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच बालुवाटारमा छलफल भएको थियो । भट्टराई नेतृत्वको नेसपाले ४ मंसिरमा भएको प्रदेशसभा र प्रतिनिधिसभा चुनाव माओवादी केन्द्रको चिह्नबाट लडेको थियो । नेसपा र माओवादीबीच पार्टी एकताको तयारी भइरहेको छ ।

कार्यदलले छिट्टै पार्टी एकताका लागि सबै कम्युनिस्ट दलहरूसँग छलफल सुरु गर्ने महासचिव गुरुङले बताए । केही दिनअघि पोखरामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले समाजवादी केन्द्र बनाउने तयारी भइरहेको बताएका थिए ।

माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, नेकपा बहुमतलगायत साना कम्युनिस्ट पार्टीसँग एकताका लागि छलफल गर्दै आएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्