माओवादी विभाजन विदेशीले गराएका थिए, आत्मसमीक्षा गर्नु जरुरी छ: कृष्णबहादुर महरा – Janadesh Daily | ePaper

माओवादी विभाजन विदेशीले गराएका थिए, आत्मसमीक्षा गर्नु जरुरी छ: कृष्णबहादुर महरा


जनादेश, काठमाण्डौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी विभाजनमा विदेशी शक्तिहरूको पनि हात रहेको बताएका छन्। शुक्रबार संवाद डबलीमा नेकपा माओवादी समाजवादीले आयोजना गरेको ‘समाजवाद स्थापनाको आवश्यकता र औचित्यता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महराले यस्ताे बताएका हुन्।

उनले आफूहरूका कमजोरी बताउँदै महराले विदेशी शक्तिहरू माओवादीलाई निशस्त्रीकरण, आकार घटाउन र घृणा पैदा गर्ने अभियानमा लागेको दावी गरे। माओवादी केन्द्रका प्रवक्तासमेत रहेका महराले माओवादी नेताहरूले दुई बाटो हिँडेको र दुवै बाटोबाट गन्तव्यमा पुग्न नसकेको बताए।

‘एकथरी माओवादी नेताहरू एम्बुसको बाटोमा हिँडे र एकथरी त्यसलाई छल्नुपर्छ भन्दै संसदको बाटोमा। किरण-विप्लव पनि आफू हिँडेको बाटोमा अगाडि बढ्न सक्नुभएन। हामी पनि दलदलमा फस्यौँ। सबैले आआफ्ना आत्मसमीक्षा गर्न जरुरी छ’ महराले भने।

आत्मसमीक्षासहित सबै कम्युनिस्ट एक ठाउँमा नआएसम्म समाजवादमा पुग्न नसकिने महराकाे भनाइ छ। उनले समाजवादको लागि छलफल र बहस गर्न साझा मञ्च बनाउन आवश्यक रहेको समेत बताए।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का नेता परि थापा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदीप आचार्य, नेकपाका केन्द्रीय सदस्य चिरन पुन, राजु कार्की, जागृत रायमाझी, अरुण गुरुङलगायतले वैज्ञानिक समाजवादीको लागि विभाजित कम्युनिस्ट नेताहरूले नयाँ शिराबाट एक ठाउँमा आउनु आजको आवश्यकता रहेको बताएका बताएका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्