सिरियाको अलेपोमा भवन भत्कँदा १६ जनाको मृत्यु – Janadesh Daily | ePaper

सिरियाको अलेपोमा भवन भत्कँदा १६ जनाको मृत्यु


सिरियाको दक्षिणी प्रान्तमा अलेपोमा रहेको एक आवासीय भवन भत्कँदा त्यसमा रहेका कम्तीमा पनि १६ जनाको ज्यान गएको बताइएको छ ।

यहाँको एउटा साततले भवन भत्कँदा ती मानिसको मृत्यु भएको बताइएको हो । त्यस दुर्घटनामा पाँच जना बालबालिका पनि परेका छन् ।प्रहरीका अनुसार उक्त भवनमा सात परिवार बसेका र ती परिवारका गरेर १६ जनाको ज्यान गएको हो ।

सो स्थानका स्थानीय बासिन्दाले उक्त भवनमा ३५ जनाको बसोबास रहेको बताएका छन् । भवनका भग्नावशेषबाट एक जनालाई मात्र जीवित उद्धार गरिएको छ ।

प्रहरीले मृतकको सङ्ख्या अझै बढ्नसक्ने बताएको छ । यहाँको सरकारी समाचार समिति सानाले सो भवनको भग्नावशेषमा पुरिएको आशङ्कामा उद्धारको काम जारी रहेको जनाएको छ ।

एक दशकभन्दा लामो समयदेखि जारी युद्धका कारण उत्तरी जिल्ला अफ्रिनबाट विस्थापित भएका सिरियाली नागरिक उक्त भवनमा बस्दै आएका सिरियाली गृह मन्त्रालयका अधिकारीले जनाएका छन् ।

सिरियामा जारी द्वन्द्वमा परी करिब पाँच लाख नागरिकको ज्यान गइसकेको छ । अधिकांश विस्थापित सिरियाली यस्तै कमजोर प्रकृतिका भवनमा बस्दै आएका छन् ।

गएको सेप्टेम्बरमा पनि अलेप्पोनजिकको फर्दवासमा एक यस्तै कमजोर भवन भत्कँदा तीन जना बालबालिकासहित दश जनाको मृत्यु भएको जानकारी गृह मन्त्रालयका अधिकारीले जनाएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्