कहाँ पुग्यो रेल मार्ग अध्ययनको कामः २४ दिनमा चिनियाँ टोलीको निष्कर्ष, काम सक्न ४२ महिना – Janadesh Daily | ePaper

कहाँ पुग्यो रेल मार्ग अध्ययनको कामः २४ दिनमा चिनियाँ टोलीको निष्कर्ष, काम सक्न ४२ महिना


जनादेश वाच।

काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि आएको चिनियाँ टोली २४ दिन नेपालमा बिताएर चीन फर्किएको छ । रेल विभागका अनुसार चिनियाँ टोली गत शुक्रबार स्वदेश फर्किएको हो । २०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति गरेको र २०७८ चैतमा काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्न दुई देशबीच औपचारिक सहमति गरिएकोमा ११ महिनापछि चिनियाँ टोली नेपाल आएर सम्भाव्यता अध्ययनको लागि प्रारम्भक कार्य थालनी गरेको हो ।

विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारका अनुसार चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपको लागि १२ पुसमा काठमाडौंमा आएकोमा विभागका अधिकारीहरूसँग परामर्श, भौगाेलिक अध्ययन तथा पूर्वसम्भाव्यता अध्ययनका कागजहरूको अध्ययन गरेको छ । नेपाल आएको १३ दिनपछि चिनियाँ टोली विभागका अधिकारीहरूलाई लगरे स्याफ्रुबेंसी, धुन्चे र रसुवागढीसम्म पुगेको थियो ।

चिनियाँ नयाँ वर्ष मनाउन टोली चिन फर्किए पनि एक डेढ महिनामा नै नेपाल आउने जानकारी विभागले गराएको छ । ‘प्रारम्भिक अध्ययन अनुसार यसको सम्भाव्यता अध्ययन सक्न ४२ महिना लाग्ने छ’, विभागका सिनियर डिभिजन इन्जिनियर अमन चित्रकारले भने ।

यसअघि गरिएको पूर्वसम्भाव्यता अध्ययनमा प्रारम्भिक विषय मात्र आएकाले अब हुने सम्भाव्यता अध्ययनबाट रेलमार्गको वास्तविक दूरी, लागत, सुरुङ, पुलको उचाइ, स्टेसनलगायत विषय टुंगिने छ । प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्म ७२ किलोमिटर दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्ने छ । जसलाई छेडेर रेलमार्ग बनाइने छ । यसको अध्ययन चीनले आफ्नै खर्चले गर्ने छ । उक्त रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो । सम्भाव्यता अध्ययनको लागत भने चीन सरकारले बेहोर्ने जनाइएको छ ।

दुई वर्षअघिदेखि रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि कोभिडका कारण चिनियाँ प्राविधिक टोली नेपाल आउन सकेको थिएन । यसअघि गरिएको पूर्वसम्भाव्यता अध्ययनमा प्रारम्भिक विषय मात्र आएका र अब हुने सम्भाव्यता अध्ययनबाट रेलमार्गको वास्तविक दूरी, सुरुङ, लागत, पुलको उचाइ, स्टेसनलगायत विषय टुंगिने जनाइएको छ । गत ०७८ चैतमा काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो । चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला दुई देशका उच्च अधिकारीबीच छिट्टै अध्ययन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

यसमा दुई देशका उच्च अधिकारी सहमत थिए । तर त्यसपछि अध्ययनका लागि चिनियाँ टोली आएनन् । उक्त रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन ०७५ मंसिरमै भएको थियो ।

०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति भएको थियो । उक्त समयमा रेलमार्गको काम चाँडै सुरु गर्नेबारे दुवै देशका उच्च अधिकारी तयार थिए । ‘प्राविधिक टोली आएर अध्ययन गर्ने ठाउँमै पुगिसकेकाले अब अध्ययनको कामले गति लिनेछ,’ विभाग स्रोले भन्यो ।

प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्म ७२ किमि दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्छ, जसलाई छेडेर रेलमार्ग बनाइनेछ । नेपालका लागि तत्कालीन चिनियाँ राजदूत होउ यान्छीले गत वैशाखमा पत्रकार सम्मेलनका क्रममा नेपाल र चीनबीचको रेलको सम्भाव्यता अध्ययन गर्न ५ देखि ६ वर्ष लाग्न सक्ने बताएकी थिइन् । गत वैशाख पहिलो साता चिनियाँ सरकारी सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’ लाई अन्तर्वार्ता दिने क्रममा यान्छीले प्रारम्भिक अध्ययनअनुसार प्रतिकिमि सुरुङ निर्माण गर्न अनुमानित ३ अर्ब ७० करोड लाग्ने जनाएकी थिइन् । यसअनुसार उक्त रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ अनुमान छ । तर अहिलेसम्म निर्माणमा खर्च, समय कति लाग्ने भन्नेबारे केही आएको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्