माओवादीकै अवधारणामा बनिरहेका राष्ट्रिय गौरवका आयोजना निरीक्षण गर्ने प्रचण्डको तयारी – Janadesh Daily | ePaper

माओवादीकै अवधारणामा बनिरहेका राष्ट्रिय गौरवका आयोजना निरीक्षण गर्ने प्रचण्डको तयारी


जनादेश वाच।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीले आफू छिट्टै राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाहरूको स्थलगत निरीक्षणमा निस्किने बताएका छन् । सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग प्रधानमन्त्री प्रचण्डले आफूले छिटै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाको निरीक्षण गर्न लागेको बताएका हुन् ।

“म छिट्टै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाको निरीक्षणमा निस्किँदै छु । खबरदारी र निरन्तरको चासो र त्यप्रतिको लगावले मात्रै विकास, सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता हासिल गर्न सकिन्छ । त्यसका लागि आवश्यक तयारी गर्नुहोला ।’’ उनले राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाको निरीक्षणमा कहिले निस्किने त्यो भने खुलाएका छैनन् ।

प्रदेशहरूले नीतिगत र स्थानीय साधनस्रोतको अधिकतम परिचालनमा प्रतिस्पर्धा गर्नुपर्नेमा उनको जोड थियो । “हामीकहाँ अथाह साधनस्रोत र सम्भावना छ । तर, प्रदेशहरू केन्द्रप्रति निर्भर हुनेजस्तो अवस्था अन्त्य गर्नुपर्छ । त्यसका लागि प्रदेशहरू नीतिगत प्रबन्ध, सुशासन, चुस्त व्यवस्थापन र स्थानीय साधनस्रोतको अधिकतम उपयोग र परिचालन गर्न प्रतिस्पर्धा गर्नुपर्छ । प्रदेशहरूमा राम्रो गरेपछि केन्द्रीय तहमा नेतृत्व गर्ने संस्कृतिका लागि हामी गम्भीर हुनुपर्छ ।’’

निर्माण कार्यलाई तीव्रता दिन राष्ट्रिय गौरवका आयोजनामा मात्रै वार्षिक करिब ८० अर्ब रुपैयाँ विनियोजन हुँदै आएको छ । तर, अपेक्षित काम हुन नसकेको चौतर्फी गुनासो आउने गरेको छ । समयमै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न विभागीय मन्त्री र संसदीय समितिहरूले बेलाबेलामा स्थलगत अनुगमन गर्दै निर्देशन दिने गरे पनि त्यसको प्रत्यक्ष असर पर्ने गरेको देखिँदैन ।

राष्ट्रिय योजना आयोगका अनुसार अहिले राष्ट्रिय गौरवका आयोजनाको संख्या २१ रहेको छ । माओवादी नेतृत्वको सरकारका पालामा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राष्ट्रिय गौरवका आयोजनाको अवधारणा अघि सारेका थिए। त्यसपछिका सरकारले यसमा थप गर्दै लगेका छन्।

राष्ट्रिय गौरवका आयोजना
बबई सिँचाइ आयोजना

सिक्टा सिँचाइ आयोजना

रानीजमरा कुलरिया सिँचाइ आयोजना

भेरी–बबई डाइभर्सन आयोजना

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना

बूढीगण्डकी जलविद्युत् आयोजना

पश्चिम सेती जलविद्युत् आयोजना

भैरहवा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, बारा

पशुपति क्षेत्र विकास कोष

लुम्बिनी क्षेत्र विकास कोष

पूर्व–पश्चिम रेलमार्ग

मध्यपहाडी (पुष्पलाल) लोकमार्ग

हुलाकी लोकमार्ग

उत्तर–दक्षिण (कोसी) लोकमार्ग

उत्तर–दक्षिण (कालीगण्डकी) लोकमार्ग

उत्तर–दक्षिण (कर्णाली) लोकमार्ग

काठमाडौं–तराईरमधेस द्रुत मार्ग

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम

मेलम्ची खानेपानी आयोजना

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्