माथिल्लो कर्णालीमा हिमपात, किसानलाई राहत – Janadesh Daily | ePaper

माथिल्लो कर्णालीमा हिमपात, किसानलाई राहत


जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा भारी हिमपात भएसँगै यहाँका किसानलाई राहत भएको छ । यो वर्षको हिउँदमा जुम्लामा पहिलो पटक आज बिहान ५ बजेबाट हिमपात भएको चन्दननाथ नगरपालिकाका सुनिता पाण्डेले बताउनुभयो ।

दक्षिणी र पश्चिमी वायुको प्रभावका कारण कर्णालीलगायत पश्चिम नेपालभर वर्षात भएको छ । हिउँ पर्न थालेपछिको जुम्लाको जनजीवन कष्टकर बनेको छ । जिल्लाको उच्च ठाउँमा दुई देखि तीन फिटसम्म हिउँ जमेको छ ।

यहाँको तापक्रम ‘माइनस’मा पुगेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । यस्तै, जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोटका उच्च भेगमासमेत हिउँपात भएको छ । हिउँ परेपछि सदरमुकाम खलङ्गाको बजार बन्द भएको छ । यातायातका साधन राम्रोसँग चल्न पाएका छैनन् ।

जनजीवन कष्टकर भएपनि हिमपातका कारण हिउँदे बालीलाई भने राहत पुग्ने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीको भनाइ छ । स्याउका नयाँ बिरुवा लगाउने समयमा हिउँ परेकोले किसानलाई फाइदा भएको कार्यालयको भनाइ छ ।

हिउँ पोखरी बनाएका किसानलाई हिउँ सङ्कलन गर्न र नयाँ बाली लगाउन उपयुक्त हुने सिञ्जा गाउँपालिका कृषि शाखाका प्रविधिक दलवीर वडले बताउनुभयो । हिमपातपछि जुम्लालगायत कर्णालीको हवाई विमानस्थल बन्द भएको छ ।

धावनमार्गमै हिउँ जमेपछि आज बिहान कुनै पनि उडान नभएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुम्लाले जनाएको छ । जिल्लाबाट चल्ने लामो तथा छोटो दुरीका यातायातकासाधन चल्न सकेका छैनन् । हिमपातका कारण जिल्लाका विभिन्न ठाउँमा राखिएका मोबाइल टावर र विद्युत् सेवा समय समयमा अवरोध भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्