समाजवादी केन्द्रको सपनाः पूर्वमाओवादीका बाबुराम र विप्लवदेखि माधव नेपालसम्म समेट्ने योजना – Janadesh Daily | ePaper

समाजवादी केन्द्रको सपनाः पूर्वमाओवादीका बाबुराम र विप्लवदेखि माधव नेपालसम्म समेट्ने योजना


जनादेश वाच।

स्थानीय तहको निर्वाचन परिणाम आएलगत्तै (असार २०७९) माओवादीबाट विभिन्न कालखण्डमा विभाजन भई बनेका पार्टीहरुबीच एकता प्रयास अघि बढेको थियो। संघीय चुनाव अघि एकता गर्न तयारी भए पनि कार्यदिशा र पदाधिकारीको विषयमा सहमति नजुट्दा एकता हुन सकेन। प्रदेश र प्रतिनिधि सभा चुनावमा माओवादीले सोचेजस्तो परिणाम ल्याउन सकेन।

तर, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेपछि फेरि पूर्वमाओवादी घटकलाई एकतामा ल्याउने प्रयास अघि बढेको छ। नेताहरुका अनुसार बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), गोपाल किराती, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकता हुने निश्चित छ।

नेसपा, नेकपा बहुमतसँग तत्काल एकता गर्ने तयारीमा जुटेको माओवादी नेताहरु बताउँछन्। विप्लव नेतृत्वको नेकपासँग एकता सकारात्मक भएपनि टुंगो लागेको छैन। ‘विप्लवजी सकारात्मक हुनुहुन्छ, तर एकता नभएसम्म यही होला भन्न सकिँदैन,’ माओवादीबाट वार्ता टोलीका संयोजक कृष्णबहादुर महराले भने।

१० वर्षअघि मोहन वैद्यले एकीकृत माओवादी फुटाएर नेकपा क्रान्तिकारी माओवादी गठन गरेका थिए। पार्टी गठन भएको २१ वर्षमा माओवादीमा पहिलो पटक ठूलो विभाजन थियो यो। त्यसयता धेरैवटा पार्टी बने।

अहिले मोहन वैद्यबाहेक अन्य पार्टीलाई एकैठाउँमा ल्याउन माओवादी उपाध्यक्ष एवं प्रवक्ता महरा, उपमहासचिव शक्ति बस्नेत र गिरिराजमणि पोखरेल सक्रिय छन्। उनीहरुले माओवादी घटक मात्र होइन नेकपा एमालेदेखि एकीकृत समाजवादीका पदाधिकारी तहका नेताहरुसँग पनि एकतासम्बन्धी छलफल गरिरहेको छ। माओवादीबाट विभाजन भई बनेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), गोपाल किराती लगायतसँग एकता अन्तिम चरणमा पुगेको उपाध्यक्ष महराले बताए।

‘बाबुरामजी, विप्लवजी र गोपाल किरातीजीसँगको पार्टी एकता लगभग अन्तिम चरणमा छ,’ महराले भने, ‘हामीले वामपन्थीहरु एमाले, एकीकृत समाजवादीसँग पनि सके पार्टी एकता नभए मोर्चा वा मञ्च बनाउने प्रयास गरिरहेका छौँ, भोलिदेखि हाम्रो पार्टीको बैठक बस्दैछ, त्यसले ठोस् निर्णय गर्छौँ।’

नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले पूर्वमाओवादी घटकबीच एकता प्रक्रिया अगाडि बढेको बताए। ‘कृष्णबहादुर महराजी, गोपाल किरातीसँग छलफल भएको थियो,’ श्रेष्ठले भने, ‘विप्लवजीसँग पनि कुरा भएको रहेछ, सकारात्मक हुनुहुन्छ भन्ने छ।’ राष्ट्रपति चुनाव अगाडि एकता गर्नेगरी छलफल भइरहेको उनले बताए।

‘छिटो गर्नुपर्छ भन्ने त छ, धेरै कुरा मिलाउन बाँकी छैन, अब प्राविधिक विषय, एजेन्डाका कुरामा समझदारी भएमा छिट्टै हुन पनि सक्ला,’ श्रेष्ठले थपे। माओवादीका उपमहासचिव तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पनि विप्लव, नेकपा बहुमत र नेसपासँग एकता अघि बढेको बताए।

‘राष्ट्रपति चुनाव अगाडि नै गर्ने कि भनेर हाम्रो साथीहरु लागि रहनुभएको छ,’ गजुरेलले भने, ‘बाबुरामजी र धर्मेन्द्रजीसँग छिट्टै हुन्छ।’ पूर्वमाओवादी घटकबाहेक एकीकृत समाजवादी र मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग मोर्चा वा एकता संयोजन समिति बनाएर अघि बढ्ने र पछि मात्र एकता प्रक्रिया अघि बढ्ने गजुरेलको भनाइ छ।

कति छन् पूर्वमाओवादी घटक
जनयुद्धबाट उदाएको एमाओवादीका प्रभावशाली उपाध्यक्ष मोहन वैद्यले ४ असार ०६९ मा रामबहादुर थापा बादल, नेत्रविक्रम चन्द, पम्फा भुसालसमेतलाई लिएर नेकपा–माओवादी गठन गरे। ३ असोज ०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भए लगत्तै १० असोज ०७२ मा उपाध्यक्ष बाबुराम भट्टराईले एमाओवादीलाई भत्केको घरको संज्ञा दिँदै पार्टी छोडेर नयाँ शक्ति बनाए।

मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी)बाट अलग भएर नेत्रविक्रम चन्दले मंसिर ०७१ मा नेकपा गठन गरे। उता रामबहादुर थापा, पम्फा भुसाल, देव गुरुङ लगायतका नेताहरु २ जेठ २०७३ मा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट निस्किए।

उनीहरुले ७ जेठ २०७३ मा एमाओवादीसँग एकता गरेर माओवादी केन्द्र बन्यो। एकीकृत जनक्रान्तिको नारा लिएर सशस्त्र युद्ध गरेको विप्लव नेतृत्वको नेकपाका प्रभावशाली नेताहरु धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली लगायतले २१ वैशाख २०७९ मा नेकपा (बहुमत) गठन गरे। ३ जेठ २०७५ मा एमाले र माओवादीबीच पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै माओवादी नेता गोपाल किराती बाहिरिएर बेग्लै समूह चलाइरहेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्