प्रचण्ड सरकारलाई आउँदै छ अमेरिकी सन्देशः उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज ओर्लिँदै – Janadesh Daily | ePaper

प्रचण्ड सरकारलाई आउँदै छ अमेरिकी सन्देशः उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज ओर्लिँदै


जनादेश वाच।
राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज काठमाडौं ओर्लिदैछिन् । भारत, श्रीलंका, कतारसमेत पुग्नेगरी काठमाडौं ओर्लिन लागेकी नुल्याण्डको भ्रमण यात्रा नेपालबाट सुरु हुँदैछ । शक्ति राष्ट्रबाट हुने उच्चस्तरीय भ्रमण मूलतः भारत हुँदै हुने गरेको थियो । तर, यो पटक नुल्याण्डको भ्रमण नेपालबाट भारत हुनेछ । ४ मंसिरको चुनावबाट संसद् र सरकार गठन भएपछि नुल्याण्ड काठमाडौं आउन लागेकी छिन् । र, प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएपछि नुल्याण्डकै पहिलो उच्चस्तरीय भ्रमण हुनेछ ।

 फेरिएको संसद्को कम्पोजिसन, भत्किएको पुरानो गठबन्धन र बढ्दो चीनको चासोको बीचमा नुल्याण्डको भ्रमण भइरहेको छ । त्यसअर्थमा नुल्याण्डले मूलत: चारवटा सन्देश बोकेर आएको भूराजनीतिक विश्लेषकको भनाइ छ । एक– प्रचण्ड सरकारको मनोविज्ञान बुझ्ने । दोस्रो– फेरिएको संसदको कम्पोजिसनका अध्ययन । तीन– एमसीसीको प्रगति अनुगमन र चार– सुरक्षा रणनीति ।

अर्थात् नुल्याण्डको भ्रमणबाट अमेरिकाले रणनीतिक स्वार्थका कारण नेपाल आफ्नो प्राथमिकतामा रहेको सन्देश दिन चाहेको देखिन्छ । नेपालमा बढ्दो चीनको चासो र प्रभावमा छेकबार लगाउने प्रयासमा अमेरिका निरन्तर सक्रिय रहेको छ । त्यसमा पनि सुरक्षासँग जोडिएर अमेरिकाले नेपालमा सम्बन्ध विस्तार गर्न चाहेको देखिन्छ । अर्थराजनीतिक परियोजनाको रूपमा एमसीसी अगाडि आए पनि त्यसैसँग जोडिएको इण्डो प्यासिफिक रणनीति (आईपिएस) सैन्य मामिलासँग जोडिन्छ । अमेरिका नेपाललाई उक्त रणनीतिमा तान्ने प्रयासमा रहेको छ ।

अमेरिकाको राष्ट्रिय सुरक्षा रणनीति २०२२ मा नेपाल आईपिएसको केन्द्रीय भूमिका हुने बताइसकेको छ । त्यसैले, नुल्याण्डको भ्रमण आईसिएस र सैन्यसम्बन्धसँग जोडिएको एसपीपीको एजेण्डा पुनः उठ्न सक्ने आकलन गरिएको छ । यद्यपि, प्रचण्डलाई सरकारलाई नुल्याण्डमा अमेरिकी स्वार्थको रक्षा गर्न नेपालका सक्रिय रहेको सन्देश चाहिँ दिने भूराजनीतिक विश्लेषकहरू बताउँछन् ।

कुटनीतिज्ञ सुरेश चालिसेको विश्लेषणमा नुल्याण्डको भ्रमणले तीनवटा सन्देश दिनेछ । एक, नेपाल अमेरिकी प्राथमिकतामा रहेको । दोस्रो, एमसीसीलागयत अमेरिकी परियोजनाको अध्ययन । तेस्रो, संसद्को फेरिएको कम्पोजिसन अनुसार सम्बन्ध विस्तारको प्रयास । चालिसे भन्छन्, ‘नुल्याण्ड नयाँ सरकारसँग सम्बन्ध विस्तारसँगै नेपाल आफ्नो प्राथमिकतामा रहेको सन्देश दिन र एमसीसीको प्रगति बुझ्न पनि आएकी हुन् । साथै, सत्ता समीकरण र संसद्को कम्पोजिसन फेरिएको छ, यो अवस्थामा अमेरिकाले नयाँ दल र पात्रहरूसँग कस्तो र कसरी सम्बन्ध राख्न सकिन्छ भन्ने बुझ्नका लागि पनि नुल्याण्ड नेपाल आएकी हुन् ।’

हुन पनि प्रचण्ड नेतृत्वको सरकार अमेरिकी रुचिमा थिएन । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको निरन्तरतामा शेरबहादुर देउवा प्रधानमन्त्री अमेरिकी चाहना थियो । १० पुसमा अनपेक्षित रूपमा गठबन्धन फेरियो र दुई वाम दल मिलेर सरकार बनाए अनि प्रचण्ड प्रधानमन्त्री बन्न पुगे । यो समीकरण बन्नुमा चीनको प्रभाव रहेको अमेरिका र भारतको विश्लेषण रहेको छ ।

त्यसअर्थमा पनि नुल्याण्डको भ्रमण अहिलेको सरकारको धार, धरातल र धारणा बुझ्ने प्रयासमा हुनेछ । त्यससँगै अमेरिका नेपालको भावी राष्ट्रपति कम्युनिष्ट पृष्ठभूमिको नहोस् भन्ने चाहन्छ । बरु, दलबाहिरका व्यक्तिलाई बनाउन सकिने सन्देश पनि उसले सम्प्रेशित गर्ने गरेको छ । राष्ट्रपतिको चुनावको सम्मुखमा नुल्याण्डको भ्रमण हुनुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

भूराजनीतिक मामिलाका जानकार चन्द्रदेव भट्टको विश्लेषणमा एमसीसी परियोजनाको प्रगति र नयाँ सरकारसँग नयाँ सम्बन्धका लागि भेटघाट गर्न नुल्याण्ड नेपाल आउन लागेकी हुन् । भट्ट भन्छन्, ‘नयाँ संसद् आएपछि नयाँ सरकार आएको छ, नेपाल अमेरिकाको प्राथमिकतामा रहेका कारण नयाँ सम्बन्ध विस्तारको प्रयासमा नुल्याण्ड आउन लागेको देखिन्छ ।’

नुल्याण्ड काठमाडौंमा रहँदा ककसलाई भेट्नेछिन् भन्ने चाहिँ अहिलेसम्म प्रष्ट छैन । तर, प्रधानमन्त्री, परराष्टमन्त्रीका अलवा प्रमुख दल अध्यक्षहरूसँग भेट्न सक्ने बताइएको छ ।

सक्रिय कूटनीतिक छवि
नुल्याण्डको पृष्ठभूमि हेर्दा उनी मूलतः सुरक्षा मामिलालमा बढ्ता भूमिका निर्वाह गर्न सक्छिन् भन्ने देखिन्छ । सुरुवाती चरणदेखि नै उनी अमेरिकी सैन्य मामलासँग निकट भएर काम गरेको देखिन्छ । राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि सन् २००८ सम्म नुल्याण्ड उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका लागि अमेरिकी राजदूत भएर काम गरेकी थिइन् । निकै महत्वपूर्ण यो पोजिसनका लागि बुसले विश्वास गरेको देखिन्छ । त्यसभन्दा पनि नुल्याण्ड सुरक्षासँग जोडिएकै क्षेत्रमा काम गरेकी थिइन् ।

सन् २००३ देखि सन २००५ सम्म उनी अमेरिकी उपराष्ट्रपति चेनीकी उपराष्ट्रिय सुरक्षा सल्लाहकार समेत रहेकी थिइन् । त्यसो त, ब्रसेल्सस्थित नेटोमा दुई कार्यकालका काम गरेकी उनीसँग रुस, चीन र मंगोलियासहितका देशमा पनि काम गरेको अनुभव रहेको छ । चीनमा काम गरेको अनुभव संगालेकी नुल्याण्ड अहिले अमेरिकासँग बिग्रिँदो चीनको सम्बन्ध र यी दुईको छद्म प्रतिस्पर्धा नेपालमा प्रकट भइरहेका बेला नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मान्नुपर्ने विज्ञहरूको भनाइ छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्