के हुनसक्छ प्रचण्ड सरकारलाई वासिङ्टनको सन्देशः नुल्याण्डको भ्रमणका तीन प्रमुख उद्देश्य – Janadesh Daily | ePaper

के हुनसक्छ प्रचण्ड सरकारलाई वासिङ्टनको सन्देशः नुल्याण्डको भ्रमणका तीन प्रमुख उद्देश्य


जनादेश वाच।
राजनीतिक मामिला हेर्ने एक जना अमेरिकी उपमन्त्री आइतवार काठमाडौं ओर्लिएकी छिन्। राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डको भ्रमणले माओवादी नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्य राखेको हुनसक्ने विश्लेषकहरूको अनुमान छ। भ्रमणका क्रममा वासिङ्टन डिसीले नेपालमा आफ्ना स्वार्थहरू रक्षा गर्न अमेरिका पूर्ण रूपमा लागिपरेको सन्देश दिन खोजेको परराष्ट्र मामिलाका विज्ञहरूले बताएका छन्। प्रतिनिधिमण्डलमा नुल्यान्डसँगै उपसहायक मन्त्री नेन्सी ज्याक्सन र अमेरिकी विदेश मन्त्रालयकी म्यारी फ्रेङ्गाकिससमेत छन् ।

 काठमाण्डूमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रभावशाली नेताहरूलाई भेट्नेछिन्। झन्डै साढे तीन दशकको कूटनीतिक अनुभव भएकी उनले अमेरिकाका तीन राष्ट्रपतिहरूसँग निकट रहेर काम गरेकी छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ गठबन्धनको साथ लिएर सत्ता सम्हालेपछि काठमाण्डूको भ्रमणमा आउने उनी पहिलो उच्चपदस्थ विदेशी कूटनीतिज्ञ हुन्। अघिल्लो वर्ष नेपाल र संयुक्त राज्य अमेरिकाले कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्षगाँठ मनाएका थिए र त्यसयता वासिङ्टन डिसीबाट कैयौँ उच्चपदस्थ अधिकारीहरू नेपालको भ्रमणमा आएका छन्।

यी भ्रमणलाई विज्ञहरूले दुई शक्तिशाली छिमेकीहरू चीन र भारतबाट घेरिएको नेपालमा बढ्दै गएको अमेरिकी सामरिक स्वार्थका रूपमा व्याख्या गर्दै आएका छन्। अमेरिकाले चाहिँ साढे सात दशक भन्दा लामो द्विपक्षीय सम्बन्ध थप बलियो बनाउने उद्देश्यले ती भ्रमणहरू भएका भन्दै नेपालमा शान्ति, समृद्धि र स्थिरतासहितको लोकतान्त्रिक समाजको निर्माण भएको आफूले देख्न चाहेको बताउँदै आएको छ। काठमाण्डूस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता एना रिची एलनले नुल्याण्डको भ्रमणले द्विपक्षीय सम्बन्धको महत्त्वलाई प्रकट गर्ने बीबीसीलाई बताइन्।

उनले भनिन्, “३३ वर्षदेखी अमेरिकी कूटनीतिज्ञ रहेकी उपमन्त्री नुल्याण्डले राष्ट्रपतिहरू बाइडन, ओबामा र बुसको कार्यकालमा कैयौँ उच्च तहका ओहदाहरू सम्हाली सक्नुभएको छ। आफ्नो भ्रमणका क्रममा उहाँले सरकारी अधिकारीहरूलाई भेटेर हाम्रो मजबुत द्विपक्षीय सम्बन्धलाई महत्त्व दिनुहुनेछ।”

भिक्टाेरियाले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीका रूपमा शपथ लिएकी हुन् । त्यसअघि उनी वासिङ्टन डीसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत थिइन् । उनी ब्रुकिङ्स इन्स्टिच्युसनमा गैरआवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा बृहत् रणनीतिकी विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसकेकी छन् ।

उनी अमेरिकी राष्ट्रपति ओबामा र विदेश मन्त्री केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेशमन्त्रीका रूपमा सेवारत थिइन् । उनी अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको कार्यकालताका विदेश मन्त्रालयकी प्रवक्ता थिइन् भने राष्ट्रपति जर्ज डब्लू बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत थिइन्।

शक्ति राष्ट्रबाट हुने उच्चस्तरीय भ्रमण मूलतः भारत हुँदै हुने गरेको थियो । तर, यो पटक नुल्याण्डको भ्रमण नेपालबाट भारत हुनेछ । ४ मंसिरको चुनावबाट संसद् र सरकार गठन भएपछि नुल्याण्ड काठमाडौं आउन लागेकी छिन् । र, प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएपछि नुल्याण्डकै पहिलो उच्चस्तरीय भ्रमण हुनेछ ।

फेरिएको संसद्को कम्पोजिसन, भत्किएको पुरानो गठबन्धन र बढ्दो चीनको चासोको बीचमा नुल्याण्डको भ्रमण भइरहेको छ । त्यसअर्थमा नुल्याण्डले मूलत: चारवटा सन्देश बोकेर आएको भूराजनीतिक विश्लेषकको भनाइ छ । एक– प्रचण्ड सरकारको मनोविज्ञान बुझ्ने । दोस्रो– फेरिएको संसदको कम्पोजिसनका अध्ययन । तीन– एमसीसीको प्रगति अनुगमन र चार– सुरक्षा रणनीति ।

अर्थात् नुल्याण्डको भ्रमणबाट अमेरिकाले रणनीतिक स्वार्थका कारण नेपाल आफ्नो प्राथमिकतामा रहेको सन्देश दिन चाहेको देखिन्छ । नेपालमा बढ्दो चीनको चासो र प्रभावमा छेकबार लगाउने प्रयासमा अमेरिका निरन्तर सक्रिय रहेको छ । त्यसमा पनि सुरक्षासँग जोडिएर अमेरिकाले नेपालमा सम्बन्ध विस्तार गर्न चाहेको देखिन्छ । अर्थराजनीतिक परियोजनाको रूपमा एमसीसी अगाडि आए पनि त्यसैसँग जोडिएको इण्डो प्यासिफिक रणनीति (आईपिएस) सैन्य मामिलासँग जोडिन्छ । अमेरिका नेपाललाई उक्त रणनीतिमा तान्ने प्रयासमा रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्