राष्ट्रपतिको सम्भावना नगुमाउने एमालेको रणनीतिः प्रचण्डलाई बोक्ने, कांग्रेसलाई जतिसक्यो ठोक्ने – Janadesh Daily | ePaper

राष्ट्रपतिको सम्भावना नगुमाउने एमालेको रणनीतिः प्रचण्डलाई बोक्ने, कांग्रेसलाई जतिसक्यो ठोक्ने


जनादेश वाच।

सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपति चुनावमा पूर्वसहमति अनुसार अघि बढ्नुपर्ने बताएका छन्। आइतबार साँझ बालुवाटार पुगेका ओलीले राष्ट्रपति चुनावमा प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता खोजेका थिए।

‘पूर्वसहमतिअनुसार राष्ट्रपति हाम्रै पार्टीबाट हुनुपर्छ, ओलीको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘सहकार्य हाम्रो कायम हुनुपर्‍यो, दरार आउनु भएन।’ प्रधानमन्त्री प्रचण्डले आफूले सहमति गर्दा राम्रो हुने बताएको जवाफ दिँदै राष्ट्रिय सहमतिको प्रयत्न गर्दा भोलि आउन सक्ने सम्भावित समस्या रोक्न खोजेको जवाफ दिएका थिए।

‘अहिले पछिल्लो राजनीतिक घटनाक्रमले पनि सबै मिलेर जानुपर्ने देखाएको छ, कम्तिमा राष्ट्रपतिमा साझा सबै दलको मान्य हुने व्यक्ति ल्याऊँ भन्ने हो,’ प्रचण्डले भने, ‘हामीले यो दल, ऊ दल भनेका छैनौं, त्यो भन्नु पनि हुँदैन र भन्दैनौँ पनि।’

ओलीले पनि परिस्थिति अलिक फरक भएको बताएका थिए। ‘पछिल्लो परिस्थिति जे भए पनि हामी साझेदार दल मिलेर जानुपर्छ, यस्ता घटनाले केही असर गर्दैन, हामी मिलेर अघि बढ्नुपर्छ,’ ओलीले भने।

कांग्रेसलाई ठोक्ने प्रचण्डलाई बोक्ने एमालेको रणनीति
राष्ट्रपतिमा कांग्रेसले हात बढाएपछि मुख्य दाबेदार एमाले आक्रामक बनेको छ । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसले माओवादीलाई फकाउन कुनै कसरत बाँकी राखेको छैन । राष्ट्रपतिको चुनावी प्रतिस्पर्धामा एमाले र कांग्रेसले सबैभन्दा बढी दाबी गरिरहेका बेला माओवादी निर्णायक मतभार लिएर बसेको छ । यसैले दाबेदार दुवै दलले माओवादीलाई विश्वासमा लिने र फकाउने नीति लिएका छन् । राष्ट्रपति आफ्नो पोल्टामा पार्न तल्लीन भएका कांग्रेस र एमाले एकअर्काप्रति भने आक्रामक बनेका छन् । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि संसद् विघटनसम्म पुर्‍याउन खोजेको भन्दै यसलाई रोक्न विश्वासको मत दिएको जिकिर गर्दै माओवादीलाई फकाउन खोजेको छ । तर ओलीले प्रतिपक्षमा बसेको पार्टीले ढोक्सा थापेको भन्दै कांग्रेसप्रति निरन्तर आक्रामक अभिव्यक्ति दिँदै आएका छन् ।

माओवादीसँगको नयाँ सत्ता समीकरणमा प्रचण्ड प्रधानमन्त्री बन्दा राष्ट्रपति र सभामुख आफूले लिने भनी भएको समझदारी कायम हुनुपर्ने पक्षमा एमाले छ । यसैले कांग्रेसप्रति आक्रामक बन्दै एमालेले माओवादीलाई गाली नगर्ने, तर दबाब बढाउने नीति लिएको छ । ‘माओवादीले प्रधानमन्त्री लिँदा हामीले राष्ट्रपति र सभामुख लिने समझदारी भएको हो । यहीअनुसार हामी आपसी विश्वासमा अघि बढ्दै आएको छौं,’ एमाले नेता प्रदीप ज्ञवालीले भने, ‘तर सरकार गठनको एक महिना नपुग्दै आफ्नो अडानबाट माओवादीले राष्ट्रपतिमा अन्यथा निर्णय गर्छ र कदम उठाउँछ भन्नेमा विश्वास छैन ।’

उनले कांग्रेसको भूमिकाप्रति आक्रोश व्यक्त गरे । ‘कांग्रेसले आफ्नै कमजोरीले सबै पद गुमाउने स्थिति बनेको हो । आफूलाई प्रतिपक्षी दल भन्ने, विश्वासको मत दिने, राष्ट्रपति ताक्ने र खेलेर भाँड्न खोज्ने कदम उपयुक्त होइन,’ उनले भने । ज्ञवालीले शनिवार पाल्पा पुगेका बेला प्रधानमन्त्रीले विश्वासको मत मागे पनि कांग्रेसलाई कुनै वचन नदिएको बताएका थिए ।

पात्रका विषयमा लचक हुन सक्ने एमालेको संकेत
मुख्यगरी माओवादीले एमालेको हार्डलाइनर पक्ष वा ओलीका असाध्यै निकटका व्यक्तिलाई राष्ट्रपति बनाउन रुचाएको देखिन्न । तर एमालेले ‘शफ्ट’ पात्रलाई अघि सारे अझै पनि एमालेकै उम्मेदवारलाई जिताउने सम्भावनालाई माओवादीले नकारेको छैन । ओलीले ईश्वर पोखरेल, डोरमणि पौडेल, केशव बडाल, सत्यनारायण मण्डलजस्ता नेतालाई अघि सारे माओवादीले नमान्ने संकेत दिइसकेको बुझिएको छ । तर सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्यजस्ता नेतालाई अघि सार्दा माओवादीको साथ रहने बुझाइमा कतिपय नेताहरू छन् । ओलीको पहिलो प्रयत्न आफ्नो टीमका विश्वासिला नेतालाई राष्ट्रपति बनाउने भन्ने नै छ । माओवादी बिच्चिएकर कांग्रेसको कित्तामा जाने अवस्थामा मात्रै ओलीले समझदारीमा कुनै ‘शफ्ट’ पात्रलाई अघि सार्ने सम्भावना रहेको स्रोतको दाबी छ ।

सरकार बन्दाको समझदारीमा माओवादीले प्रधानमन्त्री लिइसकेपछि आफूले नै भनेको पात्र राष्ट्रपति हुनुपर्ने अडानबाट ओली टसमस हुने तयारीमा अझै छैनन् । राष्ट्रपतिमा आफैंले भनेको पात्रमा सहयात्री दल माओवादी तयार नभए विकल्पमा जानुपर्ने मत एमालेमा छ । आफूहरू अडानमा बस्दा राष्ट्रपतिमा कांग्रेस र माओवादी मिले सरकारमा बस्न पनि नैतिक संकट उत्पन्न हुने बुझाइ एमालेका कतिपय नेताको छ । यसैले अडान लिनेभन्दा सबै विकल्पका निम्ति तयार हुनुपर्ने मत ती नेताहरूले व्यक्त गरिरहेका छन् ।

आफूहरूले भनेको पात्र नभए माओवादीसँग छलफल गरेर दुवैलाई सहज हुने खालको पात्र खोज्नुपर्ने तर्क एक नेताले गरेका छन् ।

‘हामीले भनेको पात्र नहुने अवस्थामा कांग्रेस र माओवादीले भनेको हुन सक्छ । यस्तोमा हाम्रो सबै सत्ता गुम्छ,’ ती नेताले थपे, ‘दुवैको समझदारी हुने पात्र खोज्दा अहिलेकै सत्ता गठबन्धन कायम रहन्छ भने त्यो विकल्पमा पनि हामी तयार हुनुपर्छ । पार्टीमा यो मत पनि छ तर ओली आफ्नै नेतालाई राष्ट्रपति बनाउने मानसिकताबाट टसमस हुनुभएको जस्तो लाग्दैन ।’

निर्णायक रहेको माओवादीकै बलमा राष्ट्रपति जित्नुपर्ने भएकाले एमाले माओवादीप्रति आक्रामक देखिएको छैन । आशंकाका बीच उसले माओवादीलाई फकाएरै अगाडि बढ्ने नीति लिएको देखिन्छ । तर माओवादी भने सबै शक्ति एमालेमा थुप्रिने डरले चिन्तित देखिएको छ । राष्ट्रपति र सभामुख एमालेले लिँदा साढे दुई वर्षपछि आलोपालोमा प्रधानमन्त्री पनि एमालेको कित्तामा पुग्नेछ । सरकारमा नेतृत्व फेरबदल हुँदा सभामुख माओवादीले पाउने समझदारी छ । तर प्रधानमन्त्री परिवर्तनजत्तिको सहज सभामुखको हकमा छैन । एमालेले सरकार ढालेर सभामुख राखिरहने विकल्पमा जाने सम्भावना कायम रहन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्