प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति र गृहमन्त्रीमा रविको विकल्प खोज्नुको भित्री कारण – Janadesh Daily | ePaper

प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति र गृहमन्त्रीमा रविको विकल्प खोज्नुको भित्री कारण


जनादेश वााच।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सबैभन्दा संकट को समय बनिरहेको छ राष्ट्रपतिको निर्वाचन। निर्वाचन आयोगले सोमबार निकालेको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका अनुसार फागुन २५ को राष्ट्रपतिको निर्वाचन प्रचण्डका लागि अग्नि परीक्षा हुनेछ। नेकपा (एमाले) ले राष्ट्रपति आफ्नै पार्टीले पाउनुपर्ने भन्दै दिएको दबाब र कांग्रेसले राष्ट्रपतिमा चल्न खोजिरहेको राजनीतिक चालका कारण प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिइरहेका छन्। राजनीतिक दलका नेतामा सहमति हुन नसके दल बाहिरको व्यक्तिलाई उम्मेदवार बनाएर भए पनि राष्ट्रिय सहमति गर्नुपर्ने दबाबमा प्रचण्ड रहेको नेकपा (माओवादी केन्द्र) का सचिव गणेश साहले बताए।

‘राष्ट्रिय सहमति भनेको कस्तो भन्दा जो व्यक्ति पनि पर्न सक्छ त्यसमा,’ साहले भने। एमालेका नेताहरुले प्रचण्डलाई पुस १० गते प्रधानमन्त्री बनाउने बेलामै राष्ट्रपति एमालेलाई दिने सहमति भएकाले उक्त सहमति पालना हुनुपर्ने बताइरहेका छन्। तर प्रचण्डले उक्त सहमतिबारे औपचारिक रुपमा बोलेका भने छैनन्। माओवादीका नेताहरुले एमाले सहितको राष्ट्रिय सहमति भनिएकाले एमालेले विमति जनाउन नहुने मत राखिरहेका छन्। माओवादी केन्द्रका प्रवक्ता तथा उपाध्यक्ष कृष्ण बहादुर महराले सोमबारको बैठकमा राष्ट्रपति र गृहमन्त्रीबारे छलफल नभएको बताएका थिए। बैठकपछि बैठकमा भएको छलफल बारे जानकारी दिँदै महराले भने,’राष्ट्रपतिबारे अझै समय बाँकी छ। नेपालको चलन हो अन्तिममा हुन्छ।’

सोमबार पनि स्थायी कमिटीको बैठक बोलाइएको भए पनि गृहकार्य नपुगेको भन्दै पदाधिकारीको बैठक बोलाइएको थियो। आजको बैठकमा सबै विषयमा छलफल हुन नसकेपछि मंगलवार पनि माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाइएको छ। फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्नुपर्ने छ। राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल फागुन २९ गते सकिदै छ। उक्त कार्यकाल सकिनुअघि नै राष्ट्रपतिको निर्वाचन हुन लागेको हो। नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन तत्काल तोक्नुपर्ने भन्दै सरकारलाई दबाब दिइरहेको थियो। उप राष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेका लागि तोकिएको छ।

राष्ट्रपतिबारे कांग्रेसँग पनि छलफल
प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाले राष्ट्रिय सहमतिबारे प्रधानमन्त्रीले सत्ता रुढ र विपक्षी दलसँग छलफल गरिरहेका छन्। औपचारिक र अनौपचारिक रुपमा राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपतिको निर्वाचनमा गृहकार्य भइरहेको उनले बताए। ‘यो गृहकार्यको रुपमा छ। राष्ट्रिय सहमति भन्ने बितिकै विभिन्न पार्टीहरु, नेताहरुसँग औपचारिक/अनौपचारिक परामर्श हुने भो,’ उनले भने। सभामुख र उपसभामुख आफ्नो पार्टीले नपाएको र महत्वपूर्ण मन्त्रालय पनि माओवादीको भागमा नभएकाले राष्ट्रपतिको निर्वाचनका बेलामा पार्टीले रणनीतिक निर्णय गर्नुपर्ने पक्षमा माओवादी केन्द्रका अधिकांश नेताहरु बताउन थालेका छन्।

 

प्रचण्ड किन खोजिरहेका छन् राष्ट्रिय सहमति?
प्रचण्डले भनिरहेको राष्ट्रिय सहमति कसरी अगाडि बढाउने भन्नेबारेमा पार्टीको स्थायी कमिटीको बैठकले निर्णय गरेपछि मात्रै थाहा हुने माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए। उनका अनुसार राष्ट्रिय सहमति गर्ने या कुनै दलको सत्ता गठबन्धनभित्रकै कुनै दलको नेतालाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्नेबारेमा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले निर्णय गर्ने छ। प्रचण्डलाई विश्वासको मत दिएकाले राष्ट्रपतिमा माओवादी केन्द्रले कांग्रेसलाई सघाउनुपर्ने विचार कांग्रेसका नेताहरुले राखिरहेका छन्।

विश्वासको मतको अघिल्लो दिन पुस २५ गते प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेर मत मागेका थिए। राष्ट्रपति र सभामुख जस्ता पदमा दाबी गर्न कांग्रेसले विश्वासको मत दिएको कांग्रेस नेताहरुले बताइरहेका छन्। सभामुख र उपसभामुखमा भने कांग्रेसका उम्मेदवार पराजित भइसकेका छन्। राष्ट्रपतिको निर्वाचनमा प्रचण्डले एमालेका नेतालाई अघि सार्न आनाकानी गर्न सक्ने भन्दै एमाले सशंकित छ।

गृहमन्त्रीमा गृहकार्य, रविको विकल्प खोज्दै
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधि सभा सदस्यका लागि योग्य नभएको फैसला गरेको थियो। उनले अमेरिकाको नागरिकता प्राप्ता गरे पनि उक्त नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया अगाडि बढाएका थिएनन्। अदालतको फैसलापछि भने लामिछानेले नागरिकता पुन: प्राप्त गरेका हुन्। लामिछानेले आफैलाई गृहमन्त्री बनाउँनुपर्ने भन्दै गठबन्धनका नेताहरुलाई भेटेका थिए। तर प्रचण्डले सबैदलहरुसँग छलफल गरेर मात्रै निर्णयमा पुग्न उचित हुने बताइरहेका छन्। ‘गृहमन्त्रीबारे अहिले नै केहि भन्नुभएको छैन प्रधानमन्त्रीले। सत्तारुढ दलहरुसँग छलफल गरेर मात्रै निर्णय हुन्छ। सम्भावना त सबै खालको छ,’ तिमिल्सिनाले भने।

एमाले पनि लामिछानेलाई फेरि पनि गृहमन्त्री बनाउन सकारात्मक रहे पनि प्रचण्ड भने गृहमन्त्रीबारे गृहकार्य गरेर मात्रै निर्णयमा पुग्ने पक्षमा रहेका छन्। लामिछानेले पुनः गृहमन्त्रीको दाबी गरेका तर प्रधानमन्त्री प्रचण्डले त्यसप्रति अनिच्छा देखाएका छन् । त्यसैकारण लामिछाने विवादमा तानिएसँगै उनले सम्हालेको जिम्मेवारी के गर्ने भन्नेमा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले निर्णय गरिसकेका छैनन् ।

सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने लामिछानेलाई पूर्ववत जिम्मेवारीमा फर्काउन सुझाव दिँदै आएको भए पनि रविको पासपोर्टबारे अनुसन्धान चलिरहँदा गैरसांसद गृहमन्त्री नबनाउने संकेत प्रचण्डले दिएका छन्। सोमबार पार्टी पदाधिकारी बैठकमा पनि यसबारे खासै छलफल नभएको माओवादीका एक नेताले बताए । बैठकपछि बहिरिने क्रममा सञ्चारकर्मीहरुले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्रीबारे प्रश्न गरेका थिए । गृहमन्त्री कसलाई बनाउनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘बनाएपछि थाहा हुन्छ ।’

पावर सेयरिङका क्रममा रास्वपाले पाएको गृह अब आफैँले राख्ने प्रधानमन्त्रीको मनस्थितिमा रहेको बताइएको छ। लामिछानेले हिजै आफ्नो नेपाली नागरिकता पुनः कायम गरिसकेपछि आफूलाई गैर संसदका रूपमा मन्त्री नियुक्त गर्न माग गर्दै बालुवाटार पुगेका थिए।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्