विश्वमा आर्थिक मन्दीको चर्चाः २०२३ को अन्तिम महिनातिर ठूलो आर्थिक संकटको प्रक्षेपण – Janadesh Daily | ePaper

विश्वमा आर्थिक मन्दीको चर्चाः २०२३ को अन्तिम महिनातिर ठूलो आर्थिक संकटको प्रक्षेपण


जनादेश अन्तर्राष्ट्रिय वाच।
सन् १९२९–१९३९ बीचको एक दशक विश्वमा ठूलो आर्थिक मन्दी छाएको थियो, त्यसलाई महामन्दी (द ग्रेट डिप्रेसन) भनियो । सन् १९२९ अक्टोबर २४ मा अमेरिकी सेयर बजार गिरावटबाट यो महामन्दीको अनुभूति गरिएको थियो । यसले विश्वका अधिकांश देशको अर्थतन्त्रलाई नराम्रो असर पारेको थियो । विश्वभरि कुल ग्रार्हस्थ उत्पादनमा १५% को कमी आएको थियो ।

यो मन्दीको कुप्रभावलाई सम्हाल्न अमेरिकामा राष्ट्रपति फ्राङकलिन डी रुजबेल्टले ‘न्यु डिल’ ल्याएका थिए । बेलायतलगायत युरोपको धैरै देशले अर्थशास्त्री जोन मिनार्ड किन्सका नयाँ आर्थिक सिद्धान्तहरू स्वीकार गरेका थिए । किन्सियन अर्थशास्त्रले विश्वव्यापी मान्यता पाएको थियो । महामन्दीको कुप्रभाव विश्व अर्थतन्त्रमा दोस्रो विश्वयुद्धसम्म पनि कायमै थिए । त्यो पनि एउटा कारणपछि युद्ध अन्त्यपछि ब्रिटेनउड सम्झौताअन्तर्गत विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष स्थापना गरिए । युद्धपछिको पुननिर्माणलाई पनि यसको महत्त्वपूर्ण उद्देश्य मानिएको थियो ।

सन् २००७–२००९ अमेरिकामा अर्को ठूलो वित्तिय संकट आयो, त्यो बेला बराक ओबामा राष्ट्रपति थिए । बैंक र कम्पनीहरू ठूलो आर्थिक संकटमा फसे । बेरोजगारी बढ्यो । ओबामाले त्यसलाई विशेष अनुदान नीतिमार्फत् नियन्त्रण गरेका थिए । विश्वका केही आर्थिक अध्ययन संस्था र अर्थशास्त्रीहरूले नयाँ वर्ष सन् २०२३ को अन्तिम महिनातिर विश्वमा त्यस्तै ठूलो आर्थिक संकट आउन सक्ने अनुमान गरेका छन् । त्यसको कारण– युक्रेन युद्धले युरोपेली अर्थतन्त्रमा सिर्जना गरेको व्यवधान हुन सक्ने बताइएको छ ।

युक्रेन युद्ध ३ महिनाभित्र अन्त्य हुने ठानिएको थियो । तर एक वर्षमा पनि समाप्त भएन । यसले युरोपेली अर्थतन्त्रमा तीन वटा ठूला समस्या ल्याएको छ । एक– युरोपेली बजारमा खाद्यान्न, इन्धन, ऊर्जा र औधषिमूलोको मूल्य अकासिएको छ । बजारको आपूर्ति श्रृंखलामा समस्या आएको छ ।

दुई–आप्रवासन र शरणार्थी समस्या बढाएको छ ।

तीन–रोजगारीको कमी वा अभाव अनुभूत हुन थालेको छ ।

तर, आर्थिक विशेषज्ञहरू युक्रेन युद्धका अतिरिक्त नयाँ आर्थिक मन्दी आउनसक्ने थप दुई वटा कारणहरू भएको बताउँछन् । कोभिड–१९ महाव्याधिले ल्याएको आर्थिक असन्तुलन र विश्व पर्यटन लगायतका अर्थतन्त्रका विभिन्न क्षेत्रमा छाएको शिथिलता । त्यसो त अल्पविकसित मुलुकहरूको बढ्दो ऋणसमेत त्यसको चौथो कारण हुन सक्नेछ । यस बीच अल्पविकसित मुलुकमा भौतिक पूर्वाधार विकासको आकांक्षा तीव्र भयो । त्यस्ता मुलुकले चर्को ब्याजदरमा ठूलो मात्राको वैदेशिक ऋण लिएर पूर्वाधारमा लगानी गरे पनि ती पूर्वाधारले पर्याप्त प्रतिफल दिन नसक्दा गरिब मुलुकहरू ऋणको पासोमा फस्दै गएका छन् ।

कतिपय विश्लेषकका अनुसार सन् २०२३ मा विश्व आर्थिक मन्दी चरमरूपमा अनुभूत हुने हो । यसको सुरुवात त सन् २०२० बाट नै भइसकेको थियो । सन् २०२२ को विश्व आर्थिक अवस्था खासै सन्तोषजनक थिएन । श्रीलंकालगायत कतिपय देशका आएको संकट यही श्रृंखलाको एक कडी हो । ब्लुमबर्ग डिसेम्बर–२०२२ सर्वेक्षणले भन्छ–सन् २०२३ को अन्तिम महिनातिर विश्वव्यापी आर्थिक मन्दी हुने सम्भावना ७०% छ।

गत अक्टोबरमा प्रकाशित अन्तर्राष्ट्रिय मुद्रा कोषको एक प्रतिवेदनले पनि त्यही संकेत गरेको थियो । कोषका अनुसार सन् २०२३ मा वैश्विक आर्थिक वृद्धिदर २.७ प्रतिशतमा झर्नेछ । साथै, कोषले यो पनि भनेको थियो कि, सन् २०२३ आर्थिक दृष्टिले सन् २००१ पछिकै सर्वाधिक कमजोर वर्ष हुन सक्नेछ । प्रक्षेपणअनुसार सन् २०२३ को आर्थिक मन्दी ३ वटा लक्षणबाट देखिन थाल्ने छ । रोजगार कटौती, मुद्रास्थिति र चर्को ब्याज दरका कारणले हुने वित्तीय चक्रको अवरोध ।

संसारभरि नै बैंक ब्याजदरमा भएको वृद्धिलाई अनौठो मानिएको छ । अधिकांश विकसित मुलुकमा ७ प्रतिशतभन्दा माथिको ब्याजदरलाई चर्को मानिन्छ । नेपालमा त यो १५ प्रतिशत भन्दा माथि पुगेको छ । अर्थशास्त्रीय दृष्टिकोणले ब्याजदर वृद्धिको मुख्य कारण ऋणको माग बढ्नु हो । ऋणको माग बढ्नुको अर्थ लगानीका क्षेत्र विस्तार र वृद्धि भएको हुनुपर्ने हो । तर, अर्थतन्त्रमा यस्तो सन्तुलनसमेत मिलेको छैन । ऋणको माग वृद्धि र ब्याजदर अकासिनुका बाबजुद अर्थतन्त्रमा लगानीको वृद्धि भएको छैन, बरु खराब ऋणीको संख्या अभिवृद्धि हुँदैछ भने मानिस ऋण लिएर लगानी गर्नुको साटो दैनिक जिन्दगी चलाउँदैछन् भन्ने पुष्टि हुन्छ ।

दैनिक जीवन निर्वाहकै लागि महँगो ब्याजदरको ऋण लिनु पर्ने स्थिति अर्थतन्त्र संकटग्रस्त हुँदै गएको संकेत हो । मुद्रास्थिति १० प्रतिशतभन्दा माथि पुगेमा अर्थतन्त्रमा संकट आउन सक्दछ । श्रीलंकाको आर्थिक संकट चरम अवस्थमा पुग्दा मुद्रास्फिति १२.५ प्रतिशतसम्म पुगेको थियो । कोभिड–१९ को प्रारम्भिक अवस्थामा जोगिएको ठानिएको चीनको अर्थतन्त्रमा पनि पछिल्ल्लो समय शिथिलता छाएको छ । चीनको उत्पादन र अर्थतन्त्रमा संकट आउँदा विश्वभरिकै आपूर्ति श्रृंखलामा अवरोध आउँछ ।

नेपालको अर्थतन्त्रमा समेत यी गुणहरू देखिन थालेका छन् । मुद्रास्थिति पछिल्लो महिना १२ प्रतिशत पुगेको बताइँदैछ जबकी यो एक महिना अघि ७.५ प्रतिशत थियो । बैंक ऋण तिर्न नसकेकेर कालोसूचीमा परेका ऋणीको संख्या निरन्तर बढ्दो छ भने बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको मात्रा बढिरहेको छ । विश्वमा आर्थिक मन्दीको दुश्चक्र सुरु भइसकेको हो वा यी समस्या सामान्य र अल्पकालीन हुन यसै भन्न सकिने अवस्था छैन । तर, अर्थतन्त्रका कतिपय लक्षणले भन्छ– विश्व मन्दीको चर्चा हल्ला मात्रै हैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्