माओवादी स्थायी कमिटिको सन्देशः सत्ता जोगाउन सम्झौता नगर्ने, विचार मिल्नेसँग सहकार्य खुला – Janadesh Daily | ePaper

माओवादी स्थायी कमिटिको सन्देशः सत्ता जोगाउन सम्झौता नगर्ने, विचार मिल्नेसँग सहकार्य खुला


जनादेश वाच।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता जोगाउनेगरी कुनै अनावश्यक सम्झौता नगर्न पार्टीभित्रबाटै दबाब सुरु भएको छ। शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा नेताहरूले सत्ता जोगाउनकै लागि कुनै सम्झौता नगर्न दबाब दिएका हुन्।

शनिबार बिहानमात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो। गृह मन्त्रालय पुनः पाउनपर्ने मागसहित २ दिने अल्टिमेटम दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विषयलाई लिएर गठबन्धनभित्रै खटपट सुरु भएको चर्चाकाबीच प्रचण्डलाई अडिन नेताहरूले आग्रह गरेका हुन्।

उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका ओली रविलाई नै गृहमा पुर्नवहाली गर्न जोड दिइरहेका छन्। तर, सर्वोच्चको पूर्णपाठ नआइसकेको र पासर्पोटको विवाद पनि कायमै रहेकाले अहिले रविलाई गृह दिन नहुने प्रचण्डसहित माओवादी नेताहरू बताउँछन्। पार्टी बैठकबाट निस्कँदैगर्दा प्रचण्डले समस्या समाधान हुने र छलफल भइरहेको बताएका थिए। उता, सचिव देवेन्द्र पौडेलले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको बताएका थिए। पौडेलका अनुसार सहमति अनुसार विचार मिल्ने दलहरुसँग पनि छलफल गर्ने निर्णय भएको छ।

कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएको हुनाले यो वा ऊ दल नभनी माओवादीले राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय लिएको पौडेलले बताए । यदि सहमति नभएमा विचार र कार्यदिशा मिल्ने दलहरूसँग मिलेर अघि बढ्ने निर्णय भएको उनले बताए ।

राष्ट्रपति चुनावअघि नै प्रचण्डलाई कांग्रेसको ढोक्सामा पार्ने प्रयास भइरहेको टिप्पणी नेताहरूले गरेका छन् । एमालेलाई राष्ट्रपति कुनै हालतमा नदिन प्रचण्डमाथि माओवादी पार्टीभित्र तीब्र दबाब छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्